काठमाडौँ । नेपाली काँग्रेसको हालै सम्पन्न १४ औँ महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका डा शेखर कोइरालाको वरियताको विषय यतिखेर एकथरीले मिडियामार्फत् उठाएका छन् । यस विषयमा स्वयं शेखर पनि बोलेका छन् र भनेका छन् आफूलाई मतदाताले दिएको मत नै बरियता हो ।
सभापति शेरबहादुर देउवाले उनलाई पार्टीको केन्द्रीय समितिमा २०औं नम्बरको वरियता दिएका छन् तर उनले चित्त बुझाएका छैनन् । उनको भनाई यो छ कि आफूलाई पार्टीका महाधिवेशन प्रतिनिधिले सभापतिमा देउवापछि धेरै मत दिएकाले आफ्नो वरियता पनि यतैतिर हुनुपर्छ ।
उनी १३औं महाधिवेशनमा ३५औं वरियतामा रहेका थिए भने अहिले देउवाले २०औंमा ल्याएर न्याय नै गरेका छन् भन्छन् पार्टीका पुराना नेताहरु । वरियताको इतिहास हेर्दा सभापति देउवाले पनि तत्कालीन १०औं महाधिवेशनमा गिरिजाबाबुसँग प्रतिस्पर्धा गरेका थिए तर वरियतामा दोस्रो थिएनन् ।
पार्टीका पुरानै नेता देउवा किसुनजीपछि थिए । त्यसैगरी १२औं महाधिवेशनमा सुशील कोइरालासँग पराजित भएका देउवा त्यसअघि नै कांग्रेसमा वरिष्ठ नेताको भूमिकामा थिए । किनभने तत्कालीन नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिकका बीचमा एकीकरण हुँदा गिरिजाबाबुपछिको वरियतामा देउवालाई राखिएको थियो । त्यतिमात्र नभएर गिरिजाबाबुले त आफूपछिको पार्टी सभापतिका रुपमा देउवालाई नै अघि सारेर वरिष्ठ नेताको वरियता दिई दोस्रोमा राखेका थिए ।
उता नेता रामचन्द्र पौडेल १३औं महाधिवेशनमा देउवासँग पराजित भएका थिए तर कांग्रेसमा सक्रिय राजनीति गरिरहेका नेताहरुमध्ये उनी नै वरिष्ठ थिए । किनभने त्यतिबेलाको विधानमा पनि वरिष्ठ नेताको व्यवस्था थियो र देउवा सभापति भएपछि पौडेलको वरियता दोस्रो स्वभाविक रुपमा भएको थियो ।
१४औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका शेखर कांग्रेसमा कांग्रेसको क्रियाशील सदस्यता लिएकै दुई दशक भएको छैन । जबकी अहिलेको कांग्रेसको कार्यसमितिमा नवौं महाधिवेशनदेखि केन्द्रीय सदस्य भएका र पाँच दशकदेखि क्रियाशील सदस्य लिएकाहरुको संख्या धेरै छ । डा शेखर डाक्टरी पेशा छोडेर काँग्रेसको राजनीतिमा प्रवेश गरेको पनि धेरै भएको छैन ।
वरियताको मापन सभापतिमा प्रतिस्पर्धा गरेका कारण होइन, कांग्रेस पार्टीभित्रको पदीय जिम्मेवारीले निर्धारण हुने गरेको परम्परा हो भन्ने माथिका घटनाले पुष्टि गर्छ । त्यसकारण शेखर र शेखरका समर्थन तथा उनको गुटले वरियतामा गुनासो गर्नुको अर्थ छैन काँग्रेसकै पुराना नेताहरु । विधानत उनी केन्द्रीय सदस्य भएकाले पार्टीमा पदाधिकारीभन्दा माथि हुने कुरा पनि भएन । यसअघि महामन्त्री भइसकेका डा शशांक कोइरालाभन्दा उनी माथि हुने कुरा पनि भएन । त्यसैले यो एक रोइलो मात्र हो ।
यता सामाजिक सञ्जालमा अर्काे एउटा रोइलो पोखिएको देखिन्छ डा आरजु देउवाले आरक्षणमा केन्द्रीय सदस्यको । उनले महिला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको विषयमा प्रश्न गरिएको छ । जबकी उनी लोकप्रिय मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भइसकेकी छिन् । तर पार्टीमा महिला, दलित, जनजातिलगायत धेरै समुदायको आरक्षणको पनि व्यवस्था रहेकाले त्यसको व्यवस्थापन गर्ने काम पार्टीको हो । सोही विधान र प्रावधानअनुरुप उनी उठिन र केन्द्रीय सदस्यमा जितिन् ।
तर यो कुनै लाभको पद अर्थात् सरकारी पद लिएको नभएर पार्टीमा निर्वाचन उठेको विषय हो र त्यो पनि पार्टीमा रहेको विधानको व्यवस्था अनुसार नै उनी निर्वाचनमा उठेकी हुन् । त्यो पनि अरु कुनै ठूलो पद नभएर पार्टीको केन्द्रीय सदस्य पद थियो ।
यो त भयो सरकारी ओहदाको नभएर पार्टीभित्रको व्यवस्थाको कुरा । तर नेपालमा आरक्षणका कारण सरकारी पदको दुरुपयोग त कम्युनिष्टहरुले नै बढी गरेका छन् । तर त्यस्तोमा भने कसैले पनि कुरा उठाउँदैन । जस्तो कि एमालको अहिलेका महासचिव शंकर पोखरेलले आफ्नी श्रीमती सुजिता शाक्यलाई जनजातिको आरक्षणबाट सांसद बनाएका छन् । पोखरेलकी श्रीमतीले कसरी जनजातिको आरक्षणबाट सांसद हुन मिल्छ ? अर्कातर्फ माओवादीका नेता देव गुरुङकी श्रीमती यशोदा सुवेदीले भने गुरुङको कोटाबाट पहिले समानुपातिकमा सांसद नै पाइन् । आरक्षणका नामको यो भन्दा ठूलो ज्यादति अर्काे के होला ? तर पनि त्यतिबेला कसैले कुरा उठाएनन् । तर आरजुको केस यस्तो कदापि होइन । उनी आफू समानुपातिकमा सांसद नबसेर संसदको निर्वाचनमा पनि प्रत्यक्ष उम्मेदबार नै बनिन् । पार्टी सभापतिका रुपमा शेरबहादुर देउवाले नै टिकट बाँडेका बेला उनलाई त्यो सुविधा पनि त थियो नि । तर उनी त्यो सुविधामा बसिनन् । बरु हारिन् तर प्रत्यक्ष चुनावमै उठिन् । अहिले आरक्षणको कुरा उठाउनेले यसबेला पनि त्यो कुरा उठाएनन् ।
पार्टीको १४ औँ महाधिवेशनका क्रममा डडेल्धुराको अधिवेशनमा पनि यही अहिलेकै समूहले विवाद उत्पन्न गरेको थियो । त्यतिबेला पनि शेरबहादुर देउवाका छोरा जयबीर देउवालाई डडेल्धुराबाट प्रतिनिधि ल्याउन खोजियो भनेर निकै विवाद गराइयो । यहाँसम्म कि शेखर कोइरालाकै नेतृत्वमा पार्टीका केन्द्रीय नेताहरु नै त्यहाँ गए र देउवाका विरुद्धमा सभा नै गरे । जबकी जयबीर पार्टीमा प्रतिनिधि बनाइएकै थिएनन् । कसैले हल्ला चलायो र विरुद्धमा प्रचार मात्र गरियो । यदि ल्याएकै भए पनि बेलायतबाट स्नातकोत्तर गरेको २५÷२६ वर्षको एकजना युवाले पार्टीमा सक्रिय भएर राजनीति गर्छु भन्दा दिँदा नै पार्टीलाई फाइदा हुने हो नि । तर त्यो पनि हुन सकेन ।
तर त्यस लगत्तै आखिर नेताका छोराहरु एकाएक प्रतिनिधि भएरै आए । यता प्रकाशमान सिंहको छोरा आए भने उता खुमबहादुर खड्काको छोरा । त्यस्तै नेताहरुका अरु पनि परिवार त आएका छन् नि । त्यो विषय कतै विवादको विषय बनेन । उता डडेल्धुरामै पुगेर देउवा विरोधी सभा गर्नेले पनि यता अरु नेताका छोरा आउँदा पनि भन्ने कुरा त केही भएन आखिर । उता डडेल्धुरामा मात्र विवाद उत्पन्न गर्न खोजिएको थियो भन्ने कुरा आखिर पछि आएर प्रमाणित नै भयो । त्यसैले यही समूहले नै यता मिडियामार्फत् शेखर कोइरालाको वरियताको कुरा उचालेको छ भने उता आरजुको आरक्षणको विषयलाई सोसियल मिडियामार्फत् नियतबस प्रचारमा ल्याएको छ । यी दुवै केवल विवाद मात्र उत्पन्न गर्ने बेतुकका कुरा मात्र हुन् ।










