२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनलाई उपहार दिएको ‘साेल्टी’ गैंडा मर्याे



अ+ अ-

काठमाडाैंः चीन सरकारलाई उपहार स्वरुप दिइएको २ जोडी गैंडामध्ये एउटा गैंडाको मृत्यु भएको छ । गत वर्षको भदौमा चीनको सांघाई वाइल्ड एनिमल पार्कमा पठाइएको ‘सोल्टी’ र ‘मितीनी’ गैंडामध्ये सोल्टीको मृत्यु भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

नेपालले ‘सोल्टी’ र ‘मितीनी’ भन्दा पहिले ‘रुपसी’ र ‘भद्र’ नामको एक जोडी गैँडालाई चिमे लङ सफारी पार्कमा पठाएको थियो । अरु गैंडाको अवस्था ठिक भएपनि सोल्टी गैंडा भने मरेको विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलले जानकारी दिए ।

उनका अनुसार सोल्टि गैंडाको मृत्युबारे अनुगमन गर्न नेपाली टोली त्यसतर्फ जाने तयारी भएपनि कोरोना भाइरस संक्रमणको त्रासका कारण टोली त्यता जान सकेको छैन ।

नेपाल र चीन सरकारबीच वन्यजन्तु संरक्षणमा वैज्ञानिक सहयोग आदानप्रदान गर्नुका साथै दुबै देशवीच सुमधुर सम्बन्ध कायम गर्ने उदेश्यले मन्त्रपिरिषदको २०७३ असार २६ गतेको निर्णयले चीनलाई २ जोडी एक सिंगे गैैंडा उपहार दिने निर्णय गरेको थियो ।

गैंडा प्रदान गर्ने सम्बन्धमा तत्कालिन वन तथा भू–संरक्षण मन्त्रालय र चीनको तत्कालिन द स्टेट फरेष्टि एड्मिनीष्ट्रेसकाबीच सन् २०१७ अप्रिलमा सहमती पत्रमा हस्ताक्षर भएको र २५ जुन २०१८ मा नेपाल सरकार र चीन सरकारबीच सम्झौता भएको थियो ।

एकसिंगे गैंडा विश्वकै लोपोन्मुख प्रजाति हो । यो नेपाल र भारतमा मात्र पाइन्छ । प्राचिन समयमा एकसिंगे गैंडा पाकिस्तान, चीन, नेपाल र भारत साथै बर्माको केहि भागमा समेत पाइन्थ्यो ।

नेपाल सरकारले चितवन राष्ट्रिय निकुञ्जमार्फत भारत , चीन , अमेरिका , जर्मनी , बंगलादेश , बेलायत , जापान , अष्ट्रिया लगायतका बिभिन्न देशमा २८ वटा गैँडा उपहारस्वरुप पठाइसकेको छ । विश्वमै दुर्लभ मानिएको एकसिङ्गे गैँडाको संख्याका हिसाबले चितवन राष्ट्रिय निकुञ्ज विश्वकै दोस्रो संरक्षित क्षेत्र हो ।

पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ गैँडा छन् । बर्दिया र शुक्लाफाँटामा गरी यसको संख्या ४० छ । (नेपाल वातावरण पत्रकार समूहद्वारा संचालित हाकाहाकी अनलाइनबाट साभार)