काठमाडौं । सरकारले कतारलाई उपहारस्वरुप दिएका दुई हात्ती खगेन्द्रप्रसाद र रुद्रकली त्यसतर्फ पठाईको छ ।
आज बुधबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेज मार्फत त्यसतर्फ पठाईएको हो । कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाजमार्फत अपरान्ह ५ बजेपछि उनिहरुलाई बिदाई गरिएको छ ।
यी हात्तीलाई कतार पठाउन हिजो (मंगलबार) चितवनबाट भैरहवा लगिएको थियो ।हात्तीहरूसँगै एक जना पशु प्राविधिक, रूद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ तथा खगेन्द्रप्रसादका माउते पाचुखा थारु पनि कतार प्रस्थान गरेका छन् । केही समय हात्तीहरूको रेखदेख गर्नेदेखि त्यहाँका कर्मचारीहरूलाई हात्तीको स्याहारसुसार गर्न सिकाएर उनीहरू फर्किने छन् ।
कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा २०८१ वैशाख ११ र १२ गते नेपालले एक जोडी हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो ।
तस्बिर : कमल रायमाझी/रासस













