काठमाडौँ। फुटबल मैदानमा हातमा झण्डा बोकेर अफसाइड र फलको निर्णय दिने फिफा सहायक रेफ्री मरिना धिमाल अब सशस्त्र प्रहरी बलको पोसाकमा पनि नयाँ दर्ज्यानी चिन्नसहित देखिने भएकी छन्।
सशस्त्र प्रहरी बल नेपालमा कार्यरत मरिना धिमाल आफ्नो निरन्तर मेहनत, अनुशासन र व्यावसायिक सफलताका कारण हवल्दार पदमा पदोन्नति भएकी हुन्।
पदोन्नतिपछि प्रतिक्रिया दिँदै मरिनाले यो सफलता कुनै संयोग वा छोटो बाटोबाट नआएको स्पष्ट पारेकी छन्। “धेरैलाई यो अचानक जस्तो लाग्न सक्छ, तर यो मेरो वर्षौँको त्याग, अनुशासन र कडा परिश्रमको परिणाम हो,” उनले भनिन्।
उनका अनुसार सन् २०२४ देखि २०२६ सम्मको अवधि उनको खेल जीवन र व्यावसायिक करियरका लागि ‘स्वर्ण युग’ सावित भएको छ।
मरिनाको संघर्षको कथा फुटबल मैदानको रेखाभित्र मात्र सीमित छैन। उनले सन् २०२४ मा फिफा सहायक रेफ्री (FIFA Assistant Referee) को मान्यता प्राप्त गरेपछि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान थप मजबुत बनाइन्। निरन्तरको मेहनत र कार्यकुशलताका कारण उनी एसियाली फुटबल महासंघ को ‘एएफसी एलाइट रेफ्री’ को प्रतिष्ठित सूचीमा समेत समावेश हुन सफल भइन्।
पछिल्लो दुई वर्षका प्रमुख उपलब्धिहरू:
• फिफा मान्यता: सन् २०२४ देखि २०२६ सम्म निरन्तर फिफा सहायक रेफ्रीको रूपमा सक्रिय
• एएफसी एलाइट रेफ्री: एसियाली फुटबलको उच्च तहको ‘एलाइट’ सूचीमा समावेश
• अन्तर्राष्ट्रिय अनुभव: छोटो समयमै ४ वटा ठूला एएफसी प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्दै नेपालको प्रतिनिधित्व
प्रहरीको कठोर ड्युटी र रेफ्रीको कडा शारीरिक प्रशिक्षणलाई एकैसाथ अघि बढाउनु मरिनाका लागि सहज थिएन। झिसमिसेमै अभ्यास मैदानमा पसिना बगाउनु, व्यक्तिगत सुख–सुविधा त्याग्नु तथा निरन्तर वैदेशिक भ्रमणका बाबजुद पेशागत मर्यादा कायम राख्नु नै उनको सफलताको मुख्य आधार बनेको छ।
नेपाली फुटबल र सशस्त्र प्रहरी बल दुवैका लागि मरिना धिमाल आज प्रेरणादायी व्यक्तित्वको रूपमा स्थापित भएकी छन्। उनको यो पदोन्नतिले खेल क्षेत्रमा आबद्ध अन्य महिला सुरक्षाकर्मीहरूका लागि पनि नयाँ उत्साह, ऊर्जा र आत्मविश्वास थपेको छ।











