१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

नयाँ शैलीमा हुन थाल्यो मानव बेचबिखन

नयाँ शैलीमा हुन थाल्यो मानव बेचबिखन
अ अ+ अ-

रुपन्देही । करीब एक महिना अघि खोकीको औषधि किन्ने बहाना बनाउँदै एक महिला नेपाल– भारत सीमानाका बेलहिया आइपुगिन् । शङ्का लागेर माइती नेपालका कर्मचारीले उनलाई रोके । सोधपूछ गर्दै जाँदा उनी इलामबाट रोजगारीका लागि विदेश जाँदै गरेकी महिला रहेको पत्ता लाग्यो । उनलाई दलालले भारतको बाटो हुँदै वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर दिल्ली जाने बसमा सम्पर्क गरी पठाएका रहेछन् ।

सीमानाकामा प्रहरी तथा सङ्घसंस्थाका पदाधिकारीले सोधपूछ गरे खोकीको औषधि किन्न सुनौली जान लागेको भनी झुटो बोल्न दलालले सिकाए अनुसार आफू रुपन्देहीमै बस्ने र सुनौलीमा औषधि सस्तोमा पाइने भएकाले किन्न जान लागेको बताइन् । माइती नेपालका कर्मचारीले उनलाई धेरैबेर लगाएर सोधपूछ गरेपछि आफ्नो इलाम घर भएको र रोजगारीका लागि विदेश जान लागेको भेद खुलाइन् । पछि उनलाई माइती नेपालले परिवारको जिम्मा लगायो ।

तीन महिना अगाडि रुपन्देहीको धकधइका दुई किशोरीलाई दुइ महिलासँग रुपन्देहीको भगवानपुर नाकाबाट भारत जाँदै गर्दा भारतीय सीमा सुरक्षा बलले सीमा क्षेत्रमा रोक्यो । सोधपूछका क्रममा आफूहरु आमा छोरी भनेर बताए पनि पटक पटक कुरा फेरेपछि उनीहरुलाई माइती नेपाल भैरहवाको जिम्मा लगाइएको थियो ।

पछि सोधपूछ गर्दै जाँदा रुपन्देहीको कञ्चन गाउँपालिकाका दुई महिलाले धेरै धन कमाउने प्रलोभन देखाई कक्षा ८ पढ्ने र अर्की एसइई दिएर बसेकीे किशोरीलाई भारत लैजान लागेको थाहा भयो । भारतमा झारफुक गरे प्रशस्त पैसा झर्छ भनी ललाइफकाई लैजान लागेको अवस्थामा प्रहरीले उद्धार गरेपछि उनीहरु बेचिनबाट बचे ।

बेचबिखनका लागि लैजाने दुई महिला अहिले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नियन्त्रणमा छन् । उनीहरूविरूद्ध सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलिरहेको छ । गत कात्तिक १५ गते भारतको मुम्बईबाट २२ वर्षीया महिलालाई दुई वर्षीया छोरीसँगै उद्धार गरियो । चितवनको भरतपुर घर भएकी तिनले विगत तीन वर्षदेखि मुम्बईमा देहव्यापारमा गर्दैआएकी थिइन् । भारतीयसँग विवाह गरेकी उनलाई जबर्जस्ती श्रीमान्ले देहव्यापारमा लगाएका थिए । विभिन्न सङ्घसंस्था र भारतीय प्रहरीको सहयोगमा माइती नेपालको सम्पर्कमा आएपछि सोधपूछ गर्दा आफ्नै श्रीमान्ले भारत लगेर देह व्यापारका लागि बाध्य बनाएको तथ्य खुल्यो ।

छोटो समयमै प्रशस्त धन कमाउने प्रलोभनमा फस्दा विभिन्न जिल्लाका महिला तथा किशोरीहरु भारतमा बेचिन पुगेका छन्, यो क्रम रोक्न सकिएको छैन । माइती नेपालका संयोजक माया क्षेत्री भन्नुहुन्छ – “रोजगारीमा जाने महिलालाई दलालले लिएर आउँदैनन् । होटलमा सम्पर्क गर्छन् । काठमाडौँ बोलाउँछन् । एक–ढेड महिना कोठामा राख्छन् । अब नेपालको बाटो जान पाइएन भारतबाट जानुपर्छ भनेर भारतमा लगेर बेच्छन् ।” उहाँले खुल्ला सिमानाका कारण नेपालका महिलाहरु सजिलै भारत पुग्ने गरेको बताउनुभयो । माइती नेपाल भैरहवाको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा सीमा क्षेत्रबाट ८१ जना र भारतका विभिन्न स्थानबाट सात जनाको उद्धार गरिएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा २८९ जनालाई सीमा क्षेत्र र ३५ जनालाई भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल ल्याइएको थियो । आव २०७३/७४ मा सीमा क्षेत्रबाट २५० जना र भारतबाट नौ जनाको उद्धार गरिएको छ । यस्तै, आव २०७४/७५ मा सीमा क्षेत्रबाट २७२ जना र भारतबाट १० जनाको उद्धार गरिएको छ । आव २०७५/७६ मा भारतीय क्षेत्रबाट उद्धार गरिएकाको सङ्ख्या ५० रहेको छ भने सीमा क्षेत्रबाट २५३ जनाको उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ । यो सङ्ख्या माइती नेपालको सम्पर्कमा आएकाहरूको मात्र हो ।

भारत जान सीमानाकासम्म आउने महिला तथा किशोरीको साथमा केही हुँदैन । कागजपत्र र कपडा समेत दलालको नियन्त्रणमा हुने गरेको संयोजक क्षेत्रीको अनुभव छ । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कको आधारमा नेपालमा वार्षिक २०० देखि ३०० को सङ्ख्यामा मानव बेचबिखनको उजूरी पर्ने गरेको छ । प्रहरीको तथ्याङ्क अनुसार नेपालमा एक वर्षमा झण्डै १४ हजार मानिस हराउने र केवल ४७ प्रतिशत मात्र फेला पर्ने गरेको देखिन्छ ।

मानव बेचविखनविरुद्ध क्रियाशील नागरिक सङ्गठनहरुले उपलब्ध गराएको तथ्याङ्क अनुसार सीमा निरीक्षण तथा अनुगमनका क्रममा मात्र शङ्का लागि १० हजार भन्दा बढी व्यक्तिलाई सीमा नाकाबाट फिर्ता गरिएको छ । प्रहरीको तथ्याङ्क अनुसार दुई हजार १०४ जनालाई सीमा नाकाबाट फर्काइएको छ । नेपाल सरकारकै नेतृत्वमा नेपालबाट भारतको बाटो हुँदै तेस्रो मुलुक लैजान लागिएका ३०० भन्दा बढी ब्यक्तिलाई उद्दार गरिएको छ ।

प्रदेश नं ५ को प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार आर्थिक वर्ष २०७४/७५ मा ९० र आव २०७५/७६ मा ४९ वटा मानव बेचबिखनका मुद्दा दर्ता भएका छन् । यो वर्ष १५ वटा मुद्दा दर्ता भइसकेका छन् जसमध्ये रुपन्देहीका धेरै छन् । खुल्ला सिमानाका भएका कारण यसो भएको बुझिन्छ ।

मूलतः यौन बजार, बाध्यकारी कृषि श्रम, घरेलु कामदार तथा भारत हुँदै तेस्रो मुलुक लैजानका लागि महिला बेचबिखन हुने गरेको प्रहरी कार्यालय दाङका प्रवक्ता पोखरेलले बताउनुभयो । “ग्रामीण भेगका सामान्य लेखपढ गरेका महिलाहरु दुःख नगरी पैसा कमाउन सकिन्छ भन्ने प्रलोभनमा फस्छन् र बेचबिखनमा पर्छन्,” उहाँले भन्नुभयो ।

नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरोबाट प्राप्त तथ्याङ्क अनुसार अघिल्लो आवमा मानव बेचबिखन विरुद्धको उजूरी ३०५ रहेको थियो । आव २०७४/७५ र २०७५/७६ को असार मसान्तसम्मको तथ्याङ्क हेर्ने हो भने प्रदेश नं ५ मा सबैभन्दा बढी १२२ वटा उजूरी परेको देखिन्छ ।

मानव बेचबिखन विरुद्धका उजूरीहरुको विगत पाँच वर्षका तथ्याङ्कलाई केलाउने हो भने कुल पीडित एक हजार ४८९ मध्ये सबैभन्दा धेरै ६४० (४२.९८ प्रतिशत) जनालाई लोभ लालसा देखाएर र ५०२ (३३.७१ प्रतिशत) जनालाई ललाइफकाई बेचबिखन गरिएको पाइएको छ । मानव बेचबिखनका तरीकाहरुमा नक्कली विवाह (३.१६ प्रतिशत), रोजगारी (३.९० प्रतिशत), विदेश घुम्ने र बहानामा (२.३५ प्रतिशत) रहेको देखिन्छ ।

हतियारपछि मानव तस्करी नै विश्वको सबैभन्दा बढी नाफामूलक ब्यवसायको रुपमा रहेको छ । मानव बेचबिखन व्यक्तिविरुद्ध हुने एक अपराध मात्र नभई यो मानव अधिकार र मानव मर्यादा तथा मानिसको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको गम्भीर हनन पनि हो । मानव बेचबिखनको सवाललाई राज्यको दायित्वसहित मानव अधिकारमुखी दृष्टिकोणबाट सम्बोधन गरिनु पदर्छ भन्नुहुन्छ, मानव अधिकार आयोग प्रदेश नं ५ का उपनिर्देशक पवन भट्ट ।

उहाँले भन्नुभयो – “फौजदारी अपराधसँग सम्बन्धित विषयहरु सङ्घीय र प्रदेश सरकारका साझा अधिकारको सूचीभित्र रहेको भए पनि यस विषयमा सङ्घीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले गर्ने कार्यक्रम तथा अधिकार क्षेत्र स्पष्ट किटिएको छैन । त्यसो भएर प्रदेश सरकार तथा स्थानीय सरकारहरुले यस विषयमा कार्य गर्न सकेका छैनन् ।” स्थानीय तह सञ्चालन ऐनले मानव बेचबिखनको अन्त्य गर्ने कार्य गर्न वडा समितिलाई जिम्मेवार बनाएको छ । यद्यपि त्यसअनुरुप स्थानीय तहका सरकारहरुले कार्यक्रमहरु सञ्चालन गरेको पाइँदैन ।

रुपन्देहीमा माइती नेपाल सहित साना हात, थ्री एन्जल्स, एबिसी नेपाल, आफन्त नेपाल र शुभ अवसर ग्रामले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका क्षेत्रमा काम गर्छन् । यी मध्ये चार वटा संस्थाले नेपाल भारत सीमा क्षेत्र बेलहियामा निगरानी गरिआएका छन् । रुपन्देहीमा बेलहियासहित कक्रहवा, भगवानपुरलगायत दर्जनौं सीमानाका छन् । सबै संस्थाहरुले एकै ठाउँमा बसेर निगरानी गर्दा मानव तस्करहरुले अन्य नाका प्रयोग गर्ने गरेको पाइएको छ । नेपालभित्रै हुने मानव बेचबिखन नीतिगत र नियामक निकायको दृष्टिमा पर्न नसक्दा हजारौं महिला तथा बालबालिका नेपालभित्रै भइरहेको मानव बेचबिखनको शिकार भइरहेका छन् । यो धन्दाका हाँगाहरु डान्सबार, दोहोरी, डिस्कोसम्म फैलिएका छन् ।

नेपालको संविधान २०७२ ले मानव बेचबिखनलाई एक गम्भीर अपराधको रुपमा पहिचान गर्दै यस विरुद्धका प्रावधानहरुलाई मौलिक हक तथा राज्यका नीति अन्तर्गत राखिएका छन् । यद्यपि विद्यमान ऐनले मानव बेचबिखनका समग्र सवालहरुलाई अधिकारमुखी ढङ्गले सम्बोधन गर्न सकेको देखिँदैन ।