७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’



oplus_2
अ+ अ-

कञ्चनपुर। नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय हित र स्वाधीनतालाई केन्द्रमा राखेर अगाडि बढ्न सबै पक्षलाई आह्वान गर्नुभएको छ ।

आज यहाँ शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आयोजित जिल्लास्तरीय पार्टी एकता सन्देश सभामा उहाँले नेपाली जनताको अधिकारलाई बलियो बनाउने सङ्कल्पका साथ पार्टी अगाडि बढेको बताउनुभयो ।

नेता रावलले देशको अर्थतन्त्र बलियो बनाउन युवा शक्तिलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामी युवा शक्तिलाई मुगलान पठाएर यहाँका खेतपाखा बाँझो राख्न चाहँदैनौँ, उत्पादन बढाएर देशलाई समृद्ध बनाउन लाग्छ । यसमा हाम्रो पार्टीले सम्पूर्ण रूपमा सहयोग गर्छ ।”

नेता डा रावलले ‘जेनजी’ आन्दोलनका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही र देशमा निर्वाचन सम्पन्न गर्ने दुई मुख्य एजेन्डाससहित सरकार गठन भएको चर्चा गर्दै सरकार अन्य काममा अल्मलिन नहुनेमा जोड दिनुभयो ।

सभामा पूर्वमन्त्री भानुभक्त जोशीले राष्ट्रिय स्वाभिमानको रक्षाका लागि वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं नेता खगराज भट्टले आफ्नो पार्टी नैतिक मूल्य–मान्यता र अग्रगामी एजेन्डा बोकेर जनताको माझमा आएको बताउनुभयो ।रासस