काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मथलोमा जन्मदिन मनाएका तस्वीरहरु सार्वजनिक भएसँगै उनको चर्चासँगै आलोचना समेत शुरु भएको छ । प्रधानमन्त्रीद्वारा केक बोक्नका लागि हेलिकोप्टर चाटर्ड गरिएको र नेपालको नक्शा अंकित केक काटिएको विषयमा सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । केहीले त प्रधानमन्त्री ओलीज्यूले लिम्पियाधुरा विनाको नेपालको केकलाई चक्कुले काट्दै टुक्राटुक्रा बनाएर खाएछन् भनेर समेत व्यंग्य गरेका छन् ।
नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले फेसबुकमा यसरी लेखेका छन् :
दु खका साथ यो लेख्दैछु । जुन देशका जनताले भोकमा भुटेका मकै र ज्वरोमा सिटामोल पाएका छैनन । छोरा छोरी विदेशका विभिन्न ठाँउमा आफ्नो शरीर, रगत र पसिना रेमिट्यान्ससँग साँटिराखेका छन् । पशुपतिमा लाशको विदेशी बाकस नआएको दिन छैन । त्यस देशका प्रधानमन्त्रीलाई हेलिकप्टर चार्टर्ड गरी देशको नक्सा भएको केक काट्ने कसले सुझाव दियो ? लाज लाग्दैन ?
प्रधानमन्त्री ओलीले हिजो (आइतबार) आफ्नो ६९ औं जन्मोत्सव तेह्रथुम इवास्थित आफू जन्मेको घरमा धुमधामका जन्मोत्सव मनाएका थिए । प्रधानमन्त्री ओलीका जन्मोत्सवका लागि हिजो (आइतबार) आठराई गाउँपालिकाले सार्वजनिक विदा समेत दिएको थियो ।
उनको जन्मदिन मनाउन संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई लगायत सहभागी रहेका थिए ।