काठमाडौँ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीका प्रथम सभापति एवं पूर्व सांसद भागवत ज्ञवालीको निधन भएको छ । ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान उनको निधन भएको हो । स्वर्गीय ज्ञवाली विगत केही समयदेखि अल्सर रोगबाट पीडित थिए ।
भारतको दिल्लीमा उपचारपछि उनको ललितपुरको अल्का अस्पतालमा पुनः उपचार भइरहेको थियो । स्वर्गीय ज्ञवाली नेपाली काँग्रेस गुल्मीका एक अग्रज नेता थिए ।
२००१ साल कात्तिक १ गते जन्मिएका ज्ञवाली २०४८ सालको आम निर्वाचनमा तत्कालीन गुल्मी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा विजयी भएका थिए ।