काठमाडौं । बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईं सुटुक्क प्रशासनमा हाजिर भएर छुटेका छन् । मानहानी सम्बन्धी कसूरमा फरार रहेका मेडिकल कलेज सञ्चालक प्रसाईं बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय भक्तपुरमा हाजिर भएका हुन् ।
हाजिर भएपछि लगतै उनलाई साधारण तारेखमा छाड्न भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आदेश दिएकी छन् ।
मेडिकल कलेजको सम्बन्धन दिनका लागि २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए ।
निवेदनमाथि कारबाही गर्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरले २ माघमा बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।