१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानिरीक्षक खनालदवारा प्रहरी कार्यालयको नवनिर्मित भवन उद्‍घाटन



अ+ अ-


रोल्पा । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय रोल्पाको नवनिर्मित कार्यालय भवनको उद्‍घाटन गरेका छन् । बिहिवार खनालले भवनको शीलालेखको अनावरण गर्नुको साथै निरीक्षण समेत गरेका हुन् ।

समारोहमा प्रहरी महानिरीक्षक खनालले भवन निर्माणमा सहयोग पुर्याउने महानुभावहरुलाई प्रशंसापत्र समेत प्रदान गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले समाजिक विकृति विसंगतिलाई सरोकारवाला सबै पक्ष मिलेर अन्त्य गर्नुपर्ने चर्चा गर्दै यस्ता कुरितिलाई त्याग्न सबैलाई आह्वान समेत गर्नुभयो । कानून सबैका लागि समान हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले कानून भन्दा माथि उठेर अपराध गर्ने सबैलाई प्रहरीले कानूनी दायरमा ल्याउने बताउनुभयो ।

विभिन्न स्थानमा नेपाल प्रहरीको अत्याधुनिक भौतिक संरचनाहरु निर्माण भइरहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले सबै पक्ष मिलेर नवनिर्मित भवनको संरक्षण गर्नुपर्ने समेत बताउनुभयो । समाजको सुरक्षामा समुदायको समेत सहभागिता आवश्यक भएकोले नेपाल प्रहरीले “समुदाय-प्रहरी साझेदारी”को अवधारणा ल्याएको चर्चा गर्दै उहाँले उक्त अवधारणा अन्तर्गत विभिन्न जनचेतनमूलक कार्यक्रम संचालनको लागि नागरिक समाजसँग हातेमालो गर्दै आगाडि बढेको बताउनुभयो ।

रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी बरीष्ठ उपरीक्षक नर बहादुर खत्रीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै कार्यक्रममा समुदाय-प्रहरी साझेदारी वडा स्तरिय समितिका संयोजक तथा रोल्पा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष नबराज आचार्य र संचारकर्मीको तर्फबाट काशिराम डाँगीले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक चित्र बहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी निरीक्षक ई। दिपक केसीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कूल ४ करोड २४ लाख ३३ हजार ६ सय ८१ रुपैयाँ ९२ पैसा लागतमा उक्त भवनको निर्माण कार्य सम्पन्न भएको हो ।

कार्यक्रममा स्थानीय निकायका प्रमुखहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा अधिकृतहरु, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधिहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, स्थानीय संचारकर्मी लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।