१९ भाद्र २०८३, शुक्रबार
,
Latest
माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मार्फामा हिउँचितुवाको आक्रमणबाट १७ वटा भेडा मरे



फाइल फोटो
अ+ अ-

मुस्ताङ। जिल्लाको घरपझोङ गाउँपालिका-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको कार्यालय पछाडि रहेको स्थानीय सन्तोष परियारको खोरमा हिउँचितुवाले आक्रमण गर्दा १७ वटा भेडा मरेका छन् ।

आज बिहान परियारको भेडाच्याङ्ग्राको खोरमा हिउँचितुवा पसेर आक्रमण गर्दा १७ वटा भेडा मरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ ।

परियारको परम्परागत खोरको कच्ची ढोकाको बार तोडेर हिउँचितुवा पसी भेडामाथि आक्रमण गरेको एक्यापका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार यसबाट परियारलाई करिब रु पाँच लाखको नोक्सान भएको अनुमान छ ।

एक्याप कार्यालयका अनुसार परियारको यसअघि गत मङ्सिर २६ गते पनि हिउँचितुवाले पशुधनमाथि आक्रमण गर्दा १९ वटा च्याङ्ग्रा मरेका थिए । त्यसबाट उहाँलाई करिब रु छ लाखको नोक्सान भएको थियो । पीडित परियारले २०० बढी भेडाच्याङ्ग्रा पालन गरेको बताउँदै उक्त घटनापछि च्याङ्ग्राको बथानबाट भेडाको बथान छुट्याएर अन्यन्त्र स्थानान्तरण गरिएको जानकारी दिनुभयो । सारिएको गोठमा पनि कमजोर पूर्वाधार भएकाले हिउँचितुवा खोरमा पसेर पशुधनमाथि क्षति पुर्याएको कार्यालय प्रमुख गुप्ताले बताउनुभयो ।

घटनापछि एक्यापका कर्मचारी घटनास्थलको निरीक्षण तथा आवश्यक अनुसन्धान गर्न तथा क्षतिको विवरण सङ्कलन गर्न परियारको खोरमा पुगेका छन् । परियारको खोरमा हिउँचितुवा वा चितुवाले आक्रमण गरेको भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ ।

करिब ३५ दिनको फरकमा भएका आक्रमणबाट परियारका ३६ वटा भेडाच्याङ्ग्रा मरेका छन् । एक्याप कार्यालयले पीडित पशुपालकलाई वन्यजन्तु क्षति राहत निर्देशिकाबमोजिम क्षतिपूर्तिको राहत रकम उपलब्ध गराउने आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ ।

मुस्ताङमा हिउँचितुवासहित अन्य वन्यजन्तु तथा भुस्याहा कुकुरको जोखिमले पशुपालन गरी बसेका किसानले दुःख पाउँदै आएका छन् । पशुधनको सुरक्षित बासस्थानका लागि भरपर्दो पूर्वाधार नहुने भएकाले पशुपालकले सुरक्षित खोर सुधारतर्फ ध्यान दिनुपर्नेमा एक्यापले जोड दिएको छ ।

पछिल्लो समय हिउँचितुवा र मानवबीचको द्वन्द्वले स्थानीय पशुपालन व्यवसाय सङ्कटमा पर्दै गएको एक्यापका प्रमुख गुप्ताले बताउनुभयो । हिउँचितुवा र मानवबीचको सहअस्तित्व निर्माण हुनेगरी दिगो र सुरक्षित संरचना निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका उच्च लेकमा घाँसको अभाव हुँदा आहारा प्रजाति बस्तीतर्फ झर्ने र आहारको खोजीमा मानिस तथा घरपालुवा पशुमाथि आक्रमण हुने गरेको एक्यापले जनाएको छ । रासस