भक्तपुर। चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि खरिपाटीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयले जितेको छ । श्रीकृष्णले चौथो पटक उपाधि जितेको हो । उपाधिसँगै उसले रु एक लाख पुरस्कार र प्रमाणपत्र हात पारेको छ ।
चाँगुनारायण नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा एवं नगर खेलकुद विकास समितिको आयोजनामा ६ दिनसम्म चलेको प्रतियोगितामा श्रीकृष्ण माध्यमिक विद्यालयले १३ स्वर्ण, ११ रजत र एक कास्यसहित कूल २५ पदक जित्यो ।
प्रतियोगितामा नगरभित्रका सामुदायिक तथा संस्थागत गरी ३५ विद्यालयका छात्रछात्रा सहभागी थिए । प्रतियोगितामा कबड्डी, भलिबल, कराते, उसु, तेक्वान्दो, एथ्लेटिक्स, क्रिकेट, ब्याडमिन्टन र फुटसल खेलमा खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा चाँगुनारायण माध्यमिक विद्यालयले ७ स्वर्ण, एक रजत र ६ कास्यसहित १४ पदक जित्दै द्वितीय तथा ६ स्वर्ण, ५ रजत र ६ कास्य गरी १७ पदकसहित महेन्द्रग्राम माध्यमिक विद्यालय तृतीय भए । नगर प्रमुख जीवन खत्रीले उद्घाटन गरेर सुरु भएको प्रतियोगिताको समापन कार्यक्रममा उपप्रमुख रमेश बुढाथोकीले विजेतालाई शिल्डसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरे।
कार्यक्रममा चाँगुनारायण नगरबाट विभिन्न देशमा आयोजना भएको प्रतियोतिामा पदक जित्न सफल खेलाडी तथा प्रशिक्षक सुस्मिता तामाङ, करुणा राउत भारती, रघु केसी, पूजा खड्का र रोचक भारतीलाई जनही रु ५१ हजारसहित सम्मान गरिएको थियो। रासस










