४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ

जेनजी सहिद : दुई पुस्ताको विद्रोह, जनयुद्धदेखि जेनजी आन्दोलनसम्म…

जेनजी सहिद : दुई पुस्ताको विद्रोह, जनयुद्धदेखि जेनजी आन्दोलनसम्म…
अ+ अ-

किमाथाङ्का (सङ्खुवासभा), १५ पुसः यहाँको सिलिचोङ गाउँपालिका–३ का बालकिशोर कुलुङ मुलुकको व्यवस्था र अवस्था बदल्न तीन दशकअघि माओवादी विद्रोहमा सामेल हुनुभएको थियो । २०५२ साल फागुन १ गतेदेखि सुरु भएको ‘जनयुद्ध’मा क्रान्तिको विगुल फुक्दै हिँड्नुभएका कुलुङले करिब एक दशक माओवादी आन्दोलनको अग्रमोर्चामा बिताउनुभयो ।

मुलुकमा गणतन्त्र आएपछि केही परिवर्तन होला भन्ने उहाँलाई लागेको थियो । त्यसपछिका दुई दशकमा भित्ताको पात्रो फेरिने बाहेक जनताले महसुस गर्ने परिवर्तन कुलुङले देख्न पाउनुभएन । मुलुकमा बढ्दो भ्रष्टाचार, अनियमितता र कुशासनको ग्राफ उस्तै गरी बढ्यो ।

त्यसो त उहाँ भूमिगत राजनीतिक यात्रालाई विराम लगाउँदै पारिवारिक जीवनमा फर्किनुभयो । राजनीतिक परिवर्तन सफल भए पनि जनताको अवस्थामा सोचेजस्तो परिवर्तन नहुँदा क्रान्ति पुनः जन्मिन्छ भन्ने उहाँलाई लाग्ने गथ्र्यो । भइदियो पनि त्यस्तै । आफूले लडेर ल्याएको राजनीतिक परिवर्तनको जगमा आफ्ना सन्तानले कुनै न कुनै दिन फेरि समृद्धिको ढोका उघार्लान् भन्ने अटल विश्वास थियो उहाँमा ।

सायद कुलुङको रगतमै चेतनाको बीज पोखिएको हुनुपर्छ । मुलुकको बिग्रँदो अवस्था देखेर कुलुङका छोराहरु पनि निकै चिन्तित देखिन्थे । सामाजिक सञ्जालमा हुर्किएको र विश्वपरिवेश बुझेका युवा पुस्ता मुलुकको पछिल्लो अवस्थाप्रति सन्तुष्ट थिएनन् । मुलुकमा बढ्दो भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, निष्क्रिय पारिएको सामाजिक सञ्जाल सक्रिय पार्नुपर्ने, जनताप्रति सरकारको जवाफदेहीतालगायत माग राख्दै जेनजीले गत भदौ २३ गते भद्र विरोध प्रदर्शन आयोजना गरे ।

सो आन्दोलनमा बालकिशोरका माइला छोरा प्रविण पनि होमिनुभयो । प्रवीणलाई लाग्यो राजनीतिक पविरर्तनमा बुबाको योगदानलाई संस्थागत गर्न पनि आफू आन्दोलनमा होमिनुपर्छ । त्यसपछि मात्र मुलुकमा आर्थिक समृद्धि स्थापना गर्न सम्भव हुन्छ ।

भदौ २३ गते प्रविण र उहाँका भाई मौसम दुवैजना विरोध प्रदर्शन क्षेत्रमा सहभागी हुनुभयो । प्रदर्शनस्थलमा एकाएक गोली चलेपछि दुवैजना सुरक्षित स्थलतर्फ लागे । कैयौँले आँखै अगाडि ज्यान गुमाए । त्यसदिन प्रविण र भाई मौसम दुवै जना सकुशल कोठामा फर्कनुभयो । तर अघिल्लो दिनको दृश्यले उहाँहरुलाई झनै छटपटी भयो । डरत्रासले रोकिने अवस्था रहेन । झनै आन्दोलनमा सहभागी हुने जोश पलायो । आन्दोलनमा राज्यपक्षबाट भएको बल प्रयोग र त्यसबाट भएको मानवीय क्षतिले दाजुभाईलाई नै मर्माहत बनायो । २४ गते बिहानै दाजुभाई पुनः आन्दोलमा सडकमा ओर्लिए ।

गौशालमा भएको आन्दोलनमा सुरक्षाकर्मीको गोली लागेर २१ वर्षीय दाजु प्रविण ढल्नुभयो । भाई मौसमले अन्य साथीको सहयोगमा अस्पताल पु¥याउँदा प्रविणले ज्यान गुमाइसक्नुभएको थियो । प्रविणको दायाँ छातीमा गोली लागेको थियो । भाई मौसमले दाजुको निधनको खबर लुकुवा गाउँमा रहेका आमाबुबालाई सुनाउनुभयो ।

ज्यान हत्केलामा राखेर देशका लागि लड्नुभएका बालकिशोरलाई छोरा सहिद भएपछि परेको पीडा मापन गर्ने कुनै यन्त्र छैन । “मैले पनि देशकै लागि भनेर लडेँ, छोरा पनि देशकै लागि सहिद भयो, अब कहिलेसम्म नेपालीले देशका लागि भनेर लडिरहनु पर्ने हो ?”, बालकिशोरले प्रश्न गर्दै भन्नुभयो, “देशमा आमूल परिवर्तन ल्याएर अब कसैले पनि बलिदानी गर्न नपरोस् ।”

लाउने खाने उमेरमा छोरो गुमाउनु परेपछि बुबा बालकिशोरका आँखा अझैँ ओभाएका छैनन् । बालकिशोर दम्पत्ति पुत्र वियोगको असह्य पीडामा छन् । प्रविणलाई सरकारले सहिद घोषणा गरिसकेको छ । तर, छोराको सपनाको पूरा हुन्छ कि हुन्न भन्ने चिन्ताले सधैँ बालकिशोरलाई सताउने गरेको छ । जेनजी आन्दोलनको नेतृत्व गरेकाहरु अहिले विभिन्न गुटमा विभाजित भएको देख्दा उहाँको मन खिन्न हुने गर्छ ।

सहिदका सपना पूरा गर्न सहिद परिवारबीचको एकता अपरिहार्य भएको बालकिशोरको भनाइ छ । “सहिदले उठाएको मुद्दा सम्बोधन र सपना पूरा हुनुपर्छ”, उहाँले भन्नुभयो, “राज्यले राहत दिने मात्रै होइन, सहिदका सपनापनि पूरा गर्नुपर्छ ।”

कोरिया जाने प्रविणको सपना

प्रविण एक वर्षअघि मात्र कोरियन भाषा पढ्न काठमाडौँ जानुभएको थियो । उहाँले भाषा परीक्षा पास गरेर कोरिया जाने र पारिवारिक समृद्धि भित्र्याउने योजना बनाउनुभएको थियो । जेनजी आन्दोलनमा प्रविणको निधन भएपछि बुबा बालकिशोर र आमा मालतीको सपना ढलेको छ ।

प्रविणका कान्छा भाइ मौसम भन्नुहुन्छ, “दाजुले जुन चाहनाले देशका लागि बलिदान दिनुभयो, सहिदको सपना पूरा गर्न सरकार र सम्बद्ध पक्षले ध्यान दिनुपर्छ ।”

प्रविणका बुबाआमा गाउँमै खेती किसान गर्दै आउनुभएको छ । सहिद कुलुङको गाउँ लकुवा सदरमुकाम खाँदबारीबाट एक दिनको पैदल दूरीमा पर्दछ । सरकारले सहिद घोषणा गरेपछि सिलिचोङ गाउँपालिकामा निर्माणाधीन अपर सङ्खुवा जलविद्युत् आयोजनाले उहाँको परिवारलाई एक लाख ७४ हजार ३०५ रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।

प्रविणको गत असोज १ गते सिलिचोङ–३ स्थित लकुवामा अन्त्येष्टि गरियो । मृत्यु भएको १० दिन पछि नेपाली सेनाको हेलिकोप्टरमार्फत विराटनगर हुँदै उहाँको शव सिलिचोङ ल्याइएको थियो । सिलिचोङ गाउँपालिकाको केन्द्र ताम्कुमा कुलुङको पार्थिव शरीरमा पालिका अध्यक्ष भूपालराज मेवाहाङले राष्ट्रिय झण्डा ओढाएर सम्मान अर्पण गर्नुभएको थियो । त्यसपछि कुलुङको शव यात्रासहित जन्म गाउँ लकुवामा लगेर अन्त्येष्टि गरिएको हो ।

बालकिशोरका छोरामध्ये प्रविण माइलो हुनुहुन्थ्यो । जेठो छोरा नेपाली सेनामा कार्यरत हुनुहुन्छ । लकुवामा २०६० असोज ९ गते जन्मिनुभएका प्रविणले गाउँकै सगरमाथा माध्यमिक विद्यालयबाट कक्षा १० र काठमाडौँको पुष्पलाल क्याम्पसबाट कानुन विषयमा कक्षा १२ उतीर्ण गर्नुभएको थियो । उहाँ हाल स्नातक तह पहिलो वर्षमा अध्ययनरत हुनुहुन्थ्यो ।

दुवै पुस्ता विद्रोही चेतले भरिएको कुलुङ परिवारको तेस्रो पुस्ताले भने देशका लागि बलिदानी दिनु नपरोस् भन्ने बालकिशोरका परिवारका अन्य सदस्यको चाहना छ । भविन कार्की/रासस