१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

जसले नेपाली उत्पादनलाई युरोपभर चिनाए

जसले नेपाली उत्पादनलाई युरोपभर चिनाए
अ अ+ अ-

लिस्बन । पोर्चुगलको व्यस्त शहर । शहरको एक कुनामा नेपाली हस्तकला सामग्रीको ठूलो पसल । भित्तामा गौतम बुद्धको बडेमानको मूर्ति र नेपालको राष्ट्रिय झण्डा । नकिने पनि किनौंँ झैंँ लाग्ने गरी लहरैसँग झुण्ड्याइएका नेपाली हस्तकलाका सामाग्री । परदेश भए पनि काठमाडौँको ठमेल, बौद्ध र स्वयम्भू क्षेत्रको झल्को दिने गरी हातले बनाएका अनेकौंँ सामग्री जसले एकातिर नेपालको प्रचार गरेको छ भने अर्कातिर प्रवासमा नेपालीको शान बढाएको छ ।

पोर्चुगलको राजधानी लिस्बनस्थित रोसियो पर्यटकीय क्षेत्र हो जहाँ दैनिक हजारौंँ स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गर्छन् । त्यही क्षेत्रमा काभ्रेपलाञ्चोक कटुन्जेबेंसीका शम्भु गौतम नेपाली हातले बनाएका कलात्मक वस्तुको प्रचारमा हुनुहुन्छ । लामो समयदेखि पोर्चुगलमा बस्दै आउनुभएका गौतमले नेपाली ढाका टोपी, बुद्धको प्रतिमा, नेपाली तानबाट बुनेका स्वेटर, पश्मिना, तयारी पोशाक, काष्ठकला, धातुकला, नेपाली कागज लगायत सामग्री देखाएर पर्यटकलाई नेपालप्रतिको आकर्षण बढाउनुभएको छ । काठमाडौंँको ठमेलबाट व्यापार आरम्भ गर्नुभएका गौतमले पोर्चुगलमा मात्रै नभई युरोपभरि नै नेपाली हस्तकलाका सामग्री पु¥याउनुभएको छ । “ठमेलबाट हस्तकलाका सामाग्रीको व्यापारलाई मैले यूरोपभरि फिँजाएको छु” गौतमले भन्नुभयो, “नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाइरहँदा हस्तकलाका सामग्रीमार्फत नेपाल चिनाउने मेरो लक्ष्य पूरा गर्नेछु । ” गौतमका अनुसार देवीदेवताको मूर्ति, थान्का, पश्मिना, अल्लोबाट निर्मित कपडा, झोलालगायत सामग्री पर्यटकको रोजाइमा पर्ने गर्दछन् । भारतले हस्तकलाका सामग्री निर्यातमा अनुदानको व्यवस्था गरिरहँदा नेपाल सरकारले चासो नदिएको प्रति उहाँको गुनासो छ ।

ठमेलदेखि पोर्चुगलसम्म
विसं २०५० देखि व्यापार आरम्भ गर्नुभएका गौतमले हिजोआज आफ्नो सम्पूर्ण समय नेपाली हस्तकलाका सामग्रीको प्रचारमा बिताउनुभएको छ । ठमेलमा १८ वर्ष व्यापार गर्नुभएका उहाँ स्वदेशभित्रै सम्भावना हुँदा हुँदै पनि नेपाली सामानको प्रचारका लागि फ्रान्स, इटाली, स्पेन र जर्मनीलगायत देशमा समेत पुगेको बताउनुहुन्छ । “नेपाली कला, सीप र पूँजीबाट निर्मित सामग्रीलाई यूरोपमा स्थापित गराउने क्रममा विगत ११ वर्षदेखि पोर्चुगलमा स्थायी रुपमा बसेको छु”, उहाँले भन्नुभयो, “नेपाली हस्तकलाका सामग्रीलाई युरोपभर चिनाएर नेपालको शान राख्ने मेरो रहर पूरा भएको छ ।” गौतमले अहिले पोर्चुगलमा ‘प्योर क्राफ्ट नेपाल’ र ‘एचएण्डजी’ नामक दुई कम्पनीमार्फत नेपाली हस्तकलाका सामग्रीको प्रचार र बिक्री गर्नुभएको छ । उहाँलाई परिवारका अन्य सदस्यले साथ दिँदै आएका छन् । “युरोपमा हस्तकलाका सामग्रीको उच्च माग छ तर सरकारले हस्तकलाका सामग्रीलाई खासै प्राथमिकतामा नराखेकोले यसको गुणस्तरमा कमी हुँदै गएको छ”, उहाँले थप्नुभयो, “विदेशी मुद्रा आर्जन गर्न नेपाल सरकारले पनि व्यवसायीलाई सहयोगका साथै हौसला दिनुपर्छ ।”

‘मेड इन नेपाल’
नेपालमा बनेको जुनसुकै हस्तकलाको सामान भए पनि ‘मेड इन नेपाल’ देख्नेबित्तिकै पर्यटकले किन्ने गरेको गौतमको भनाइ छ । उहाँका अनुसार विदेशीले नेपाली सामानप्रति सहानुभूति राख्ने गर्छन् । पोर्चुगलका लागि नेपाली पर्यटन दूत रमेश गुरुङ पनि नेपाली हस्तकलाका सामग्रीको प्रचार आवश्यक रहेको बताउनुहुन्छ । “नेपालमा भ्रमण वर्षको सरगर्मी बढिरहेका बेला नेपाली हस्तकलाका सामग्रीको प्रचार अति नै आवश्यक छ”, उहाँले भन्नुभयो, “सरकारले हरेक देशमा ‘नेपाल हाउस’ सञ्चालनमा ल्याउने हो भने नेपाली सीप र पूँजीबाट निर्मित हस्तकलाका सामग्रीको प्रचार हुनेछ ।” विदेशीले पश्मिना, देवीदेवताका मूर्ति, काष्ठकलाका सामग्री र कपडामा रुचि राख्ने गरेको उहाँ जानकारी दिनुहुन्छ ।

गुणस्तरहीन सामग्रीको बिगबिगी
नेपाली हस्तकलाका सामग्रीले विश्वभरका विदेशी नागरिकको मन जितेको छ । यसैले पनि होला नेपालबाट हस्तकलाका सामाग्रीको निर्यातको दर विस्तारै बढेको छ । पछिल्लो समय गुणस्तरहिन सामानको उत्पादनले विश्वबजारमा असर पर्न थालेको प्रति गौतम चिन्तित हुनुहुन्छ । “पर्यटकहरु नेपालको नेचुरल सामग्री खोज्छन् । त्यसपछि पुरातात्विक वस्तु खोज्छन्”, उहाँले भन्नुभयो, “छिटो कमाउने धन्दाले बजारमा गुणस्तरहीन सामाग्रीको बिगबिगी छ । यसप्रति सरकार र सम्बन्धित निकाय चनाखो हुनु आवश्यक छ ।” उत्पादनको गुणस्तर खस्किए स्वदेशी र विदेशी बजार ठप्प हुने उहाँको तर्क छ । विदेशीले मूल्यमा भन्दा पनि गुणस्तरमा ध्यान दिने हुनाले गुणस्तरीय सामान उत्पादनमा नेपाल हस्तकला महासङ्घले ध्यान दिनुपर्नेमा व्यवसायी गौतम जोड दिनुहुन्छ ।

काठमाडौंँको वसन्तपुरमा विदेशी पर्यटकले हस्तकलाका सामान खरीद गरेको देखेपछि प्रभावित गौतम सन् १९९६ देखि हस्तकला व्यवसाय शुरुआत गरिएको बताउनुहुन्छ । उत्पादनदेखि निर्यातका क्षेत्रमा काम गर्नुभएका उहाँ नेपालमा चलेको द्वन्द्वकालीन समयका कारण युरोपतर्फ लाग्नुभएको थियो । “द्वन्द्वका कारणले ठमेलको व्यापारमा मन्दी आउन थाल्योे । त्यसपछि हस्तकलाका सामान लिएर विदेश जान थालेंँ । विदेशी ग्राहकको अर्डरअनुसार सामान लैजान्थेंँ”, उहाँले भन्नुभयो, ‘व्यवसायकै क्रममा मैले सन् २०१२ देखि पोर्चुगलमा ४० लाख यूरोको लगानीबाट व्यवसायको शुरुआत गरेंँ । अहिले नेपालबाट वार्षिक दुईदेखि तीन कन्टेनर हस्तकलाका सामग्री पोर्चुगल लगेर युरोपभरि बिक्री गर्दै आएको छु ।” गैरआवासीय नेपाली सङ्घ पोर्चुगलको उपाध्यक्ष भएर समाजसेवामा पनि उत्तिकै सक्रिय गौतम प्रवासमा रहेर पनि नेपाली सामानलाई युरोपभरि चिनाउन पाएकामा गौरव गर्नुहुन्छ ।