१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहीदका तस्विर साक्षी राखेर प्रतिबद्धता



अ+ अ-

सुर्खेत । एघार जना परिवारका सदस्य गुमाएका नवनिर्वाचित राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्मा गहभरि आँसु लिएर शनिबार बिहानै सुर्खेतबाट जाजरकोट आउनुभयो । सदरमुकाममा पार्टी कार्यकर्ताको फूलमालासमेत ग्राहण नगरी हतार–हतार भेरी नगरपालिका–१ रिम्नास्थित शहीद स्मृति भवनमा पुगेर शहीदका तस्विर साक्षी राखी मुट्ठी कसेर ‘तपाईंहरुको सपना मेरो मूलबाटो हो’ भन्दै कार्यकर्तासामु उपस्थित हुनुभयो ।

सदरमुकाम खलङ्गामा कार्यकर्ताको टीका र मालासमेत ग्रहण नगरी रिम्ना पुग्नुभएका शर्माले शहीदको तस्विरमा माल्यार्पण गरेरमात्र समर्थक, कार्यकर्ताको टीका तथा माला ग्राहण गर्नुभएको थियो । भेरी–१ मा मात्र जनयुद्धको समयमा ३५ जनाले ज्यान गुमाएका थिए । एकै वडाबाट दुई दर्जनभन्दा बढी मानिसको मृत्यु भएको नेपालकै पहिलो बस्ती रिम्ना र पिपे हो । जनयुद्धको समयमा जाजरकोटकमा ३०० भन्दा बढीले ज्यान गुमाएका थिए ।

सबै ज्यान गुमाएका शहीदको तस्विर रिम्नास्थित शहीद स्मृति भवनमा राखिएको छ । शहीद सम्झँदै रिम्ना पुग्नुभएका शर्माले एकै परिवारका सात आफन्त गुमाएकी ८२ वर्षीया अमृता खड्कासँग भेट गरेर शहीदको बाटो नभुल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । खड्काले शर्मालाई भन्नुभयो, “मेरो आफन्तले देखाएको बाटो र बाँकी कार्यभार पूरा गर्नु, मेरो अन्तिम इच्छा यही हो ।”

उहाँका यी वाक्य फुट्न नपाउँदै शर्माले गहभरि आँसु झार्दै भन्नुभयो, “मेरा आफन्त, हजुरका आफन्त सबैले लिएको बाटोमा लाग्ने र सफल बनाउने हजुरको चाहना अधुरो हुन दिन्नँ, मेरो सास रहुन्जेलसम्म शहीदकै बाटोमा लाग्ने छु ।” नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का कर्णाली प्रदेशका सचिवसमेत रहनुभएका शर्माले नेपालकै पहिलो जनयुद्धका शहीद मानबहादुर ओली र मानवबहादुर रावल भए पनि त्यतिबेला सूचना र सञ्चारको अभावले छुटेका बताउनुभयो ।

के चाहन्छन् रिम्ना–पिपेवासी ?

जनयुद्धमा ३५ आफन्त गुमाएका भेरी–१ रिम्ना र पिपेका स्थानीयवासीले शहीदको सपना पूरा गर्न आग्रह गरेका छन् । आफू बाँचेरमात्र हुँदैन, देश बचाउनु पहिलो सर्त भएको भन्दै रिम्नाका जयबहादुर रानाले भन्नुभयो, “देशमा हाम्रा आफन्तले गरेको बलिदानी खेर नजाओस्, हाम्रो पहिलो माग त्यही हो, कसैको माया र दयाले यो परिवर्तन आएको होइन, हाम्रा आफन्तको रगतको खोला बगेको छ ।”

जनयुद्धको समयमा बडालेखमा ४०० भन्दा बढी स्थानीयवासीको घरमा हेलिकोप्टरबाट बम हान्दा बस्ती खरानी भएको थियो । शान्ति स्थापनासँगै रिम्ना र पिपेलाई नमूना बस्ती बनाउने भन्दै तत्कालीन शान्ति तथा पुनःनिर्माणमन्त्री सत्य पहाडीकै पहलमा शान्तिका लागि द्वन्द्वरत कार्यक्रममार्फत विद्युत्, खानेपानी र अन्य आधारभूत सेवा उपलब्ध गराउने योजना बनाइएको थियो । अहिले यहाँका स्थानीयवासीको माग द्वन्द्वको घाउ मेट्नका लागि विकास र समृद्धि आवश्यक रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वडाध्यक्ष ढकवीर रानाले बताउनुभयो ।