२० आश्विन २०८१, आईतवार
,
Latest
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँपालिकामा छैन एम्बुलेन्स



अ+ अ-

ललितपुर । स्थानीय तह गठन भएको तीन वर्ष हुनलाग्दा समेत वाग्मती गाउँपालिकाभित्र एउटा पनि एम्बुलेन्स सञ्चालन भएको छैन । यहाँका जनताले बिरामी पर्दासमेत एम्बुलेन्स उपभोग गर्न नपाएको पटकपटक गुनासो गर्दै आएका छन् ।

वडा नं ६ आश्राङ् निवासी ६१ वर्षीय मानबहादुर बोम्जन तामाङले गाउँमा कोही बिरामी पर्दा जीप बोलाएर रु आठ देखि १० हजार तिरेर चापागाउँ अस्पताल लैजानुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो । गाउँपालिकाभित्र हुने बिरामीको समस्या समाधान गर्न एम्बुलेन्स खरीदका लागि गत वर्ष नै आफू लागिपरेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिनुभयो । अबको एकदेखि डेढ महिनामा एम्बुलेन्स गाउँपालिकामा भित्र्याउने उहाँले जानकारी दिनुभयो । गाउँपालिकाभित्र करीब छ हजार जनसङ्ख्या रहेको छ ।

यसैगरी कोञ्ज्योसोम गाउँपालिकाले केही समयअघि रु १४ लाख तिरेर एउटा एम्बुलेन्स खरीद गरेको गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्ताङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो गाउँपालिकाभित्र लगभग १० हजार जनसङ्ख्या रहेका छन्, कोञ्ज्योसोमबाट चापागाउँ अस्पताल आउन थोरैमा पनि १५ किलोमिटर पार गर्नुपर्ने भएकाले हालसम्म एउटा एम्बुलेन्स भए पनि बिरामीलाई राहत नै भएको छ ।”

करीब १२ दिनअघिमात्रै महाँकाल गाउँपालिकामा एउटा एम्बुलेन्स भित्रिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको सहयोगमा एम्बुलेन्स महाँकालमा भित्र्याइएको गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले बताउनुभयो । लामो समय एम्बुलेन्सविहीन रहेको सो गाउँपालिकाबाट पाटन अस्पताल आइपुग्न ६५ किलोमिटर पार गरेर बिरामीका आफन्तले भाडामा सवारीसाधन लिएर आउनुपर्ने समस्याको अन्त्य केही दिनअघि मात्र भएको छ ।