काठमाडौं। भ्याली पब्लिकले सेनेका यु–१९ गल्र्स बास्केटबल लिगको उपाधि जितेको छ । भ्याली पब्लिक अपराजित रहँदै च्याम्पियन बनेको हो । भ्याली पब्लिकले सबै १२ खेल जित्यो ।
भंगालस्थित घरेलु कोर्टमा भएको फाइनलमा भ्याली पब्लिकले साइपाल एकेडेमीलाई ६४–४३ ले पराजित गर्यो । भ्याली पब्लिककी लोरिशा गौचनले उत्कृष्ट प्रदर्शन गर्दै ४६ अंक जोडिन् । लोरिशा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन् ।
सेनेका एडुकेसन कन्सल्टेन्सी प्रा.लि. द्वारा आयोजित प्रतियोगितामा भ्याली पब्लिक र साइपालसहित ६ टिम सहभागी थिए । अन्य सहभागीमा गोल्डेनगेट इन्टरनेसनल कलेज, बलर्स एकेडेमी, नितेन मेमोरिय स्कुल (निम्स) र चेल्सी इन्टरनेसनल कलेज रहेका छन् ।
विजेतालाई पूर्व राष्ट्रिय बास्केटबल खेलाडी माया स्याङतान, सेनेकाकी उमा खड्का पाठक, भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । लिग भदौ २२ गतेदेखि सुरु भएको थियो । लिगका खेलहरु साइपालमा पनि भएको थियो ।










