काठमाडौंः राष्ट्रिय समाचार समितिको ५९ औँ वार्षिकोत्सवको अवसरमा रासस परिसरमा बुधबार आयोजित समारोहमा कर्मचारी विनियमावली सूचना तथा संचार प्रविधि मन्त्रालयमा २ वर्षदेखि थन्किएको विषयमा चर्को विरोध भएको छ । राससको व्यवस्थापनले मन्त्रालय र मन्त्रीसँग सुमधुर सम्बन्ध विकास नगरेका कारण समस्या अझ जटिल बनेको समितिमा क्रियाशील संघसंस्थाका प्रतिनिधिले गुनासो गरेका थिए ।
संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई प्रमुख अतिथि बनाएको समितिको व्यवस्थापन मन्त्री बास्कोटा एकाएक गोरखापत्रको कोहलपुर प्रकाशन गृहको उदघाटन गर्न नेपालगंजतर्फ लागेपछि हिस्रिक्क भएको थियो । कार्यक्रमको प्रमुख अतिथिका रुपमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई आमन्त्रण गर्नु परेपछि व्यवस्थापनसँग मन्त्री बेखुश रहेको छताछुल्ला भएको थियो ।
पहिलेदेखि नै मन्त्रीसँग सुमधुर सम्बन्ध विकास गर्न नसकेको गुनासो गर्दै कर्मचारी प्रतिनिधिहरुले अध्यक्ष अधिकारीलाई पदबाट हट्न वा विनियम ल्याउन धम्की नै दिएका थिए । तर अध्यक्ष अधिकारीले आफूसँग मन्त्रीको अत्यन्त निकट सम्बन्ध रहेको र विनियमका बारेमा मन्त्रालयमा पटकपटक कुरा राखेको प्रष्टीकरण दिनु भएको थियो ।
विशिष्ट अतिथिका रुपमा निम्त्याइएका सञ्चार सचिव दीपक सुवेदीले पनि संचार मन्त्रालयमा सरुवा भएर आएको अढाई महिना पुगेपनि राससको व्यवस्थापन आफूलाई भेट्न नआएको र विनियमका बारेमा पनि आफूलाई जानकारी नै नभएको बताउनुभएको थियो ।
समितिका अध्यक्ष अधिकारीले राससका धेरैवटा योजना भित्रभित्रै तयार भइरहेका र त्यसलाई सार्वजनिक छलफलमा ल्याउँदा समस्या हुने भएकोले टनेलमै राख्नु परेको र त्यसलाई उपयुक्त समयमा कार्यान्वयनमा ल्याउने बताउनुभयो । राससका महाप्रबन्धक ओपेन्द्र शर्माले समाचारको बैंक तथा मुहानका रूपमा स्थापित राससको सेवालाई आगामी दिनमा थप व्यवस्थित र प्रभावकारी बनाइने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका अध्यक्ष नारायणप्रसाद घिमिरेले सङ्घीय संरचनानुरुप राससको सेवा विस्तार गर्दै सेवालाई चुस्त र प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो । रासस कर्मचारी सङ्घका अध्यक्ष मनोज लामिछाने र एकीकृत राष्ट्रिय कर्मचारी सङ्गठनका संयोजक प्रेमप्रसाद उपाध्यायले कर्मचारीको दरबन्दीको संख्याका बारेमा विभिन्न मंचमा फरक फरक तथ्याँक दिने गरिएकाले त्यो पारदर्शी हुनुपर्ने, कर्मचारीको वृत्तिविकाससँग जोडिएको रासस विनियमावली २ वर्षदेखि मन्त्रालयमा अड्किएको र त्यसलाई जतिसक्दो चाँडो ल्याएर वृत्ति विकासका कार्यहरु अगाडि नबढाए व्यवस्थापन विरुद्ध जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिनुभयो ।
निजी क्षेत्रका दुई संस्था नेपाल संवाद समिति र सगरमाथा संवाद समिति एकापसमा गाभिएर विसं २०१८ फागुन ७ गते राससको स्थापना भएको थियो ।
दिलीप अधिकारी र प्रभाष झा सम्मानित
नेपाल पत्रकार महासंघले स्थापना गरेको पत्रकारिता पुरस्कार यस वर्ष कार्यकारी सम्पादक दिलीप अधिकारी र जनकपुरमा कार्यरत वरिष्ठ सम्पादक प्रभाषचन्द्र झालाई प्रदान गरिएको थियो । उक्त पुरस्कारको रकम जनही रु. १० हजार र प्रमाणपत्र रहेको छ ।