९ असार २०८३, मंगलवार
,
Latest
महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई विप्लव कटाक्ष: विचलनबाट भागेर गरिने एकताको अपिल अर्थ छैन



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादको पक्षमा आफूहरू सधैँ अडिग रहने स्पष्ट पार्नुभएको छ ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गर्दै उहाँले विचलनबाट भागेर गरिने एकताको अपिल नसुहाउने बताउनुभएको हो ।

कार्यक्रममा विभिन्न पृष्ठभुमिबाट आएका कार्यकर्ताहरूको एकता घोषणा भएपनि विप्लवको यो सम्बोधनले माओवादी आन्दोलनभित्रको गहिरो ध्रुवीकरण र विचारधाराको शुद्धताको बहसलाई फेरि एकपटक तिखो बनाएको छ । उहाँले प्रचण्डले समाजवादी मोर्चाबाट भागेर बनाएको पार्टी कमजोर भएको आरोप पनि लगाउनु भयो ।

यो जवाफले कम्युनिस्ट आन्दोलनका दुई धारबीचको तनावलाई थप उजागर गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी नेपालबाट आउनुभएका महेन्द्र पाण्डे लगायतलाई पार्टीमा स्वागत गर्दै विप्लवले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रलाई लक्षित गर्दै आलोचना गर्नुभयो । उहाँले विचलनबाट भागेका नेताहरूलाई फर्किन अपील गर्दै विचारधाराको शुद्धता र सुदृढ एकताको आवश्यकता जोड दिनुभयो ।

नेपालको राजनीति तरंगमयः पार्टी फुट, मिलन र जनताको अलमल

विप्लवले वर्तमान राजनीति “तरंगमय” भएको बताउनु भयो । नयाँ पार्टी जन्मिने, पुराना मर्ने, सत्तासीन वर्ग विभाजित हुने, पुराना नेताहरू बदनाम हुने क्रम चलिरहेको उहाँको भनाइ छ । उहाँकाअनुसार जनतामा अलमल छ—केही नयाँ शक्तितिर, केही क्रान्तिकारीसँग एकतावद्ध हुँदैछन् । कम्युनिस्ट आन्दोलनमा पनि एकता र विभाजनको प्रक्रिया तिब्र छ । “ठूला संकटले सबै क्षेत्रमा प्रभाव पार्छ । सत्तासीन वर्ग पनि ध्रुवीकृत हुन्छन् ।” विप्लवले भन्नुभयो ।
पुराना कम्युनिस्ट पार्टीमा विचलनः सर्वहारा नेता अरबपति बने

विप्लवले पुराना कम्युनिस्ट पार्टीहरू (माओवादी केन्द्रसहित) मा आएको विचलनलाई कटु सत्यका रूपमा प्रश्तुत गर्नुभयो । उहाँले भन्नुभयो, “हिजो खान–लाउन नपुग्ने सर्वहारा नेताहरू आज अरबपति बनेका छन् । जनताले उनीहरूका घर जलाउने स्थिति आएको छ ।” उहाँले कम्युनिस्ट पार्टीहरू श्रम, मेहनत र जनतामा आधारित हुने सिद्धान्तबाट विचलित भएको आरोप लगाउनु भयो ।

प्रचण्डलाई प्रत्यक्ष अपीलः “फर्किनुस्, होइन भने विचलन जारी छ”

विप्लवले प्रचण्डले समाजवादी मोर्चाबाट भागेर नयाँ पार्टी बनाएपनि समाजवादी मोर्चा भन्दा कमजोर रहेको बताउनु भयो । २५ सय– तीन हजार केन्द्रिय सदस्य थुपारेर पार्टी ठूलो बनाउन नसकिने भन्दै यो घुइँचो मात्रै भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, “प्रचण्डले समाजवादी मोर्चाबाट भागेर नयाँ पार्टी बनाए । तर त्यो मोर्चाभन्दा पनि कमजोर छ।  २५ सय–३ हजार केन्द्रीय सदस्य थुपारेर पार्टी ठूलो बनाउन सकिँदैन । यो घुइँचो मात्र हो ।”

माओवादमा फर्किन अपिल

उहाँले होसमा भए माओवादमै फर्किन अपिल पनि गर्नुभयो । जनताको घरमा खाना खाएको याद छ भने माओवादमै फर्किन उहाँको आग्रह छ । माओवाद कसैले फालेर नफालिने उहाँको भनाइ छ । प्रचण्लाई लक्षित गर्दै विप्लवले एकताको अपील विचलनकारीहरूले गर्न नसुहाउने बताउनु भयो ।  सही बाटोमा हिँडेको, अनुशासनमा बसेको पार्टीले एकताको अपिल गर्नुपर्ने बताउनु भयो । विचार–मूल्य–अनुशासनविनाको एकता आन्दोलन विसर्जन गर्ने उहाँको भनाइ छ ।
“माओवादी होसमा छौ भने फर्किनुस् । जनताको घरमा खाना खाएको याद छ भने फर्किनुस्। सहयोद्धालाई दफनाएर हिँडेको भावना छ भने फर्किनुस् । माओवाद तिमीहरूले फालेर फालिँदैन। क्रान्तिकारी आन्दोलनबाट भागेर सिद्धिँदैन।” उहाँले भन्नुभयो । 

पार्टीको लाइनः संसद हतियार मात्र, मुख्य काम जनतामा

विप्लवले पार्टीको तर्फबाट आफ्नो स्पष्ट अडान समेत राख्नुभयो । संसद केवल हतियार रहेको र मुख्य काम पार्टी निर्माण र जनताको बीचमा बस्नु रहेको उहाँको बुझाइ छ ।

“दुई पङ्क्ति समानान्तर चल्छन्—संसदमा गएर लड्ने र जनतामा बसेर काम गर्ने । झाडु लगाउने कार्यकर्तादेखि मन्त्रीसम्म तालमेल मिलाउनुपर्छ,” उहाँले भन्नुभयो ।  एमसीसीविरुद्ध सडकबाट लडे जस्तै, संसद् बिग्रिए पनि सडकबाट देशको ड्युटी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निर्वाचन निष्पक्ष नहुने आशंका राख्दै उहाँले भन्नुभयो, “जनताले बुझे बहुमत ल्याउँछौं । जिते पनि नजिते पनि क्रान्ति सिधिँदैन ।”

क्रान्तिकारी एकताको अपीलः सही केन्द्रमा गोलबन्द हुनुपर्छ

विप्लवले सम्पूर्ण माओवादी तथा क्रान्तिकारी कम्युनिस्टहरूलाई सही केन्द्रमा गोलवद्ध हुन अपिल गर्नुभयो । देशमा सुदृढ एकता आवश्यक रहेकाले विचार, मूल्य, अनुशासनमा उभिएको केन्द्रमा गोलवद्ध हुन आह्वान गर्नुभयो ।  उहाँले भन्नुभयो, “सुदृढ एकता चाहिन्छ। विचार, मूल्य र अनुशासनमा उभिएको केन्द्रमा गोलबन्द हुनुपर्छ। युवा कार्यकर्ताहरू उत्साहका साथ काम गर्नुहोस्। माओवादी सकिएको होइन भन्ने प्रमाणित गर्नुहोस्।” 

उहाँले माओवाद सकिएको छैन भन्ने प्रमाणित गर्न आग्रह गर्नुभयो । —न्युज एजेन्सी नेपाल