१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतद्वारा अरविन्द आश्रम विद्यालयको भवन निर्माण



अ+ अ-

काठमाडौं । भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा. अजय कुमारले थानकोटस्थित अरविन्द आश्रम विद्यालयको नव निर्मित भवनको औपचारिक उद्घाटन गरेका छन् । भारत सरकारको नेरु २.८२५ करोड अनुदान सहयोगमा निर्मित तीन तल्ले भवनको बुधबार राजदूत कुमारले उद्घाटन गरेका हुन् ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणि राम गेलाल लगायत राजनीतिक, सामुदायिक नेतृत्वकर्मीले सो समारोहमा सहभागीता जनाएका थिए ।
नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस आवासीय विद्यालय सन् १९९३ मा श्री अरविन्द योग मन्दिरले स्थापना गरेको हो ।

यस विद्यालयले करिब २६० विद्यार्थीलाई माध्यमिक तहको शिक्षा प्रदान गरिरहेको छ जसमध्ये ५३ प्रतिशत भन्दा बढी छात्रा रहेका छन् । अधिकांश विद्यार्थीहरु गरिब, विपन्न र अनाथ छन् जसका लागि विद्यालयले निःशुल्क शिक्षा तथा छात्रावासको व्यवस्था गरेको छ । शहरी विकास तथा भवन निर्माण विभागले उक्त परियोजनाको कार्यान्वयन गरेको हो ।

निर्मित भवनमा ११ वटा कक्षा कोठा, तीनवटा प्रयोगशाला, चारवटा भण्डार कक्ष तथा दुई कर्मचारी कक्ष रहेका छन् । यसका अतिरिक्त लेखा, प्रशासन, रेकर्ड, पुस्तकालय, प्रधानाध्यापक, व्यक्तिगत सहायक, परीक्षा, बहुउद्धेश्यीय हल र फर्निचरका लागि एक–एक कोठाको व्यवस्था रहेको छ ।

यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पूरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकार खुशी व्यक्त गर्दछ ।