काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईको दिनचर्या र जीवनस्तर ह्वात्तै बढेको छ । सरकारले मन्त्रीहरुको सम्पत्ति विवरण बुझाउनु नपर्ने र बिल सार्वजनिक गर्नु नपर्ने सहुलियत दिएपछि त अर्थोपार्जनमा कुनै अंकुश लाग्ने कुरा पनि भएन । उनलाई नजिकबाट चिन्नेहरुले भन्न थालेका छन् – सरकारमा जाँदा र बाहिर हुँदाका उनका अभिव्यक्तिहरुले समेत फेरिएको उनको जीवनशैली पुष्टी गर्दछ ।
डिल्लीबजार काठमाडौंको सनराइज बिज पार्कमा कार्यालय रहेका एमएस ग्रुपका डाइरेक्टर, नेपाल हस्पिटालिटी एन्ड होटल प्रालि र एभरेष्ट हस्पिटालिटी एन्ड होटल प्रालिका मेनेजिङ डाइरेक्टर तथा नागपोखरीस्थित होटल मारिएटका मालिक गौरव अग्रवाल र यति ग्रुपका मेनेजिङ डाइरेक्टर सोनाम छिरिङको संगत र कृपाले मन्त्री भट्टराईको आर्थिक हैसियत ह्वात्तै बढेको हो । मेरिएट होटलमा क्यासिनो संचालन लामो समयदेखि रोकिएको थियो । कारण विदेशी लगानीमा संचालित होटल र क्यासिनोमा कम्तीमा १ प्रतिशत स्वदेशी लगानीकर्ताको शेयर लगानी हुनुपर्ने कानुनी प्रावधानका कारण क्यासिनो संचालन हुन सकेको थिएन ।
प्रधानमन्त्री ओली मातहत मन्त्रालय हुँदा उक्त प्रावधान पूरा नगरेसम्म टाउको फुटाए पनि क्यासिनो संचालन हुन दिइएको थिएन । स्वदेशी लगानीकर्ता तयार भएपनि गौरव त्यो शेयर दिन तयार थिएनन् । तर योगेश मन्त्री भएदेखि नै गौरवको दौडधुपले तिब्रता पाएको थियो, र अहिले एकाएक क्यासिनो संचालनमा आएको छ । होटल क्यासिनो संचालनका लागि पर्यटन मन्त्रालयको स्वीकृति चाहिने नियम छ । नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा यति ग्रुपलाई दिलाउने विवादास्पद निर्णयमा समेत नाम जोडिएका योगेशले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई राजिनामा गराउन बाध्य बनाएका थिए ।
अहिले उक्त रिक्त स्थानमा यति ग्रुपकै सक्रियतामा निगमका पूर्व महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निगममा नियुक्ति दिलाउन सक्रिय रहेको पनि स्रोतको दाबी छ । हिजोआज मन्त्री योगेशलाई साँझ रंगिन बनाउन गौरव, कंसाकार, छिरिङ हरुको प्रतिस्पर्धा चलेको पनि मन्त्रीलाई २ मिनेट भेट्न नपाएका सर्वसाधारणको भनाई छ । उनीहरु मन्त्रीलाई भेट्नु भन्दा मन्त्रालयका कर्मचारीसँग भलाकुसारी गरेर फर्कने गरेका छन् ।
योगेशले याक एन्ड यतीको भुँइतलाको गोप्य कोठा र मेरिएटको १०औं तलामा कंसाकारसँग तथा बाँकी साँझहरु गोकर्ण रिसोर्टमा रमाइलो गर्ने गरेको कुरा प्रत्यक्षदर्शीको दाबी छ । योगेशका केही अघिसम्म साथ सहयोग र समाचार रिपोर्टिङमा सघाउँदै आएका एक पत्रकारको कथन छ, “योगेशजीकी श्रीमतीले यो राजनीति नगर अरु नै आयआर्जन हुने काम गर भनी दैनिक सुझाउने तर उनी भने पर्खन म माननीय हुन्छु अनि मन्त्री, त्यसपछि हेरौंला ।”