१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब सबै वडाका विवाद वडामै



अ+ अ-

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले न्याय सम्पादनका लागि सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरेको छ । नगरभित्रका १४ वटै वडा कार्यालयमा मेलमिलाप केन्द्र स्थापना गरेको छ भने सबै वडामा वडा संयोजकसहित मेलमिलापकर्ताको व्यवस्था मिलाएको नगरपालिकाका कानून शाखा प्रमुख नरबहादुर पौडेलले बताउनुभयो ।

“स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को उपदफा १ मा १३ प्रकृतिका देवानी विवाद निर्णय वा फैसला गर्ने व्यवस्था न्यायिक समितिमा रहेको छ”, कानून शाखा प्रमुख पौडेलले भन्नुभयो, “४७ को उपदफा २ अनुसार ११ प्रकृतिका देवानी तथा एक वर्षसम्म कैद सजाय हुने फौजदारी प्रकृतिका विवाद मेलमिलापका माध्यमबाट निरुपण गरिने व्यवस्था भएकाले तिनै ११ प्रकृतिका विवाद वडास्तरमै मेलमिलापकर्ताले निरुपण गर्नेछन् ।

वडास्तरमा मेलमिलापकर्ताले विवाद समाधानका लागि पहल गर्ने र उक्त विवाद समाधान हुन नसकेमा न्यायिक समितिमा आउने कानून शाखा प्रमुख पौडेलले बताउनुभयो । न्यायिक समितिले वादी प्रतिवादीलाई मेलमिलाप गराउने पहल गर्ने र मेलमिलाप हुन नसकेमा स्याङ्जा जिल्ला अदालतमा सिफारिस गर्ने शाखा प्रमुख पौडेलको भनाइ थियो ।

वडाको मुद्दा वडामै मिलाउने वातावरण सिर्जना गरिएकाले वादी प्रतिवादीले वडाभित्रैका सूचिकृत मेलमिलापकर्ता छनोट गरी न्याय प्राप्त गर्नसक्ने र वादी प्रतिवादीबीच मेलमिलापकर्ताको छनोट गर्न नसकेमा वडा संयोजकले मेलमिलापकर्ता छनोट गरिदिने वा आफैँ सहभागी भएर मुद्दा मिलाउने जिम्मेवारी दिइएको कानून शाखा प्रमुख पौडेलले बताउनुभयो ।

मेलमिलापकर्तालाई मुद्दाको छिनोफानो गरेको खण्डमा पारिश्रमिकको व्यवस्था मिलाइएको कानून शाखा प्रमुख पौडेलले बताउनुभयो । वालिङ नगरपालिकामा हाल ११६ जना सूचिकर्ता मेलमिलापकर्ता छन् । वडाभित्रको विवाद वडाबाटै मिलाउने भएपछि भने नगरवासीले न्याय सम्पादनमा सहजता भएको महसुस गरेका छन् । वालिङ नगरपालिकाले अष्ट्रेलियन एड र दि एशिया फाउण्डेशनको सहयोग तथा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको सहजीकरणमा कार्यक्रम अगाडि बढाउँदै आएको छ ।