१९ भाद्र २०८३, शुक्रबार
,
Latest
माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा आगन्तुक जलपन्छीको सङ्ख्यामा वृद्धि



अ+ अ-

चितवन। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा हिउँदे आगन्तुक जलपन्छीको सङ्ख्यामा वृद्धि भएको छ ।

यही पुस २४, २५ र २६ गते गरिएको गण्नाअनुसार ६२ प्रजातिका जलपन्छी भेटिएका छन् । गत वर्षको गणनामा ५५ प्रजातिका आगन्तुक जलपन्छी भेटिएका थिए ।

गत वर्षभन्दा यस वर्ष सात प्रजातिका चराहरू थपिएका हुन् । जसमा तिलरी चरा, कुर्मा मलाहा चिल, लामो ठूडे राजपुत्रीका रहेका छन् । जलपन्छी गणनाका क्रममा आगन्तुक चराहरू भने घटेका छन् । गत वर्ष आठ हजार ८६ सङ्ख्या देखिएकामा यस वर्ष पाँच हजार ८४८ मात्र देखिएका हुन् ।

नेपाल पन्छीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार चखेवा यस वर्ष दुई हजार ७४० रहेको छभने अघिल्लो वर्ष चार हजार १०७ रहेको उहाँले जानकारी दिनुभयो । जलकौवा र पानी गौँथली क्रमशः ५०८ र २०९ रहेको छ । गत वर्षको गणनामा जलकौवा ४५६ र पानी गौथली २५० रहेका थिए ।

चखेवाको सङ्ख्या एक हजार ३६७ ले घट्नु चुनौतीका रूपमा रहेको पाइएको उहाँले बताउनुभयो । मानवीय चाप, प्रदूषण र मिचाहा प्रवृत्तिको उपस्थिति थप चुनौतीका रूपमा रहेको उहाँले बताउनुभयो ।

चरा गणनामा ७० जना चरा विज्ञहरू सहभागी थिए । लोथर खोलाबाट, जिन्दगानीघाट, सौराहा, ढुङ्ग्रे खोला, कसरा पुल हुँदै राप्ती नदीमा चरा गणना गरिएको हो । नरायणी नदी, माडीको रिउ खोला, बाटुलीपोखरी, कुमाल ताल, टिकौली ताल, सत्रहजारी ताल र नहर क्षेत्र, निकुञ्जभित्रका लामिताल, तमोर ताल, पटना ताल, भण्डाराको मत्स्यपालन केन्द्र, बुढी राप्तीको चित्रसारी पुलबाट राप्ती दोभानसम्म गणना गरिएको हो ।

बर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष विजय गिरीका अनुसार राप्ती नदीको घडगाईबाट गोलाघाटसम्म, नारायणीको पूर्वी भङ्गला, नारायणीकै गाँजापुरबाट गोलाघाटसम्म र दिव्यनगरका घोल एवं फाँटमा समेत गणना गरिएको हो ।

बर्ड एजुकेशन सोसाइटी, नेपाल पन्छीविद् सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनको सहकार्यमा गणना गर्न गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पैदल, डुङ्गाको सहायता र गाडीबाट चरा गणना गरिएको हो ।

बाइनाकुलार क्यामेरा, जिपिएस, साउण्ड रेकडरलगायतका प्रयोग गरी चराको गणना गरिएको हो । सङ्घका अध्यक्ष बिडारीका अनुसार देशभर ९०४ प्रजातिका चरा पाइन्छन् भने चितवनमा ६६२ प्रजातिका चरा पाइन्छन् । नेपालमा सन् १९८७ बाट चरा गणना थालिएको हो । यो वर्ष ६०औँ पटक गणना गरिँदै हो ।

नेपालमा जलपन्छी ठूलो सङ्ख्यामा चीनबाट आउने गर्दछन् । मङ्गोलिया, रुसको दक्षिणी भाग, साइबेरीया, मध्य एसियालगायतका ठाउँबाट धेरै चरा आउँछन् भने पूर्वी युरोपबाट निकै कम चरा आउने उहाँले जानकारी दिनुभयो ।

चिसो छल्नका लागि चराहरू यहाँ आउने गरेको बिडारीले बताउनुभयो । चराको रङ, शरीरको बनोट, आवाज हेरेर र सुनेर गणना गर्ने गरिएको छ ।