१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनौठो गुफाको संरक्षण हुन सकेन



अ+ अ-

रामपुर । रामपुर नगरपालिकामा फेला परेको अनौठो प्रकृतिको गुफाको संरक्षण हुन सकेको छैन । गुफा फेला परेको लामो समय बितिसक्दा पनि संरक्षणको पहल हुन नसकेकामा स्थानीयवासीको गुनासो छ ।

रामपुर नगरपालिका–४ स्थित भुलादी खोलाको भुद्रुङ्गघाटमा फेला परेको अनौठो प्रकृतिको गुफाको अध्ययन–अनुसन्धान तथा संरक्षण नहुँदा स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । विसं २०७५ को वैशाख तेस्रो हप्ता फेला परेको अनौठो प्रकृतिको गुफा हेर्नेको धेरै मानिसको आकर्षण बढ्यो । गुफा फेला परेपछि अवलोकन गर्न जानेको भीड बढ्न थालेपछि रामपुर नगरपालिकाले सुरक्षा व्यवस्थालाई दृष्टिगत गर्दै गुफा बन्द गर्यो ।

स्थानीयवासीले बाहिरी भागमा सानो दुलो देखेपछि खोजी गर्ने क्रममा भित्र पसेर अनुसन्धान गरेपछि गुफा रहेको पत्ता लागेको हो । करीब १५० मिटर लम्बाइ रहेको गुफा फेला परेको स्थानीवासी दिनेश कुमालले सम्बन्धित निकायमा जानकारी दिएपछि यसप्रति धेरैको चासोको बढ्यो ।

गुफाभित्र शिवलिङ्ग, हात्तीका चित्र, शङ्ख, विभिन्न भगवान्का आकृतिहरु रहेका छन् । गुफाको भित्री भाग फैलिएकाले गुफाभित्र करीब एक हजार मानिस अट्ने क्षमता रहेको लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मी बताउनुहुन्छ । “म आफैँ गुफाभित्र पसेर अवलोकन गरे, त्यहाँ विभिन्न आकृतिका भगवान्का तस्विरहरु छन्, ओढारहरु, चमेराहरु छन्, पूरै गुफा अवलोकन गर्न करीब एक घण्टाको समय लाग्यो”, उहाँले भन्नुभयो ।

गुफा संरक्षण गरेर प्रशस्त आयआर्जन गर्न सकिने माध्यम भए पनि रामपुर नगरपालिकाले संरक्षणमा चासो नदिएको उहाँले बताउनुभयो । गुफालाई संरक्षण गरेर आयआर्जन बढाउन सक्ने प्रशस्त सम्भावना छ ।

गुफा फेला परेको लामो समय बितिसक्दा पनि नगरपालिकाले संरक्षणमा तदारुकता नदिएको स्थानीयवासी हमिद अलिमियाँ बताउनुहुन्छ । “गुफा सुरक्षित खालको छ कि छैन भनेर यससँग सम्बन्धित विज्ञ व्यक्ति बोलाएर अध्ययन–अनुसन्धान गर्न पटकपटक नगरपालिका कार्यालय तथा वडा कार्यालयमा अनुरोध गरिरहेका छौँ तर सुनुवाइ अहिलेसम्म हुन सकेको छैन”, अलिमियाँले भन्नुभयो ।

यस क्षेत्रमा विभिन्न साना–ठूला गरी करीब एक दर्जनको हाराहारीमा गुफाहरु छन् । अहिलेसम्म कुनै पनि गुफाको संरक्षण र प्रवद्र्धन हुन सकेको छैन । यिनै गुफाहरु संरक्षण गरेर नगरको आयस्रोत बढाउन सकिने भए पनि नगरपालिकाले यसतर्फ चासो नदिँदा आयस्रोत नै गुमिरहेको छ । अन्यत्र स्थानमा कृत्रिम ताल, गुफा निर्माण गरी पर्यटक भित्र्याउने होडबाजी चलिरहेको छ तर प्राकृतिक रुपमा रहेका ऐतिहासिक गुफाको महत्व र आयस्रोततर्फ नगरले संरक्षण र प्रवद्र्धनमा तदारुकता नदेखाउँदा ओझेलमा परेका छन् ।

रामपुर नगरपालिकाको गौरवको योजनामा यस गुफालाई समेटिएको वडा नं ४ का अध्यक्ष एकबहादुर नेपाली बताउनुहुन्छ । “गुफाको प्रवद्र्धन र पर्यटन विस्तारका लागि डिपिआर गर्ने भन्ने कुरा भएको छ तर अहिले प्रक्रिया अगाडि बढाइएको छैन, विज्ञसहितको टोलीले अध्ययन–अनुसन्धान गरेपछि मात्र प्रक्रिया अगाडि बढ्नेछ”, अध्यक्ष नेपालीले भन्नुभयो ।

विज्ञसहितको टोलीलाई नगरपालिकाले अवलोकनका लागि अनुरोध गरे पनि उनीहरुको समय अभावका कारण अनुसन्धान हुन नसकेको अध्यक्ष नेपालीको भनाइ छ । कालीगण्डकीको तट नजीकै रहेको यस क्षेत्रमा गुफा संरक्षण र प्रवद्र्धन गरेमा पर्यटक ठूलो सङ्ख्यामा भित्रिनेछन् । यहीँ गुफा नजीकै भगवान् रामचन्द्रले नुहाएको रामघाट पर्छ । यहाँ ऐतिहासिक धार्मिक लक्ष्मीनारायण मन्दिर छ ।

रामघाट क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदैछ । रामघाट अवलोकन तथा स्नान गर्न आउने पर्यटक गुफा अवलोकन गरेर फर्कने वातावरण नगरले मिलाउन सक्यो भने गुफाबाटै राम्रो कमाई गर्न सकिन्छ ।