१० असार २०८३, बुधबार
,
Latest
अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन निकुञ्जमा पहिलो भागको बाघ गणना सकियो



फाईल फोटो
अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा यही पुस ३ गतेदेखि सुरु भएको बाघ गणना जारी रहेको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर गाणना गरिँदैछ भने पहिलो भागको गणना भने सकिएको छ ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार पहिलो भागको गणना सकेर क्यामेरा उठाउने काम सुरु गरिएको छ । उहाँले भन्नुभयो, “शनिबारदेखि क्यामेरा उठाउने काम सुरु भएको छ । सोमबारसम्ममा पहिलो भागको क्यामेरा उठाउने काम सम्पन्न हुन्छ ।” उहाँका अनुसार यही पुस १ र २ गते तालिम दिएका १५० जना गणकहरू गणनामा खटिएका छन् ।

त्रिवेणी, अमलटारी, कसरा, हुँदै बरण्डाभार क्षेत्रलाई पहिलो भाग बनाएर गणना गरिएको सूचना अधिकारी मगरले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो भागअन्तर्गत यस क्षेत्रमा २८६ वटा ग्रिड बनाएर गणना गरिएको छ । क्यामेरा उठाएपछि दोस्रो भागमा क्यामेरा जडान गरी गणना सुरु गरिने छ ।

दोस्रो भागमा १३ वटा क्याम्प बनाएर गणकहरू खटिने निकुञ्जका सूचना अधिकारी मगरले बताउनुभयो । यस भागअन्तर्गत सौराहा, खगेन्द्रमल्ली हुँदै लोथर प्रतापपुर, हुदै, बोटे सिमारा, स्वमेश्वर, बगइ, अम्बुवा हुँदै सिकारी बाससम्मको क्षेत्रमा क्यामेरा जडान गरेर गणना गरिने छ ।

“सो भागलाई ३३६ ग्रिडमा विभाजन गरेर बाघ गणना गरिने छ”, उहाँले भन्नुभयो, “एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखिने छ ।” थापाका अनुसार एउटा भागमा दुई साता क्यामेरा राखेर बाघ गणना गरिने छ ।

चितवन–पर्सा ब्लकमा ९५८ वटा ग्रिड बनाएर बाघ गणना गरिँदै छ । यसको अर्थ दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिँदै छ ।

तीन महिना लगाएर बाघ गणना गर्न लागिएको सूचना अधिकारी मगरले उल्लेख गर्नुभयो । हरेक चार वर्षमा बाघ गणना गरिँदै आइएको छ । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंमसेवी, विद्यार्थी र संरक्षणका साझेदारहरू गणनामा सहभागी भएका छन् । ग्रिडहरूको बीचभाग पर्ने ठाउँमा गणना गर्ने प्राविधिक क्याम्प खडा गरेर बस्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

गणकहरूले भूगोल अनुसार आठदेखि बाह्रसम्मको ग्रिडमा राखिएका क्यामेरा दैनिक अनुगमन गर्ने सूचना अधिकारी मगरले जानकारी दिनुभयो । “ग्रिडबाट क्यामेरा निकालेपछि अध्ययन थालिने छ । बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेरा राखिने छ । ती क्यामेराले बाघको फोटो खिच्ने गर्दछ”, उहाँले भन्नुभयो ।

बाघको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने उहाँले बताउनुभयो । उहाँका अनुसार हरेक बाघको पाटा फरक–फरक हुने गर्दछन् । “पहिलो कम्प्लेक्स (क्षेत्र) यो हो भने दोस्रो कम्प्लेक्स बाँके र बर्दीया राष्ट्रिय निकुञ्जलाई बनाइएको छ । त्यहाँभित्र पनि तीन वटा ब्लक हुनेछन् । तेस्रो कम्प्लेक्स शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझण्डी हुनेछ । यो एउटै ब्लक बनाइने छ”, उहाँले भन्नुभयो ।

यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वटा वयस्क बाघ रहेका तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा एक सय २८, बर्दिया निकुञ्जमा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएका थिए ।