९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’



अ+ अ-

सिरहा । अठहत्तर वर्षको उमेर, चाउरिएका गाला र थकित अनुहार । बुढेसकालमा नागरिकताको लागि कपलेश्वरी यादवको पछिल्लो आठ वर्ष वडा कार्यालय र जिल्ला प्रशासनको कार्यालय धाउँदै बित्यो ।

स्थानीयवासीहरु भन्दथे, “अब यो उमेरमा के नागरिकता बनाउँछाँै आमा ?” तर, यादवलाई ‘अनागरिक’ भएर मर्ने इच्छा थिएन । बुधबार जब सिरहाको जिल्ला प्रशासन कार्यालयबाट उहाँले आफ्नो नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभयो, उहाँका आँखा रसाए । हर्ष र बेदना एकैपटक छचल्कियो । यो केवल एउटा कागजको पाना थिएन, उहाँको आठ वर्षको सङ्घर्ष र तिरस्कारपछिको विजय थियो ।

औरही गाउँपालिका—३ पिपरामा जन्मिनुभएकी यादवले २०२३ सालमा नवराजपुर–४ का बौवेलाल यादवको कान्छी श्रीमतीका रूपमा भित्रिनुभएको थियो । जेठी श्रीमतीका चार छोरी भए पनि कपलेश्वरीका आफ्नै सन्तान भएनन् । २०३१ सालमा श्रीमान्को निधन भएपछि उहाँ सहाराविहीन हुनुभयो ।

आफ्ना नातेदार र माइतीतर्फका दाजुभाइ सबैको वंशजको नागरिकता भए पनि कपलेश्वरी भने नागरिकताको मूल ढोकामै रोकिनुभएको थियो । श्रीमान्को मृत्युपछि अंशका लागि उहाँले अदालतमा ‘हक कायम’ मुद्दा लडेर जित्नुभयो । अंश मुद्दा जितेर साढे ११ धुर जग्गा त पाउनुभयो, तर त्यही जग्गाको लालपुर्जा र आफन्तका सबै प्रमाण हुँदाहुँदै पनि उहाँले नागरिकता पाउन सक्नुभएन ।

माइतीले दिएको छ कट्ठा जग्गा पनि उहाँकै नाममा थियो । तर, विडम्बना ! नागरिकता नहुँदा न उहाँले त्यो जग्गा बेचबिखन गर्न पाउनुभयो, न आफूलाई बुढेसकालमा पाल्ने नातिको नाममा नामसारी गर्न नै सक्नुभयो । उहाँको बाटोमा तगारो बनेका थिए, गाउँकै जनप्रतिनिधि । विभिन्न कारणले वडा कार्यालयले सिफारिस दिन पटक–पटक इन्कार गरिरह्यो ।

उहाँमाथि ‘स्थानीय बासिन्दा नै नभएको’ झुटो मुद्दासमेत हालियो । “आफ्नै गाउँमा पराई जस्तो हुनुपर्दाको पीडा सुनाउने ठाउँ कतै थिएन,” ती दिन सम्झदै उहाँका नाति रामपरीक्षण यादव भन्नुहुन्छ ।

कपलेश्वरीका आफूपट्टिका न त सन्तान छन्, न सहारा दिने श्रीमान् । बुढेसकालले छोप्दै ल्याएपछि उहाँलाई एउटै चिन्ता थियो, अब बाँकी जीवन कसरी काट्ने ? सरकारले दिने सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) पाउन पनि नागरिकता अनिवार्य थियो । तर, वडाको दैलोबाट रित्तो हात फर्किंदा उहाँ धेरै पटक रुनुभएको थियो ।
सञ्चारमाध्यममा नागरिकता प्राप्तिको लागि उहाँले गर्नुभएको सङ्घर्षको कथा आएपछि र गाउँपालिका अध्यक्ष शिवउद्गार यादवले विशेष पहल गरेपछि आठ वर्षपछि मात्र उहाँको प्रशासनिक उल्झन सुल्झियो । अदालतको ढोका र प्रशासनको चक्कर सकिएपछि बल्ल उहाँले राज्यको नागरिक हुनुको गौरव महसुस गर्नुभएको छ ।

आफ्नी हजुरआमाको हकका लागि वडादेखि अदालतसम्म धाउने नाति रामपरीक्षण यादव अहिले निकै खुसी हुनुभएको छ । उहाँले प्रफूल्लित हुँदै भन्नुभयो,“हजुरआमाले यो उमेरमा आएर न्याय पाउनुभयो, यसैमा म धेरै खुसी छु । नागरिकता नहुँदा उहाँले आफ्नो जग्गा जमिनको उपभोग गर्न पाउनुभएको थिएन र वृद्ध भत्ताबाट पनि वञ्चित हुनुहुन्थ्यो ।

अब उहाँले राज्यको नागरिक हुनुको गौरव महसुस गर्न पाउनुहुनेछ । यो हाम्रो परिवारका लागि ठूलो जित हो ।”नागरिकता सुम्सुम्याउँदै कपलेश्वरीले भावुक भएर भन्नुभयो,“छोराछोरी छैनन्, सहारा दिने कोही थिएन । अब सरकारले दिने भत्ताले थोरै भए पनि ओखतीमुलो र खाने खर्च पुग्छ । कम्तीमा अब आफ्नै देशको नागरिक भएर ढुक्कले मर्न पाउने भएँ ।”

७८ वर्षको उमेरमा पाएको यो नागरिकताले कपलेश्वरीलाई केवल आर्थिक राहत मात्र होइन, एउटा परिचय र सम्मान पनि दिएको छ । आफ्नी हजुरआमाले आठ वर्ष भोग्नुपरेको सास्ती सम्झँदै नाति रामपरीक्षण राज्यसंयन्त्रलाई प्रश्न गर्नुहुन्छ,“हजुरआमा जस्ता धेरै वृद्धवृद्धा अझै पनि प्रशासनिक झमेलामा अल्झिरहेका छन्, सबै प्रमाण र अदालती फैसला हुँदाहुँदै पनि एउटा नागरिकले आफ्नो परिचय पाउन किन आठ वर्ष कुर्नुपर्छ ?” रासस