काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रश्ताव गर्नुभएको छ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गर्नुभएको रोडम्यापसँग मेल खानेगरी उहाँले पनि निर्वाचनअघि नै सर्वपक्षीय सरकार बन्नुपर्ने जिकिर गर्नुभएको हो ।
शनिवार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित नेकपा एमालेको ११ औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै महासचिव विप्लवले सर्वपक्षीय अन्तरिम सरकार बनाएर मात्रै निर्वाचनमा जान उपयुक्त हुने बताउनु भयो । उहाँले वर्तमान सरकरा अध्यारो कुनाबाट बनेको अवैध भन्दै राजनीतिक दलहरुले नै सरकारको नेतृत्व गरेर मात्रै निर्वाचन गराउन सकिने तर्क समेत गर्नुभयो ।
महासचिव विप्लवले भन्नुभयो,‘आज देशमा अनौठो प्रकारले सरकार बनेको छ । न यो आन्दोलनको मर्मअनुसार छ । न संवैधानिक प्रक्रिया अनुसारको छ । अध्यारो कुनाबाट खडा गरिएको यो अवैध सरकारलाई हाम्रो समर्थन छैन र हुन सक्दैन । त्यसैले हामीले के भनेका छौ भने–देशलाई एउटा निकास चाहिएको छ । त्यो निकासको निम्ति राजनीतिक शक्तिहरुले नै नेतृत्व गर्नुपर्दछ । यो देशलाई यहाँसम्म ल्याएको राजनीतिक शक्तिहरुले नै हो । योगदान गरेको पनि राजनीतिक शक्तिहरुले नै भएको हुनाले सर्वपक्षीय सरकार, अन्तरिम सरकार बनाएर सहज ढंगले संविधानलाई पुनर्लेखन गर्नुप¥यो भने पनि गरेर नेपालका सबै श्रमिक, जाति, वर्ग, क्षेत्र, उत्पीडनमा परेका सबै नयाँ पुस्ता, युवा जेनजी देश, विदेशमा रहेका नेपाली नागरिकहरुको चाहनालाई सम्बोधन गरेरमात्रै चुनावतिर जान आवश्यक छ ।’
महासचिव विप्लवले एमालेले राष्ट्रिय स्वाधिनताको पक्षमा दिएको अडानका कारण यसमाथि देशी, विदेशी प्रतिक्रियावादी शक्तिहरुले हमला गरिरहेको बताउनु भयो ।










