१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

पाँच वर्षसम्म पुल निर्माण अधुरैः स्थानीयवासी समस्यामा

पाँच वर्षसम्म पुल निर्माण अधुरैः स्थानीयवासी समस्यामा
अ अ+ अ-

दार्चुला । महाकाली लोकमार्गअन्तर्गत खलङ्गाको धौलीगाड खोलामा निर्माणाधीन मोटरेबल पुल पाँच वर्षसम्म पनि अधुरै छ । स्थानीयवासीसँग मुआब्जा विवादका कारण रोकिएको पुल निर्माण कार्य अधुरै रहेको हो ।

२०७१ असार ३० गते पुल निर्माणका लागि आशिस कन्ट्रक्शन धनगढीसँग कूल रु दुई करोड ३२ लाख सात हजार लागतमा निर्माण सम्झौता भएको थियो तर पुल निर्माणको एकापट्टि आधा पिलर बनेपछि मुआब्जा विवाद भएको थियो । पुल निर्माणस्थलको एकापट्टि स्थानीयवासीको पाँच आना जमिन परेको छ । पुल बन्ने ठाउँमा परेको जमिनको उचित मुआब्जा नदिँदा स्थानीयवासीले काममा अवरोध गरेका थिए तर अहिलेसम्म पुल निर्माण गर्न र मुआब्जा विवाद समाधानतर्फ सरोकारवाला निकायले चासो नदिएको जग्गाधनी हर्कबहादुर ठगुन्नाले बताउनुभयो ।

विसं २०७० को महाकाली बाढीपछि सोही क्षेत्रका स्थानीयवासीले मुआब्जा दर झण्डै रु ४६ लाख पाएका थिए । पछिल्लो समय पुल निर्माणको क्रममा मुआब्जा आधा कम गर्दा स्थानीयवासीले मुआब्जा लिन अस्वीकार गर्दै पुल निर्माणमा अवरोध गरेका हुन् । उचित मुआब्जा नपाएको भन्दै जग्गाधनी स्थानीय हर्कबहादुर ठगुन्ना र विष्णुराम हुम्लीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सर्वोच्च अदालतले ०७३ माघ ५ गते जग्गाको पुनःमूल्याङ्कन गरेर मुआब्जा दिन फैसला सुनायो तर सर्र्वोच्चले दिएको फैसलाअनुसार हालसम्म सरकारले मुआब्जा दिन तयार नभएको जग्गाधनी ठगुन्नाको आरोप छ । उहाँले भन्नुभयो, “हामी मुआब्जाकै लागि जिल्ला अदालत, पुनरावेदन अदालत हुँदै सर्वोच्च पुगेका हौँ, तर सम्मानित अदालतले गरेको फैसलाअनुसार हालसम्म कार्यान्वयन भएको छैन । जग्गाको पुनःमूल्याङ्कन समयसापेक्ष हुनुपर्छ ।”

पच्चीस मिटर लम्बाइमा निर्माण गरिने पुल निर्माण नहुँदा अहिले पनि उक्त क्षेत्रमा खोलाबाटै गाडी आवतजावत हुँदै आएको छ । जग्गाको उचित मुआब्जा दिन माग गर्दै स्थानीयवासीले पटकपटक सरोकारवाला निकायमा धाउँदै आएका छन् । “पाँच वर्षसम्म पनि सरकारले हेर्दैन”, ठगुन्नाले भन्नुभयो, अब चाडो मुआब्जा नपाए सडक बन्द गर्नुको विकल्प छैन ।

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल सर्वोच्चको आदेशानुसार जग्गाको मूल्य पुनःनिर्धारण गर्ने सम्बन्धमा सडक डिभिजन कार्यालय पाटन बैतडीका प्रमुखसँग छलफल भइरहेको बताउनुभयो । पहिलेका कार्यालय प्रमुखको सरुवा भएको रहेछ । अहिले नयाँ कार्यालय प्रमुख काठमाडौँमा भएको कारण केही ढिलाइ भएको हो । एक साताभित्र डिभिजनल प्रमुखलाई जिल्ला बोलाएर छलफल गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । सम्भव भएसम्म शुक्रबारसम्म बैठक बसेर टुङ्ग्याउँछौँ, उहाँले भन्नुभयो ।

सडक डिभिजन पाटन बैतडीका प्रमुख रमेश चौधरी पुलको बारेमा प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर निकास निकालिने बताउनुभयो । विगतदेखि काम रोकिएको रहेछ, यो विषयमा जिल्ला पुगेर छलफल गर्छौं । जिल्ला दररेट निर्धारण समितिले पुनःमूल्याङ्कन गरेर सिफारिस पठाए हामी मुआब्जा दिएर रोकिएको पुल निर्माण कार्य अघि बढाउँछौँ, उहाँले भन्नुभयो ।

मुआब्जा विवादका कारण रोकिएको पुल निर्माणको जिम्मेवारी पाएको ठेकेदारसमेत आफ्नो काममा ढिलाइ भएको भन्दै पटकपटक समाधान गर्न आग्रह गर्दै आएको छ । दार्चुला सदरमुकाम खलङ्गा नजिकै पुल निर्माण नहुँदा बर्खायाममा सर्वसाधारण र सवारीसाधन सञ्चालनमा समस्या हुने गरेको छ । ०७० पछि बाढीले बगाएको सबै क्षेत्रमा तटबन्ध निर्माण भइसक्दा पनि त्यो क्षेत्रमा पुल निर्माणमा भइरहेको ढिलाइले स्थानीयवासीलाई समस्या परेको छ ।