१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसका कारण भ्रमण वर्षको लक्ष पूरा नहुने खतरा



अ+ अ-

काठमाडौँ । आजका दिनसम्मको तथ्यांक हेर्दा चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ८० पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले झण्डै दुइ हजार ७४४ जना सङ्क्रमित भएको बताएका छन् । साथै संक्रमितहरुको संख्या अरु धेरै जना छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार चीनमा यस प्रकोपका कारण राष्ट्रिय संकटकै अवस्था सिर्जना हुदैछ ।

सङ्क्रमितमध्ये ४६१ जनाको अवस्था गम्भीर रहेको आइतबार अबेर राती सो आयोगले जनाएको छ । गत २४ घण्टायता ७६९ जना नागरिकमा यो भाइरसको सङ्क्रमण देखिएको छ । त्यसैगरी ३ हजार ८०६ जनालाई पनि यसको सङ्क्रमणको आशङ्का गरिएको आयोगले जनाएको छ । यस कोरोना भाइरसबाट निको भएर एक हजार भन्दा बढी व्यक्ति अस्पतालबाट घर फर्किएका पनि उक्त समाचारमा जनाइएको छ । घर फर्र्किएकाहरुलाई पनि विशेष निगरानीमा राखिएको छ । उक्त सङ्क्रमणको उत्पत्ति भएको उहान क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

सङ्क्रमणको प्रकोप चीनका कम्तीमा २५ प्रान्तमा फैलिएको छ भने कम्तीमा १८ शहरमा निकै डरलाग्दो तरिकाले फैलिएकाले ती सहरहरुमा यातायातका साधन सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ । ती क्षेत्रमा विभिन्न किसीमले सतर्कता अपनाइएको चीन सरकारले जनाएको छ । सरकारले देशभर हुने उडान, रेल सेवा र अन्य सवारीका साधनहरुको आवतजावतमा निगरानी बढाएको र उच्च सतर्कताका अपनाउन आह्वान गरेको छ ।

तर दुखको कुरा के भएको छ भने यस भाइरसको संक्रमणका कारण नेपालले लिएको भ्रमण वर्षको लक्ष्य पूरा नहुने संकेत देखिएको छ । यतिखेर चीनबाट नेपाल मात्र नभएर अरु देशमा जाने पर्यटकलाई पनि विशेष निगरानी गर्न थालिएको छ । जसका कारण उनीहरु हिँडडुल पनि गरेका छैनन् । अत्यावश्यक कामबाहेक चिनियाँहरु अहिले विदेश गएका छैनन् । उनीहरु नेपाल पनि कमै मात्र आएका छन् ।
नेपालले यस वर्ष नेपाल भ्रमण वर्ष मनाइरहेको छ । हामीले यस वर्ष कम्तीमा पनि २० लाख पर्यटक भित्र्याउने लक्ष लिएका छौँ र सबैभन्दा बढी हामीलाई आशा लागेको पनि चिनियाँ पर्यटकबाट नै हो । किनभने गतवर्ष मात्र दुइ लाखभन्दा केही बढी चिनियाँ नेपाल आएका थिए । पछिल्लो समय लुम्बिनीप्रति चिनियाँलाई अकर्षित गर्न सके हामीलाई लक्ष्य भेट्न सजिलो हुन्छ भन्नेमा नेपाल सरकार ढुक्क छ । चीनबाट आउने पर्यटक संख्या बढ्दो पनि रहेकाले यसलाई आशालाग्दो अवस्था पनि भन्न सकिन्छ ।
साढे दुई अर्ब जनसंख्याका दुई ठूला देशको बीचका हामीले राखेको लक्ष्य २० लाख मात्र हो । यसका लागि आवश्यक दिनमा ५ हजार ४८० जना पर्यटक भित्र्याउन गाह्रो होइन । दश लाख पर्यटक त भित्र्याउने लक्ष्य त हामीले सन् २०११ मै राखेका थियौँ । ग्लोबल टाइम्स् पत्रिकाले सन् २०२० पछि नेपालमा धेरै पर्यटक बढ्ने हालै लेखेको छ । नेपालबारे खोजी गर्ने चिनियाँको संख्या पहिले भन्दा १३ प्रतिशत बढेको उसको तर्क छ । यो आँकडा हेर्दा नेपालले गरेको ३ लाख चिनियाँ भित्र्याउने लक्ष्यभन्दा बढी नै आउने देखिन्छ । तथ्य सबैले बुझ्नु जरुरी छ । अनि हरप्रकारको समृद्धिको मूल आधार सडक हो भनेर बुझ्न झनै जरुरी छ ।
गतवर्ष चिनियाँ राष्ट्रपति सि चिनफिङ नेपाल भ्रमणमा आएका थिए । त्यस्तै चिनियाँ विदेशमन्त्री पनि आए । उनीहरुको भ्रमणपछि नेपालमा चिनियाँ पर्यटकको संख्या पनि बढ्दै छ । तर पछिल्लो पटक चीनमा देखिएको यो भाइरसका कारण भने नेपालमा चिनियाँ पर्यटक आउन नसक्ने खतरा बढेको छ ।