काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारसम्बन्धी मुद्दामा सफाइ दिएको छ । सोमबार जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासमा महरालाई लागेको अभियोगबारे आइतबार अन्तिम सुनुवाइ भएको थियो।
यसअघि महराले आफूलाई जेल पठाउने जिल्ला अदालत काठमाडौंको फैसलाविरूद्ध पाटन उच्च अदालतमा निवेदन दिएका थिए। उच्च अदालतले जिल्लाको फैसलालाई सदर गरिदिएको थियो। उच्चले महिना दिनभित्र उक्त मुद्दाको अन्तिम टुंगो लगाउन पनि भनेको थियो।
असोज १२ गते राति महरा आएर पहिले रक्सी खाएको त्यसपछि बलात्कार प्रयास गरेको रोशनीले प्रहरीलाई भनेकी थिइन्।
‘प्रहरीलाई भनिदिन्छु’ भनेपछि महरा हतारहतार निस्किएको शाहीले भोलिपल्ट पत्रकार अजयबाबु सिवाकोटीसँगको भिडिओ अन्तर्वार्तामा पनि बताएकी थिइन्।
अदालतले सफाइ दिएसँगै महरा सोमबार नै जेलमुक्त हुने भएका छन् । पूर्वसभामुख महराले आफूमाथि बलात्कार प्रयासको आरोप लागेपछि असोज १४ गते राजीनामा दिएका थिए । जिल्ला अदालत काठमाडौंले गत कार्तिक १८ गते निवर्तमान सभामुख महरालाई बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।