भक्तपुर। गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आज निरीक्षण गर्नुभएको छ । बाल सुधारगृहको अवलोकन गर्दै उहाँले त्यहाँको वस्तुस्थितिबारे अभिरुचिपूर्वक जानकारी लिनुभएको थियो ।
सुधार गृहको निरीक्षण गर्दै मन्त्री अर्यालले बालबन्दीहरूको शिक्षा, कक्षाकोठा, खानपान, दैनिक जीवनयापन, खेलकुद, पुस्तकालय र बस्ने व्यवस्थालगायतका बारेमा सुधारगृहका अधिकारीसँग जानकारी लिनुभएको थियो ।
मन्त्री अर्यालले सुधारगृहमा रहेका १८ वर्षमाथिका बालबन्दीहरुको समयावधि नपुगेकाले बालबन्दी राख्दा आइपरेका समस्याबारे जानकारी लिनुभएको थियो । उहाँले समस्या समाधानका लागि आवश्यक पहल गर्ने जानकारी दिनुभयो ।
त्यसैगरी आजै मन्त्री अर्यालले नेपाल सरकारको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको ‘निशान छाप’ चिह्न निर्माण गर्नुभएका हिमालय गौतमसँग भेट गर्नुभएको छ ।
अस्वस्थ अवस्थामा रहनुभएका उहाँकै निवास इमाडोल पुगेर उहाँले गौतम परिवारसँग भेट गरी उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।रासस










