८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरक कार्यशैलीमा विपक्षीलाई साथमा लिएर अघि बढ्ने तयारीमा प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । सरकारले गरेको कतिपय काम कारबाही विवादमा तानिएका र तान्न खोजेको भन्दै विपक्षी र सत्ता पक्षले आरोप लगाइरहेका छन् । कतिपय विवाद त नागरिक स्तरबाट पनि उठिरहेका छन् । प्रधानमन्त्री, सम्बन्धित विषयका मन्त्री र कतिपय सरकारी निकायका कर्मचारीको असावधानीका कारण गरिएका कामकारवाही विवादमा मुछिएका छन् । सत्ता सञ्चालनमा छलफल नै गर्न नचाहेको र विवाद भएपछि पार्टीले पनि रोक्न नसक्ने अवस्था आइरहेको सत्तारुढ नेकपाकै नेताले पनि भनिरहेका छन् ।

विवाद बढ्ने क्रम नरोकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यशैलीमा परिवर्तन ल्याएका छन् । सरकार गठन भएको करिब दुई वर्ष पुग्न लाग्दा उनले सबै पक्षसँग छलफल र सम्वाद सुरु गरेका हुन् । उनले सत्तारुढ दलकै शीर्षस्थ नेता, विपक्षी दल, कतिपय सांसद्सँग छुट्टा छुट्टै र सामूहिक छलफल सुरु गरेका हुन् । केही समय अगाडि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग बालुवाटारमै लामो छलफल गरेका उनले गत बिहीबार अर्का वरिष्ठ नेता झलनाथ खनालसँग ४ घण्टा लामो कुराकानी गरेका थिए ।

भेटमा विशेषगरी पार्टी र सरकारको कामकारवाहीका विषयमा केन्द्रित भएको बताएपनि प्रधानमन्त्री ओलीले त्यसलाई पारिवारिक भेटघाटका रूपमा प्रस्तुत गर्न खोजेका थिए । ‘प्रधानमन्त्रीसँग लामो समयपछि भेटवार्ता भयो । सुख दुःखका कुरा भए । प्रधानमन्त्रीको कार्यभार सम्हालिरहँदा आइपरेका कठिनाइ, चुनौतीका बारेमा कुराकानी भयो । मैले केही सल्लाह, सुझाव पनि दिएँ’, भेटपछि खनालले भने । पछिल्लो समय पार्टी अध्यक्षसमेत रहेका ओलीको कार्यशैलीप्रति वरिष्ठ नेताले प्रश्न उठाउँदै आएका वेला भेटवार्ता भएको हो ।

पार्टीका औपचारिक/अनौपचारिक मञ्चमा नेता खनालले पार्टी, सरकारको कामकारबाहीप्रति पनि असन्तुष्टि राख्दै आएका थिए । उसो त उनलाई सचिवालय बैठकमा पछिल्लो पटक नेताहरू एक्लाउन खोजेको चर्चापनि नेकपाभित्र नचलेको भने होइन । विशेषगरी उपाध्यक्षमा प्रस्ताव गरिएका वामदेव गौतमको निवासमा भएको भेलाले ओली बढी नै झस्किएका छन् । त्यो भेलाको आशंका उनमा अझै नमेटिएको नेकपाकै कतिपय नेताहरूको भनाइ छ । यद्यपी भेलामा सहभागी भएका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेला सामान्य छलफलका लागि मात्र भएको प्रष्टिकरण दिएका थिए ।

जसको असर सभामुख चयनमा देखिएको ओली पक्ष नेताहरूको बुझाइ छ । पार्टीभित्रैबाट अप्ठेरो अवस्था सृजना भएपछि उनले विपक्षी दलसँग पनि परामर्श बाक्लो बनाएका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको खोजविन आयोगका पदाधिकारी नियुक्त गर्दा विपक्षीसँगको परामर्शमा गरे । राजनीतिक सहमतिलाई उनले फेरी ब्युँताउन चाहेको नेकपाका नेताहरूले प्रतिक्रिया दिएका छन् । यसक्रममा विभिन्न विश्वविद्यालयका पदाधिकारी नियुक्तिका विषयमा शनिबार बिहान पुनः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

प्रचण्डसहित बालुवाटारमा करिब डेढ घण्टा भएको छलफल सहमतिमा नपुगेपनि छलफललाई निरन्तरता दिने भन्दै नेताहरू निस्किए । नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीले नियमितरूपमा संसद्मा रहेका दलहरूसँग गर्दै आएको छलफलको पाटो अनुरूप नै शनिबार दुई दलका शीर्ष नेताबीच भेटघाट भएको बताए । उनले भने, ‘दलका नेताहरूसँग प्रधानमन्त्रीको नियमित छलफल गर्ने नीतिअनुसार बैठक बसेको हो । संसद्मा रहेका दलहरू त्यसमा पनि प्रमुख प्रतिपक्षसँग छलफल, सल्लाह गर्ने र समझदारी गर्ने भन्ने प्रधानमन्त्रीको सोच छ । भरसक सबै विषयहरूमा प्रतिपक्षी दलसँग छलफल गरेर अगाडि बढ्नुपर्छ भन्ने उहाँको सोच रहेको छ ।’

पछिल्लो समय प्रधानमन्त्रीले संसद् र संसद् बाहिरका कतिपय राजनीतिक विषयमा संसद्मा रहेका दलहरूसँग समझदारी गरेर अगाडि बढ्न खोजेको नेम्वाङको भनाइ थियो । ‘राज्य सञ्चालन गर्दा सत्तापक्ष र प्रतिपक्षबीच साझा सहमति आवश्यक हुन्छ, त्यही साझा सहमति खोज्न छलफल भएको हो’, उनले भने, ‘संसद् सञ्चालनदेखि राजनीतिक नियुक्तसम्म सबै सहमतिका आधारमा गर्ने सहमति भएको छ ।’ प्रधानमन्त्री ओलीले आउँदा दिनमा पनि पार्टी भित्रैका नेताहरूसँग छलफल अगाडी बढाउने बालुवाटार स्रोतले जानकारी दिएको छ ।

विशेषगरी माघ १५ गतेदेखि बोलाइएको केन्द्रीय कमिटी बैठकका विषयमा नेताहरूसँग परामर्श गर्ने तयारीमा जुटेको बताइएको छ । पार्टी एकताभएपछि पहिलो पटक राष्ट्रिय सभा गृहमा नेकपाले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एकतालाई अनुमोदन गर्न बोलाएपछि पहिलो पटक बैठक आह्वान गरिएको हो । नेकपामा ४४५ जना केन्द्रीय सदस्य रहेका छन् । सौर्य दैनिकबाट