५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष महाधिवेशन जारी, केन्द्रीय समिति स्थगित, दुवैपक्ष आफ्नै अडानमा, कांग्रेस विभाजन उन्मुख



अ+ अ-

काठमाडौँ: नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि बिहान सम्मका लागि स्थगित भएको छ । बिहान ८ बजे बस्ने गरी बैठक स्थगित भएको हो ।

सानेपामा अघि साँझ बसेको बैठक केही बेरमै भोलि बस्ने गरी स्थगित गरिएको थियो । बैठकको अध्यक्षता गरिरहेका कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्का अकस्मात बाहिरिएपछि अध्यक्षता धनराज गुरुङले गरेका थिए ।

उनले नै भोलि बिहान बस्नेगरी बैठक आह्वान गरेका हुन् । आजको बैठकमा पार्टीको विशेष महाधिवेशन पक्षधरका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मासहितका केन्द्रीय सदस्यहरु पनि गएका थिएनन् ।

सो बैठक महामन्त्रीद्धयलाई पार्टीबाट निष्कासन गर्नका लागि आह्वान गरिएको भनिएपछि यता विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा जम्मा भएका महाधिवेशन प्रतिनिधिहरुले भने चाँडै निर्वाचन गरेर पार्टी सभापति चयन गर्न भन्दै दबाब दिएका थिए ।

आइतबारदेखि भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशनमा बहुमत प्रतिनिधिहरूको सहभागिता रहेको आयोजकको दाबी छ । बन्दसत्रले कार्यविधिसँगै महामन्त्रीद्वयको प्रस्तावहरू पारित गरेको छ भने पुरानो निर्वाचन समिति भंग गरी नयाँ निर्वाचन समितिले काम थालेको छ ।

यसरी निर्वाचन गर्दा पुरानो केन्द्रीय कार्य समिति भंग हुने र नयाँ निर्माण हुने प्रावधान छ । यसो गर्दा सभापति शेरबहादुर देउवा र संस्थापन पक्षका धेरै नेताहरु बाहिर पर्ने निश्चित छ ।

त्यसैले वार्ताबाट मिलाउने भन्दै आज दिउँसो बसेको संस्थापन र विशेष महाधिवेशन पक्षका वार्ता समितिबीच भएको वार्ता निष्कर्षमा पुग्न सकेन । सो वार्तामा सभापतिबाट शेरबहादुर देउवाले राजीनामा दिनुपर्ने अडान विशेष महाधिवेशन पक्षधरका सदस्यले राखेपछि वार्ता विना निष्कर्ष टुंगिएको थियो ।

वार्तामा रहेका एकजना सदस्यका अनुसार कुरा मिल्न मुस्किल देखिएको छ । पार्टी सभापति देउवा राजीनामा दिने पक्षमा नरहेका र यता विशेष महाधिवेशन पक्षले यसैलाई वार्ताको बटम लाइन बनाएकाले सहमतिको सम्भावना निकै झिनो रहेको ती सदस्यले जनाए ।

यसकारण पार्टी अब अब लगभग विभाजनको संघारमा पुगेको उनको भनाई छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समर्थन रहेको विशेष महाधिवेशनको तेस्रो दिन नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता सुरु भइ सकेको छ ।

धेरै महाधिवेशन प्रतिनिधिहरुले यसै विशेष महाधिवेशनबाटै नयाँ नेतृत्व चयन गर्नुपर्ने भन्दै नाराबाजी र दबाब सिर्जना गरेका छन् । यसकारण पनि सहमतिको सम्भावना क्षीण बन्दै गएको हो ।

उता संस्थापन पक्ष भने पछिल्लो समय निकै लचिलो भएको छ । विशेष महाधिवेशनलाई अपनत्व लिने विषयमा सभापति देउवा र संस्थापन पक्षीय धेरै नेता सहमत भए पछि फेरि वार्ताका सदस्यहरुले सभापतिको राजीनामाको माग नै अघि सारेका छन् ।

सहमतिका लागि दिनभरी जसो द्धिपक्षीय एवं त्रिपक्षीय छलफल जारी छ । तर पनि कुरा मिल्न सकेको छैन । यता साँझतिर विशेष महाधिवेशनको हलभन्दा बाहिरबाट हुने निर्णय नमान्ने भन्दै प्रतिनिधिहरुले होहल्ला गर्न थालेका छन् ।

यसैबीच आज राति पनि वार्ता गर्ने दुवै पक्षले जनाएका छन् । तर संस्थापन पक्ष भने वार्तामा बस्न तयार भए पनि सभापतिको राजीनामालाई बटम लाइन बनाएर कुनै निकास ननिस्कने बताइरहेको छ । त्यसैले रातिको वार्ताबाट पनि निकास निस्कन मुस्किल रहेको देखिएको छ ।