२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वर्षमा तीन सयको उद्धार



अ+ अ-

कपिलवस्तु । सीमा क्षेत्रमा क्रियाशील रहेका सङ्घसंस्थाले मानव बेचबिखनलाई कमी ल्याउन सकेका छैनन् । कपिलवस्तुको सीमा क्षेत्र कृष्णनगर नाका हुँदै भारतमा नेपाली युवतीको ओसारपोसार तथा बेचबिखन हुने गरेको छ । चन्द्रौटा हुँदै भारत प्रस्थान गर्ने सडकमा जाँच र परामर्श हुने गरेको छ ।

गत वर्षको तुलनामा दोब्बर सख्यामा उद्धार गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा आव २०७५÷७६ मा तीन मानव बेचबिखनसम्बन्धी मुद्दा दर्ता भएका छन । सोमा दुई मुद्दा फछ्र्योट भएका छन् । चालू आर्थिक वर्षका छ महिनामा दुईवटामात्र मुद्दा दर्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपशमशेर जबराले बताउनुभयो । आव २०७४/७५ मा सीमा क्षेत्रमा रहेका शान्ति पुनःस्थापनागृह र आफन्त नेपाल संस्थाले १७९ को उद्धार गरिएको थियो भने ०७५/७६ मा २८९ लाई उद्धार गरेको जनाएका छन् ।

कृष्णनगरबाट भारत जाने दुई गेटमा जाँच हुने गर्दछ । महिला तथा शङ्कास्पद देखेमा उनीहरुलाई सोधपुछ गर्ने गरिएको छ । युवतीलाई विभिन्न प्रलोभनमा पारी भारत हुदैँ तेस्रो मुलकसमेत लैजाने गरेको पाइएको छ । करीब १५ देखि ३० वर्ष उमेर समूहका महिला र बालबालिका बढी जोखिममा रहेका शान्ति पुनःस्थापना गृहका जिल्ला संयोजक भूमि भट्टराईले बताउनुभयो । संस्थाको नेतृत्वमा भारतका विभिन्न ठाउँबाट १० नेपाली नागरिकको उद्धार गरेको उहाँले बताउनुभयो ।

कृष्णनगर हुँदै जाने महिला गाउँस्तरका रहेकाले दाङ, प्यूठान, रोल्पा, अर्घाखाँची, गुल्मीलगायत जिल्ला बढी जोखिममा रहेका उहाँले बताउनुभयो । स्थानीय तहले मानव बेचबिखन नियन्त्रणका लागि कुनै योजना बनाएका छैनन् । शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारूले महिलालाई सचेत बनाउनुपर्ने बताउनुभयो । बेखबिखनको मुख्य कारण बेरोजगारी रहेको भन्दै नगरपालिकाले सीपमूलक तालीमलाई जोड दिएको उहाँको भनाइ छ । बेचबिखनमा संलग्न दलालले खुला सिमाना रहेको पश्चिमका नाका प्रयोग गर्दै आएका छन् ।