९ भाद्र २०८३, मंगलवार
,
Latest
जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारीः तीस प्रतिशतले गराए बीमा



अ+ अ-

काभ्रेपलाञ्चोक । आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नदिन सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम काभ्रेपलाञ्चोकमा प्रभावकारी बन्दै गएको छ । 

यस कार्यक्रमअन्र्तगत जिल्लामा हालसम्म करिब ३० प्रतिशत नागरिकले बीमा गराएका छन् । जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका अनुसार २९ दशमलव ८० प्रतिशत अर्थात् एक लाख पाँच हजार ८२ जनाले स्वास्थ्य बीमा कार्यक्रममा सहभागिता जनाएका हुन् । बीमित उक्त सङ्ख्या अघिल्लो जनगणनाअनुसार हो । 

स्वास्थ्य बीमा बोर्डको जिल्ला प्रमुख मुना निरौलाका अनुसार काभ्रेपलाञ्चोकमा स्वास्थ्य बीमा कार्यक्रमप्रति आकर्षण बढ्दै गएको पाइएको छ । उहाँले नौ हजार ५३५ परिवारले बीमा नवीकरण गरिरहेको बताउनुभयो । “बीमा नवीकरण गराउनेको सङ्ख्या दैनिक बढिरहेको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार नयाँ व्यक्तिसमेत स्वास्थ्य बीमा कार्यक्रममा सहभागिता जनाइरहेका छन् । 

बोर्डका अनुसार हालसम्म बनेपा नगरपालिकाका २३ हजार ३११, धुलिखेल नगरका २२ हजार ६८९, पनौती नगरका १७ हजार ११४, पाँचखाल नगरका १२ हजार ९०६, मण्डनदेउपुर नगरका दश हजार २४९, नमोबुद्ध नगरका पाँच हजार ९८६ ले स्वास्थ्य बीमा गराएको जनाइएको छ । यस्तै, भुम्लु गाउँपालिकाका तीन हजार ६१०, रोशीमा दुई हजार ४५७, बेथानचोकमा दुई हजार ८७, चौँरीदेउरालीमा एक हजार ६२८, तेमालमा एक हजार ३५२, महाभारतमा एक हजार ७० र खानीखोला गाउँपालिकामा ६२४ ले स्वास्थ्य बीमा गरेको बोर्डले जनाएको छ । 

बोर्डको तथ्याङ्कअनुसार सबैभन्दा बढी जिल्ला सदरमुकाम धुलिखेलका ७० दशमलब ५४ प्रतिशत नागरिकले स्वास्थ्य बीमा गरेका छन् भने सबैभन्दा कम बीमा गराउनेमा खानीखोला गाउँपालिकाको चार दशमलव ३३ प्रतिशत रहेका छन् । यस्तै, बीमितमध्ये छ हजार २८८ ज्येष्ठ नागरिक हुनुहुन्छ । ४३५ स्वास्थ्य स्वयंसेविका, ५३ एचआइभी सङ्क्रमित परिवार, २४ कुष्ठरोगी परिवार, ४०९ पूर्ण अपाङ्गता भएका परिवार रहेको बोर्डले जनाएको छ । जिल्लामा बीमाबापत रु एघार करोड ३५ लाख ४३ हजार ४०० सङ्कलन भएको छ । सरकारले महिला स्वास्थ्य स्वयंसेविकालाई ५० प्रतिशत छुट तथा पूर्ण अपाङ्गता भएका परिवार र एचआइभी सङ्क्रमितको परिवारलाई भने निःशुल्क बीमा गर्ने प्रावधान छ । 

बीमा कार्यक्रमका लागि प्रत्येक वडामा एक दर्ता सहयोगी व्यवस्थापन गरिएको छ । छ नगरपालिका र सात गाउँपालिका रहेको काभ्रेपलाञ्चोकमा १३५ वडा छन् । जिल्लामा सदरमुकामको धुलिखेल अस्पताल, मेथिनकोट प्रदेश अस्पताल, रेयुकाई मासुनागा अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र पाँचखाल, धुलिखेल र खोपासीमा बीमित व्यक्तिले उपचार गराउने व्यवस्था मिलाइएको छ । 

उपचारको क्रममा स्वास्थ्य संस्था तथा अस्पतालबाट व्यहोर्नुपरेको विभिन्न उल्झन र झण्झटिलो व्यवस्थाको अन्त्य तथा उपचारका क्रममा अन्य बिरामीभन्दा स्वास्थ्य बीमा गर्नेलाई पहिलो प्राथमिकता दिएमा स्वास्थ्य बीमाप्रति आमनागरिकको चासो बढ्ने बताइएको छ । 

बीमा गरेका नागरिकले तोकिएका अस्पतालमा उपचार गराउन जाँदा कहिले विवरण नमिलेको कारण देखाउँदै त कहिले विभिन्न बहाना बनाएर उपचारमा कम प्राथमिकता दिएको गुनासो बीमितहरुको छ । “त्यस्तो गुनासो आएपछि त्यसलाई व्यवस्थित गर्न सम्बन्धित अस्पतालमा आग्रह गरिएको र त्यसपछि सेवामा सुधार आएकाले नवीकरण गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको छ”, प्रमुख निरौलाले भन्नुभयो, “अझै पनि त्यसलाई व्यवस्थित गर्दै जाने हो भने नवीकरण गर्नेको सङ्ख्यामा वृद्धि हुँदै जान्छ ।” (रासस)