३ भाद्र २०८३, बुधबार
,
Latest
सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी



अ+ अ-

काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पाँचौँ संस्करणको आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा विजयी शुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा केहीबेर अघि सम्पन्न पुरुष भलिबलमा आर्मीले आरजे भलिबल ग्रुपलाई ३–० सेटले पराजित गरेको हो । आर्मीले आरजे गु्रपलाई २५–९, २५–१६ र २५–९ अङ्कले हरायो । जितसँगै आर्मीले दुई अङ्क जोडेको छ । प्रतियोगितामा पुरुषतर्फ ११ तथा महिलातर्फ सात टोलीको सहभागिता छ । पुरुषतर्फ अहिले सशस्त्र प्रहरी बलको एपिएफ क्लब र रारा बुलबुले क्लबबीच खेल भइरहेको छ ।

महिलातर्फ आजै होङ्गवाञ्जी न्यू डायमण्ड क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । पुरुष भलिबलमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । चारै समूहको शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । पुरुषतर्फको समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, आरजे भलिबल ग्रुप र नयाँ बजार सामाजिक क्लब, समूह ‘बी’ मा एपीएफ, बुलबुले रारा क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, समूह ‘सी’मा नेपाल पुलिस क्लब, मणिमुकुन्द भलिबल क्लब र पार्वती भलिबल क्लब तथा समूह ‘डी’ मा हेल्प नेपाल स्पोर्टस् क्लब र बुद्धटोल युवा भलिबल क्लब छन् ।

यस्तै महिलातर्फ समूह ‘ए’ मा एपीएफ क्लब, आर्मी क्लब, जाउलाखेल र भरतपुर महानगर तथा समूह ‘बी’मा न्यु डायमण्ड स्पोर्टस् क्लब, पुलिस क्लब र ढोरपाटन स्पोर्टस् क्लब छन् । दुवै समूहका शीर्ष दुई÷दुई टोली सेमिफाइनल पुग्नेछन् । पुरुष तथा महिला भलिबल विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख तथा तेस्रो हुने टोलीले रु ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही रु २५ हजार, उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिनेछ ।

यस्तै नेपाल–जापान भलिबल सङ्घका अध्यक्ष नवीन गुरुङले पाँचौँ आरबीबी एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको प्रथम पुरस्कारको प्रायोजन गर्नुभएको छ । गुरुङले पुरुषतर्फको पहिलो पुरस्कार रु दुई लाख नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दलाई आज हस्तान्तरण गर्नुभयो । उहाँले जापानमा रहेर लामो समयदेखि नेपालको भलिबलमा सहयोग पु¥याउँदै आउनुभएको छ । गुरुङ जस्तै विदेशमा रहेका केही भलिबल प्रेमीले सहयोग गर्दैआएको महासचिव चन्दले बताउनुभयो ।