७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिसोमा तातेको राजनीतिः जेनजी आन्दोलन, ओली देउवा भेट, सर्वपक्षीय बैठक र सेनाको स्पष्टोक्ति



अ+ अ-

काठमाडौं । पुस महिनाको चिसो मौसममा पनि आज मुुलुकको राजनीतिक घटनाक्रम भने रपक्कै तातेको छ । आज अकस्मात तीन राजनीनिक घटनाक्रम भए, जुन एक अर्कामा अर्थ र महत्व राख्ने खालका छन् ।

नेपाली सेनाले जंगी अड्डाबाट आज अकस्मात आफनो धारणा बाहिर ल्याउने गरी एक लेख सार्वजिनक गर्यो । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका नाममा प्रधान सेनापति अशोकराज सिग्देलको तस्बिरसहित प्राप्त सो लेखमा सेनाको स्पष्टिकरणको शैलीमा आफ्ना धारणा आएका छन् । जसमा जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान नेपाली सेनाले गरेको उल्लेख छ ।

सेनाले गत भदौको जेनजी आन्दोलन र त्यसपछि उठेका सेनाप्रतिका धारणाहरुलाई जवाफ दिने शैलीमा यो लेख मिडियाका लागि सम्प्रेषण गरिएको छ । सो लेखमा परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो संकट व्यवस्थापनमा सरोकारवालाबीच संवादको वातावरण बनाउन सहजीकरण गर्नु जिम्मेवार निकायको प्रमुख दायित्व नै भएको समेत स्पष्ट पारेको छ ।

तत्कालीन अवस्थाका बारेमा चर्चा गरिएको जंगी अड्डा लेखमा भनिएको छ, ‘संकटको घडीमा सेनाले गरेको संयोजन र संवादका सकारात्मक प्रयासमा समेत प्रश्नहरू आइरहेका छन् । सेनाले कुनै राजनीतिक एजेन्डा अघि सारेको छैन, न त सत्ता हस्तक्षेपको आकांक्षा देखाएको छ । जुन हाल विकसित परिस्थितिले उजागर गरेकै छ । यही तथ्य नै सेनाको लोकतान्त्रिक प्रतिबद्धताको प्रमाण हो ।’

उक्त लेखमार्फत् सेनाले संविधानको अक्षर र मर्म दुवैको पालना गरेको स्पष्ट गर्दै भनेको छ, ‘सेना संविधानप्रति निष्ठावान् छ, स्थापित सरकारको अधीनमा रही राष्ट्रिय एकता तथा राष्ट्रिय सुरक्षामा प्रतिबद्ध छ । तत्कालीन राजनीतिक शून्यताको अवस्थालाई अन्त्य गर्न सहजीकरण गरेको चाहिँ पक्कै हो । सेनामा यदि राजनीतिक महत्वाकांक्ष हुन्थ्यो भने, आज हामी यो अवस्थामा हुन्थ्यौँ र ?’

यता सेनाको यो स्पष्टिकरण आइरहेकै बेला माइतीघर मन्डेलामा भने जेनजीहरु जम्मा भएर सरकारका विरुद्धमा आन्दोलन गर्दै थिए । उनीहरु वर्तमान प्रधानमन्त्री सुशिला कार्कीको राजीनामा माग्दै थिए । मिराज ढुंगाना समूहका जेनजीहरुले आज प्रदर्शन गर्ने भएपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको थियो भने उता निजी विद्यालहरु समेत बन्द गराइएको थियो ।

भदौ २३ र २४ गते आन्दोलन गरेर तत्कालीन सरकारको राजीनामा मागेका उनीहरु झण्डै तीन महिनापछि फेरि यो सरकारको पनि राजीनामा माग्न थालेका हुन् । जेनजी आन्दोलनकै बलम बनेको वर्तमान सरकारले आगामी फागुन २१ का लागि निर्वाचको घोषणा गरेको छ तर त्यो निर्वाचन हुन नदिने जेनजीहरु नै बताउँदै छन् । उनीहरुले आजदेखि अब यो सरकार नढलेसम्म निरन्तर आन्दोलन गर्ने पनि घोषणा गरेका छन् ।

आजको आन्दोलनमा जेनजीहरुकै बीचमा द्धिपक्षीय भिडन्त समेत भएको थियो । यो घटनासँगै जेनजीहरु स्पष्ट रुपमै विभाजित भएको देखिएको छ । आगामी दिनमा जेनजीहरुकै बीचको विवाद र वैमनस्यले अर्काे समस्याको स्वरुप ननिम्त्याउला भन्न सकिँदैन ।

आजै प्रधानमन्त्री कार्कीले पनि सर्वपक्षीय बैठकको आह्वान गरिन् । बालुवाटारमा भएको सो बैठकमा पनि आज नयाँ परिस्थिति नै देखियो । जस्तो यसअघि कुनै पनि हालतमा चुनाव हुन्छ र गर्नुपर्छ भन्ने गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता बर्षमान पुनले पनि यदि फागुन २१ मा चुनाव भएन भने संसद पुनस्र्थापना हुने कुरा स्पष्टसँग राखे ।

संसद पुनस्र्थापनाको बाटोमा नेपाली राजनीति अघि बढेको चर्चा चलेको केही दिन भएको छ । सबै मिडियामा यो कन्टेन्टले ठाउँ पनि पाएको छ । यो तातेको राजनीतिकै बीचमा आज प्रधानमन्त्रीले सर्वपक्षीय बैठक आह्वान गर्नु र अबको राजनीतिक निकास के हुन सक्छ खुलेरै सुझाव दिनु भन्नुले पनि राजनीतिक निकासको अर्कै बाटोको संकेत गरेको हुनसक्छ ।

यी सबै घटनाक्रमहरुलाई रपक्कै तताउने काम त कांग्रेस सभापति शेरबहादु देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको आजको भेटले पनि गरेको छ । जेनजी आन्दोलनको तीन महिना पछि आज उनीहरुबीच दोस्रो पटक भेट भएको छ ।

अघिल्लो पटक करिब महिना दिनअघि उनीहरुबीच भेट भएकै भोलिपल्ट कांग्रेस पनि संसद पुनस्र्थापनाका लागि सर्वाेच्च अदालत पुगेको थियो । त्यसअघि कांग्रेस चुनाव मात्र विकल्प भनेकोमा दुई नेताको भेटपछि कांग्रेस पनि चुनावका पक्षमा खुल्न थालेको हो ।

आजका मिडियामा धेरैतिर देशमा अब विघटित संसदको पुनर्स्थापना  हुने चर्चा ब्यापकै छ । अबको राजनीति यसैगरी अघि बढ्ने तर्कहरु मिडियाका कन्टेन्टमा छ । यसै बेला पारेर आज पनि दुई नेताकाबीचमा भएको यो भेटले संसद पुनस्र्थापनाको एजेण्डालाई थप बल प्रदान गरेका विश्लेषकहरुको भनाई छ ।

पुस महिनाको आज ७ गते । यो निकै चिसो हुने दिन हो र मौसम चिसो पनि छ । यस्तो बेलामा मुलुकको राजनीति भने फेरि तात्न थालेको छ । एकातरि तीन महिना अघि आन्दोलनको उभार ल्याउने जेनजीहरुकै बीचमा आन्दोलनस्थमै कुटपिट भएको छ र थप आन्दोलनको घोषणा भएको छ भने उता त्यस बेला आन्दोलनलाई मत्थर गर्न सघाएको बताउँदै नेपाली सेनाले स्पष्टिकरण जस्तो दिएको छ ।

यता पूर्ववत सरकारका दुई प्रमुख घटक कांग्रेस र एमालेका नेताले गरेको गरेको दोस्रो पटकको भेट र त्यसअघि हिजोदेखि आजसम्म पूर्ववत संसदको स्पष्ट बहुमत पुग्नेगरी सांसदहरुले गरेको हस्ताक्षर र सर्वाेच्च अदालतमा पेश गर्ने गरी गरिएका तयारीका खबरहरुले राजनीति थप तात्ने देखिएको छ ।