१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौलिकताका लागि चेतना जगाउँदै मनाइयो राष्ट्रिय पोसाक तथा टोपी दिवस



अ+ अ-

काठमाडौँ। प्रत्येक वर्ष जनवरी १ तारिखका दिन मनाइने राष्ट्रिय पोशाक तथा टोपी दिवस आज देशभर मौलिकताका लागि चेतना जगाउँदै विभिन्न कार्यक्रमसहित मनाइएको छ ।

दिवस मनाउने क्रममा मुख्य सहरमा राष्ट्रिय पोसाक तथा टोपी लगाएर प्रदर्शन गरिएको थियो । विसं २०७० पुस १७ गते काभ्रेपलाञ्चोकको बनेपामा केही युवाको सक्रियतामा सुरु भएको अभियानले अहिले देशव्यापी स्वरुप ग्रहण गरेको छ । यो दिवस पछिल्लो समय राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाललगायत संस्थाको नेतृत्वमा मनाउन थालिएको छ ।

दिवसका अवसरमा पुरुषले दौरा, सुरुवाल र महिलाले गुन्यू, चोली लगाएर प्रदर्शन गरेका थिए । दिवसका कार्यक्रममा पछिल्ला वर्षहरुमा सहभागिता बढ्न थालेको प्रतिष्ठानका अध्यक्ष राजानन्द बजगाईं माण्डव्यले बताउनुभयो । पोसाकसँगै देशका सबै मौलिक संस्कृतिको संरक्षण गरिनुपर्ने अभियानमा लागेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले हाल करिब चार दर्जन जिल्लामा शाखा विस्तार गरेको जनाएको छ । वेषभूषा, भाषाशैली एवं संस्कृतिका लागि सबै नेपाली मौलिक हुनुपर्ने लक्ष्यका साथ यो अभियान चलाइएको प्रतिष्ठानले जनाएको छ । यो १३औँ पोसाक तथा टोपी दिवस हो । विश्वभर फैलिएका सबै नेपालीलाई समेट्दै दिवसलाई अन्तरराष्ट्रिय नामकरण गरेको जनाइएको छ ।

पश्चिमा संस्कृतिले गाँज्दै गएपछि जनवरी १ तारिखकै दिन यो दिवस मनाउन थालिएको प्रतिष्ठानले जनाएको छ । राष्ट्रवादको नारा लगाउनेले नै नेपाली संस्कृतिलाई पन्छाउने गरेकाले चेतनामूलक जागरणका लागि यो दिवसले योगदान गर्ने विश्वास लिइएको छ । रासस