• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जङ्गली बिषालु च्याउ खादाँ एकै परिवारका सातजना बिरामी ★   ट्राफिक प्रहरीको इतिहास र विकास तस्बिरमा सार्वजनिक ★   आँधीको कारण बार्बाडोसमै फसेका विश्वकप विजेता भारतीय टोली स्वदेश फर्कियो ★   गुणराज: मुवा थाईको विश्वविजेताको कथा ★   अल्पमतमा परेपनि राजीनामा नदिने ‘मुड’मा प्रधानमन्त्री ★   कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने ★   मकैबालीलाई फौजी कीराले नष्ट गर्दा किसान चिन्तित ★   सुन मूल्य एक हजार छ सयले बढ्यो, तोलामा कति पुग्यो? ★   ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्स बिच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी ★   अशोक राई नेतृत्वको जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने

माघ १२ मा सभामुख चयन हुने, सभामुख वा उपसभामुखमध्ये एकमा कांग्रेसको दाबी



काठमाडौं । लामो समयको रस्साकसीबीच आइतबार संसद्ले नयाँ सभामुख पाउने भएको छ । सोमबार बसेको संसद् बैठकले निर्वाचनको कार्यक्रम सार्वजनिक गरे पनि करिब चार महिनापछि संसद्ले नयाँ सभामुख पाउन लागेको हो । प्रतिनिधिसभाको सोमबार बसेको दोस्रो बैठकले संघीय संसद् सचिवालयलाई निर्वाचन कार्यतालिका प्रकाशन गर्न निर्देशन दिएको थियो । त्यसलगत्तै सचिवालयले माघ १२ गते आइतबार अपरान्ह ३ बजे सभामुखका लागि निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

जारी निर्वाचन कार्यक्रमअनुसार माघ ७ गते प्रतिनिधि सभाका कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गराउनुपर्ने हुन्छ । निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ताक्रमअनुसार माघ ७ गते नै सूची प्रकाशन गरिने संसद सचिवालयले जनाएको छ । त्यसपछि माघ १२ गते सभामुख पदका लागि निर्वाचन गरिने कार्यक्रम तय गरिएको छ । सोमबार संसद्को पहिलो बैठकमा उपसभामुख शिवमाया तुम्बाहाङफेले राजिनामा दिएपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।

उनले राजीनामा दिएसँगै प्रतिनिधि सभाका ज्येष्ठ सद्स्य महन्थ ठाकुरले दोस्रो बैठक सञ्चालन गरेका थिए । उनले निर्वाचनको मिति र समय निर्धारण गरेपछि निर्वाचन कार्यक्रम प्रकाशन गरिएको संसद सचिवालयले जनाएको छ । ठाकुरले सोमबार नै राष्ट्रपति समक्ष पद तथा गोपीनयताको शपथ ग्रहण गरेका थिए । यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले सभामुखको उम्मेदवार तय नगरेका कारण रिक्त सभामुख पदको निर्वाचन कार्यतालिका सार्वजनिक हुन सकेको थिएन ।

गत पुसको पहिलो साता बसेको प्रतिनिधि सभाको बैठक त्यसयता सूचनाकै भरमा आएको थियो । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति जुट्न नसक्दा संसद् बैठक प्रभावित हुँदै आएको थियो । नेकपाको सचिवालय बैठकले अग्नि सापकोटालाई उम्मेदबार बनाउने निर्णय आइतबार गरेसँगै निर्वाचन प्रक्रिया अगाडि बढेको हो । सभामुख र उप–सभामुख फरकफरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण निर्वाचन प्रक्रिया अगाडि बढाउन उप–सभामुख तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने थियो ।

सभामुखमा नेकपाले सापकोटालाई उम्मेदबार दिने भए पनि उपसभामुख कसलाई दिने भनेर टुंगो लगाएको छैन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने उपसभामुख आफुलाई दिने भए सभामुखमा उम्मेदबार नउठाउने जनाएको छ । नेपाली कांग्रेसले सभामुख वा उपसभामुख मध्ये कुनै एक पदमा आफ्नो दाबी हुने स्पष्ट पारेको छ । कांग्रेसले संवैधानिक प्रावधानअनुसार कुनै एक पदमा आफ्नो दाबेदारी हुने प्रष्ट पारेको हो ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधानअनुसार सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने प्रावधानअनुसार आफ्नो पार्टी दाबेदारी हुने बताए । संविधानअनुसार फरक दल र लिंगको सभामुख–उपसभामुख हुनुपर्ने उल्लेख छ । ‘पार्टीको बैठक बसेर निर्णय गर्छ । स्वभाविक रूपमा नै एक पदमा हाम्रो दाबी हुन्छ । निर्वाचनलाई ‘बाइकट’ गर्ने कुरा हुँदैन् । प्रक्रियामा सहभागी हुने हो । संविधानको प्रावधान अनुसार अगाडी बढ्ने हो’, खाँडले भने । तर, नेकपा स्रोतका अनुसार उपसभामुख राष्ट्रिय जनता पार्टीलाई दिने तयारी गरेको छ । त्यसका लागि राजपासँग नेकपाले आन्तरिक छलफल गरिरहेको छ ।

पितृसंस्थासँग लडाइँ जारी

संसद् बैठकबाटै उपसभामुख पदबाट राजीनामा दिएकी शिवमाया तुम्बाहाङ्फेले पितृसंस्थाविरुद्धको लडाइँ आफ्नो जारी रहेको बताएकी छिन् । तत्कालीन सभामुख कृष्णबहादुर महराको गल्तीको सजाय आफुले भोग्नुपरेको बताउँदै आएकी तुम्बाहाङ्फेले देशमा राजसंस्थाभन्दा ठूलो पितृसंस्था रहेको बताएकी हुन् । राजिनामापछि सोमबार संसद् भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै तुम्बाहाङ्फेले आफू सभामुख नभए पनि संस्थालाई संविधानअनुसार सफल बनाएर छाडेको दाबी गरिन् ।

‘मैले बाजी मारेँ । म सभामुख हुन्छु र हुन्न दोस्रो पाटो थियो । तर, मैले यो संस्थालाई सफल बनाएँ,’ उनले भनिन्, ‘देशमा पितृसंस्था यस्तो रहेछ । परिवर्तन गर्न अझै धेरै मेहनत गर्न पर्ने रहेछ । हामी सबै मिलेर राजसंस्था त फालियो । राजसंस्थाभन्दा पितृसंस्था ठूलो रहेछ ।’ उनले पितृसत्तासँगको लडाइँ भने नरोकिने बताइन् ।

‘आजको दिनमा म लडाइँ भन्ने शब्द प्रयोग गर्न चाहन्छु । दलसँगको लडाइँमा प्रतिनिधिसभाको संस्थागत मर्यादा र संविधानको रक्षा गर्न सफल भएँ’, तुम्बाहाङ्फेले भनिन्, ‘प्रतिनिधिसभालाई नेतृत्वविहीन बनाउनुहुन्न भनेर मैले राजीनामा नदिएको हो । मैले एउटा लडाइँ गरेँ । प्रतिनिधिसभा एउटा संवैधानिक अंग हो । यो संस्था आफ्नै क्षेत्राधिकार भएको संस्था हो । यसको मर्यादा बचाउन सकेकोमा मेरो जित भएको छ ।’

उनले आफ्नो ब्याकअपमा कोही व्यक्ति र संस्था नभएको उल्लेख गर्दै संवैधानिक निकायलाई खाली बनाउन नहुने भएकाले राजीनामा नदिएको उल्लेख गरिन् । ‘ब्याकअपमा को छ भन्ने प्रश्न उठेको थियो । कुनै व्यक्ति र संस्था होइन संविधान थियो । संविधानले निर्देशन नगरेको भए यो अवस्था हुने थिएन । संस्थाले दिएर के हुन्थ्यो रु व्यक्ति र संस्थाभन्दा ठूलो संविधान हो,’ उनले भनिन् । उनले पत्रकारहरूले आफ्नो बारेमा नकरात्मक समाचार लेखेका बारेमा पनि प्रतिक्रिया दिँदै, ‘सकारात्मकभन्दा नकारात्मक समाचारले मलाई ऊर्जा दियो ।’ सौर्य दैनिकबाट