१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

जडीबुटी निकासी वृद्धि

जडीबुटी निकासी वृद्धि
अ अ+ अ-

दार्चुला । जडीबुटीका लागि प्रख्यात मानिने यहाँबाट वार्षिक अढाइ लाख क्विन्टल जडीबुटी निकासी हुने गरेको छ । हिमाली क्षेत्रमा पाइने डेढ दर्जन बढी प्रकारका जडीबुटी निकासी हुने गरेका हुन् । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय र डिभिजन वन कार्यालयमार्फत जिल्लाको जडीबुटी नेपालगञ्ज र काठमाडौँ निकासी हुने गरेको छ ।

अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय र डिभिजन वन कार्यालयमार्फत झण्डै १६ प्रकारका जडीबुटी हरेक वर्ष निकासी हुने गरेका छन् भने बहुमूल्य जडीबुटी यार्सागुम्बा अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयमार्फत मात्र निकासी हुन्छ । जिल्लाबाट आर्थिक वर्ष २०७१/७२ मा दुई लाख ४५ हजार ५२३ किलो जडीबुटी निकासी भएको छ । यस्तै २०७२/७३ मा तीन लाख ४८ हजार १०८ किलो जडीबुटी निकासी भएको छ । आर्थिक वर्ष २०७३/७४ मा एक लाख ९४ हजार ९६३ किलो, आव २०७४/७५ मा तीन लाख ५५ हजार २१४ किलो तथा २०७५/७६ मा एक लाख ४९ हजार ९६२ किलो जडीबुटी जिल्ला बाहिर निकासी भएको कार्यालयको तथ्याङ्क छ ।

अहिले जिल्लामा अपि नाम्पा संरक्षण क्षेत्रभित्र साविकका २१ गाविस तथा डिभिजन वन कार्यालयअन्तर्गत २० गाविस समेटिएका छन् । दुवै कार्यालयमार्फत समान किसिमका जडीबुटीसमेत निकासी हुने गरेका छन् । दुवै क्षेत्रमा हुने जडीबुटीलाई दुवै कार्यालयले छोडपूर्जी जारी गर्ने गरेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अमरसिंह धामीले बताउनुभयो ।

तथ्याङ्कअनुसार पाँच वर्षमा जिल्लाबाट तेजपात पाँच लाख १५ हजार ५५९ किलो, पाषणवेद एक लाख ५९ हजार ६२४ किलो, रिठा तीन लाख ६१ हजार ८२ किलो, सतुवा ३४ हजार ६८० किलो, चिराइतो १४ हजार ६९७ किलो, सुगन्धवाल चार हजार १०३ किलो, टिमुर चार हजार ६७ किलो निर्यात गरिएको छ । यसैगरी साधारण च्याउ २४ हजार ९१८ किलो, वनलसुन १८ हजार सात किलो, गुच्चीच्याउ ५७० किलो, सेतकचिनी १९ हजार ४२५ किलो, काउलो नौ हजार ३१४ किलो, दालचिनी ११ हजार ३५६ किलो, कचुर एक हजार ९४६ किलो, अमला पाँच हजार ५२० किलो तथा अल्लो २९ हजार ४९५ किलो निर्यात गरिएको छ ।

यस्तै चुत्रो ८९ हजार २०० किलो, कुट्की १२ हजार २०९ किलो र सबैभन्दा बहुमूल्य जडीबुटी यार्सागुम्बा तीन हजार ८४० किलोग्राम निकासी भएको छ । जडीबुटीका हिसाबले अपि नाम्पा संरक्षण क्षेत्र ठूलो छ । संरक्षण क्षेत्रभित्र ७० प्रकारका जडीबुटीको पहिचान भए पनि हालसम्म ३५ प्रकारका जडीबुटीको मात्रै निकासी हुने गरेका कार्यालयले जनाएको छ ।

जिल्लामा करोडौँ मूल्यका जडीबुटी उत्पादन भएर निर्यात भए पनि जडीबुटी संरक्षणतर्फ भने सरोकारवालाको ध्यान गएको छैन । हरेक वर्ष सबै प्रकारका जडीबुटी सङ्कलनका लागि अनुमति दिँदा जडीबुटी लोप हुने अवस्थामा पुगेका जडीबुटी व्यापारी प्रेमसिंह कार्कीले बताउनुभयो । जडीबुटीको क्षेत्रमा दुई सरकारी कार्यालय भए पनि संरक्षण तथा प्रवद्र्धनमा ध्यान नदिएको उहाँको भनाइ छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहता पनि जडीबुटी संरक्षण एवं प्रवद्र्धनका लागि सरोकारवालाको चासो नपुगेको स्वीकार गर्नुहुन्छ । “मैले कार्यालय प्रमुख भएर आएर हेर्दा जडीबुटीको क्षेत्रमा खासै लगानी भएको देखिनँ”, उहाँले भन्नुभयो, “जडीबुटी खेती, संरक्षण प्रवद्र्धनका लागि माग पनि आउँदैन ।”

उहाँले परिषद्का सदस्यले पनि जडीबुटी क्षेत्रमा लगानीका लागि बजेट विनियोजन नगर्ने गरेको बताउनुभयो । स्थानीयस्तर र सामुदायिक वनमार्फत जडीबुटी संरक्षणका लागि माग आउनुपर्नेमा उहाँले जोड दिनुभयो । जिल्लाको सबै क्षेत्रमा जडीबुटी पाइन्छ । यसलाई व्यवस्थित बनाउन सरोकारवाला सबै लाग्नुपर्नेमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष मङ्गलसिंह ठगुन्नाको जोड छ । “पर्याप्त स्रोतसाधन छन्, हामीले नै व्यवस्थित कार्ययोजना बनाएर लागू गराउन लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

जडीबुटी संरक्षणमा न्यून लगानी

जिल्लामा अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय र डिभिजन वन कार्यालयमार्फत जडीबुटी संरक्षणमा न्यून लगानी भएको छ । दुवै कार्यालयले जडीबुटी संरक्षणभन्दा पनि कम मुनाफा हुने क्षेत्रमा लगानी गर्ने गरेका छन् । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत धामीका अनुसार जडीबुटी खेती एवं संरक्षणका लागि वार्षिक रु दुईदेखि पाँच लाख बजेट आउँछ । थोरै बजेटले धेरै सामुदायिक वनमा वितरण गर्दा प्रभावकारी देखिँदैन । जडीबुटीकै लागि भनेर बजेट विनियोजन हुँदैन ।

अपि नाम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत मेहता जडीबुटी क्षेत्रमा लगानी बढाउन सामुदायिक वन, उपभोक्ता समितिमार्फत माग आउनुपर्ने बताउनुहुन्छ । “विगतमा टिमुर खेतीका लागि थोरै लगानी गएको छ”, उहाँले भन्नुभयो, “त्योबाहेक जडीबुटी विस्तार एवं संरक्षण प्रवद्र्धनमा बजेट छैन, माग नै नआउँदा लगानी गर्न सकिएको छैन ।” विनामाग योजना बनाउँदा आफैँलाई समस्या हुने भन्दै स्थानीयस्तरमा सचेतना हुनुपर्ने उहाँले बताउनुभयो । अहिले नौगाड तथा अपिहिमाल गाउँपालिकाका केही किसानले भने जडीबुटी लगाउन थालेका छन् । अपिहिमालका व्यापारी पोखरसिंह रोकायाले अहिले घर नजिकैको खेतमा विभिन्न जडीबुटी खेती शुरु गरिएको जानकारी दिनुभयो ।

यार्सा निकासी घट्यो

अन्य जडीबुटीको निकासी हरेक वर्ष बढ्दै गए पनि बहुमूल्य जडीबुटी यार्सागुम्बा भने घट्दै गएको तथ्याङ्कले देखाएको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत सन्तबहादुर मगरका अनुसार चालू आव २०७६÷७७ मा २५१ किलोग्राम मात्रै यार्सागुम्बा निकासी भएको छ । गत आव २०७५÷७६ मा ५४५ किलो यार्सागुम्बा जिल्लाबाट निकासी भएको थियो ।

आव २०७१÷७२ मा ८३३।१३ किलोग्राम यार्सागुम्बा निकासी भएको थियो । यस्तै २०७२÷७३ मा एक हजार २९ किलोग्राम, २०७३÷७४ मा ६६९ किलो तथा २०७४÷७५ मा ७६४ किलोग्राम यार्सागुम्बा निकासी भएको कार्यालयको तथ्याङ्क छ । यो वर्ष भारतले समेत यार्सागुम्बालगायतका जडीबुटी निकासी खुला गरेपछि नेपालतिरबाट यार्सागुम्बा ढुवानी कम भएको हुन नसक्ने संरक्षण क्षेत्रकै कर्मचारी बताउँछन् ।

यार्सागुम्बा ढुवानी नहुँदा यो वर्ष संरक्षण क्षेत्र कार्यालयले राजश्ववापत पाउनुपर्ने रकमसमेत घटेको छ । संरक्षण क्षेत्रले यार्सागुम्बाको छोडपूर्जी जारी गरेवापत प्रतिकिलो रु ३० हजार राजश्व उठाउँदै आएको थियो । तर यो वर्ष यार्सागुम्बा ढुवानी घटेपछि राजश्वदरसमेत घटेको छ । सङ्कलकका अनुसार यार्सागुम्बा हरेक वर्ष कम उत्पादन हुँदै गएको छ ।