काठमाडौँ । एक दर्जन बढी बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् ।
वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर घटाएसँगै व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसत ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ ।
आज सार्वजनिक भएको बैंकहरूको सूचनाअनुसार पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरूको अधिकतम औसत ब्याजदर ४.८३४ प्रतिशतविन्दु कायम भएको छ । मंसिर महिनामा सो दर ५.०४०५ प्रतिशतविन्दु थियो । अहिले औसत ब्याजदर ०.२०६५ प्रतिशतबिन्दुले घटेको हो ।
१३ बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । प्राइम कमर्सियल बैंक, ग्लोवल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान ०.५ प्रतिशतविन्दुले घटाएका छन् । प्रभु बैंक र कृषि विकास बैंकले ०.४ प्रतिशतले र कुमारी बैंकले ०.३८ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन् । ७ वाणिज्य बैंकहरूले (सिटिजन्स, माछापुच्छ्रे, एनआईसी एशिया, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र हिमालयन बैंक) मंसिर महिनाकै अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन् । पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा ग्लोवल आइएमई बैंक र हिमालयन बैंकले अधिकतम ५.५ प्रतिशतसम्म ब्याज दिनेछन् ।
सबैभन्दा कम ब्याजदर प्राइम कमर्सियल बैंकले ४.२५ प्रतिशत कायम गरेको छ । यसैगरी संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर पनि मंसिरको तुलनामा पुसमा ०.१३ प्रतिशतविन्दुले घटेको छ । पुस महिनाका लागि ५ वाणिज्य बैंकहरूले संस्थागत मुद्दतिको अधिकतम ब्याजदर घटाएका छन् । यस्तै, बाँकी १५ बैंकले पुरानै दरलाई निरन्तरता दिएका छन् ।
मुद्दती निक्षेपको अधिकतम ब्याजदर
| बैंकहरु | कात्तिक | मंसिर | पुस |
| नबिल | ४.९५ | ४.७५ | ४.५५ |
| नेपाल इन्भेष्टमेन्ट मेगा | ५.२५ | ५ | ५ |
| माछापुच्छ्रे | ५ | ५ | ५ |
| हिमालयन | ६ | ५.५० | ४ |
| नेपाल एसबिआई | ५ | ४.८० | ४.५५ |
| एभरेष्ट | ५ | ५ | ४.७५ |
| एनआईसी एसिया | ५.७५ | ५ | ५ |
| स्ट्यान्डर्ड चार्टर्ड | ५ | ४.७० | ४.६० |
| लक्ष्मी सनराइज | ५ | ५ | ४.७५ |
| कुमारी | ४.०१ | ४.९१ | ४.५३ |
| सिद्धार्थ | ५.५ | ५ | ५ |
| सानिमा | ५.१५ | ५ | ३.७५ |
| एनएमबि | ५ | ५ | ५ |
| प्रभु | ४.९५ | ४.९५ | ४.५५ |
| ग्लोबल आइएमई | ६ | ६ | ५.५० |
| सिटिजन्स् | ५ | ४.७५ | ४.७५ |
| प्राइम कमर्सियल | ५ | ४.७५ | ४.२५ |
| कृषि विकास | ४.९५ | ४.७० | ४.५५ |
| नेपाल बैंक | ५.२५ | ५.२५ | ५.१० |
| राष्ट्रिय वाणिज्य बैंक | ५.५ | ५.५ | ४ |









