भक्तपुर। बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान सुरु गरिएको छ ।
प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीको नेतृत्वमा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमसहितको टोलीले अभियानअन्तर्गत पहिलोपटक भक्तपुर अस्पतालको अनुगमन तथा निरीक्षणसँगै अस्पताल मातहतका स्वास्थ्यकर्मीसँग अन्तरक्रियासमेत गरेको छ ।
त्यस अवसरमा प्रमुखसचिव अधिकारीले प्रदेशभित्रका सबै अस्पताललाई जनसेवामैत्री, सुविधा सम्पन्न एवं उत्कृष्ट अस्पतालका रूपमा सेवा विस्तार गर्ने लक्ष्यका साथ अभियान सुरु भएको बताउनुभयो । त्यस क्रममा भक्तपुर अस्पतालको सेवा, बिरामी र कर्मचारीसम्म छलफल गरिएको उहाँले जानकारी दिनुभयो ।
वीर अस्पतालपछिको दोस्रो पुरानो यस अस्पतालमा भर्ना भएर सेवा लिइरहेका बिरामीको श्ययामा पुगेर प्रमुख सचिव अधिकारी, स्वास्थ्य सचिव डा गौतमलगायतको टोलीले स्वास्थ्य सेवा, सेवा प्रवाहको अवस्था, व्यवस्थापन र गुनासोबारे जानकारी लिएको थियो ।
प्रमुखसचिव अधिकारीले भन्नुभयो, “भक्तपुर अस्पताल देशकै उत्कृष्ट अस्पताल घोषणा भएको र यहाँको सेवा प्रवाह राम्रो रहेको सुन्दै आएका हौँ, यहाँको सेवा पनि राम्रै रहेछ । यस अस्पतालले थोरै जनशक्ति र सेवा सुविधाबाट पनि बिरामीलाई गणस्तरीय सेवा दिन सकिन्छ भन्ने उदाहरण पेस गरेको छ ।”
स्वास्थ्य सचिव डा गौतमले उपचारका लागि आएका बिरामीलाई सेवाबाट सन्तुष्ट बनाएर घर पठाउने गरी सेवा प्रवाहमा ध्यान दिन आग्रह गर्नुभयो । अस्पतालका लागि आवश्यक पूर्वाधार, उपकरण तथा जनशक्ति व्यवस्थापनमा मन्त्रालयबाट आवश्यक सहयोग हुने बताउँदै उहाँले अस्पताललाई तीन सय श्ययामा विस्तार गर्न नयाँ भवन निर्माणका लागि आवश्यक प्रक्रियासमेत अगाडि बढाएको जानकारी दिनुभयो ।
अन्तरक्रियामा अस्पतालका मेडिकल डाइरेक्टर डा सुरेन्द्र भट्टले समग्र सेवा सुविधा, जनशक्ति अवस्था, उपकरण तथा पूर्वाधारबारे जानकारी गराउनुभयो ।
अस्पताल विकास समितिका अध्यक्ष शशीजङ्ग थापाले गुणस्तरीय सेवा प्रदान गर्न कर्मचारी, स्वास्थ्यकर्मीलगायत सबैले सकारात्मक भूमिका निर्वाह गरिरहेको बताउनुभयो । उहाँले देशको दोस्रो पुरानो अस्पताल भएकाले यहाँ सेवा विस्तार तथा आवश्यक पूर्वाधारमा प्रदेशसँगै केन्द्रीय सरकारले पनि ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
त्यस क्रममा अस्पतालमा बिरामीको चापअनुसार जनशक्ति व्यवस्थापन, भवन तथा पूर्वाधारको व्यवस्था, कर्मचारीको सेवासुविधामा वृद्धि, अस्पतालका लागि आवश्यक स्रोतसाधन तथा सुधारबारे कर्मचारीहरूले गुनासो तथा सुझाव व्यक्त गरेका थिए ।
प्रमुखसचिव अधिकारीले प्राप्त सुझाव तथा गुनसालाई गम्भीरतापूर्वक लिँदै प्रदेश सरकारले स्वास्थ्य सेवा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखेर आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धतजा जनाउनुभयो । रासस










