१८ असार २०८३, बिहीबार
,
Latest
राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमान्तकृत समुदायका लागि नीतिगत सुधारबारे बहस



oplus_2
अ+ अ-

काठमाडौँ। सीमान्तकृत तथा सामाजिक रूपमा बहिष्कृत समुदायको सशक्तीकरणका लागि आवश्यक नीतिगत सुधारबारे बहस गरिएको छ ।

आज मानवअधिकार तथा सामाजिक रूपान्तरण अभियान नेपाल (काहुरास्ट) ले नेपालका सीमान्तकृत तथा सामाजिक रूपमा बहिष्कृत समुदायको सशक्तीकरण गर्ने उद्देश्यसहित एल–टु–जी परियोजनाअन्तर्गत काहुरास्ट रिपोर्ट तथा समुदायको अभ्यास साझेदारी कार्यक्रम आयोजना गरेको थियो ।

सो कार्यक्रममा मानवअधिकार तथा सामाजिक रूपान्तरण नेपालकी महासचिव मीना तिवारीले शिक्षा, स्वास्थ्य, अपाङ्गता र जलवायु परिवर्तनलगायत क्षेत्र समेटेर तयार पारिएको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार अध्ययन सम्बन्धित समुदायले बुझ्ने सरल भाषामा सार्वजनिक गरिने जानकारी दिनुभयो ।

काहुरास्टका अध्यक्ष हुकुमप्रसाद पोख्रेलले सङ्घीय, प्रदेश तथा स्थानीय तहबाट सङ्कलित तथ्य तथा प्रमाणमा आधारित भएर अध्ययन तयार पारिएको स्पष्ट पार्दै प्रमाणमा आधारित बहसले सीमान्तकृत समुदायका वास्तविक समस्या उजागर गर्ने बताउनुभयो ।

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विकले राज्य प्रणालीका कमजोरी सच्याउन अध्ययनलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । विभेद अन्त्यका लागि नीतिगत सुधार अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले दलित आयोग यस प्रक्रियामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पूर्वमन्त्री तथा नेत्री सत्य पहाडीले अधिकार कागजमा सीमित हुनु गम्भीर चुनौती भएको उल्लेख गर्दै पछाडि पारिएका समुदायका हकअधिकार कार्यान्वयनका लागि नीति निर्माणकर्तालाई झकझक्याउन आवश्यक रहेको धारणा राख्नुभयो ।

गैरसरकारी महासङ्घका अध्यक्ष अर्जुन भट्टराईले राज्यबाट प्रदान गरिएका सेवाको प्रभाव मूल्याङ्कन र अनुगमनमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

मानवअधिकार आयोगका सहसचिव टीकाराम पोखरेलले मानवअधिकार संरक्षणका लागि संस्थागत सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा हलिया, सन्थाल, मुसहर, मुक्तकमैयालगायत समुदायको अवस्थाका आधारमा लक्षित वकालत अघि बढाउन आवश्यक रहेकोमा समेत जोड दिइयो ।

सामाजिक अभियन्ता गौरा नेपालीले हलिया मुक्तिका लागि विनियोजन गरिएको सरकारी बजेट फ्रिज हुनु दुःखद् भएको बताउँदै यसको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो ।

रिपोर्ट तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका डा प्रेमबहादुर थापाले यस अध्ययनले नीति निर्माण र कार्यान्वयनमा ठोस आधार प्रदान गर्ने बताउनुभयो । उहाँले कार्यक्रममा प्राप्त सुझावलाई समेटी प्रतिवेदन परिमार्जन गरी सार्वजनिक गरिने जानकारी दिनुभयो । रासस