बैंकक: म्यानमारको विभिन्न अनलाइन स्क्यामिङ केन्द्रमा अल्पत्र परेका ४७ नेपाली नागरिकलाई थाइल्याण्डका सम्बन्धित निकायहरूको समन्वयमा नेपाली राजदूतावास, बैंककले आज नेपाल फर्काएको छ। नेपाल एयरलाइन्सको उडान RA402 मार्फत बुधबार उनीहरूलाई स्वदेश पठाइएको दूतावासले जनाएको छ।
उद्धार भएका मध्ये ४५ पुरुष र २ महिला रहेका छन्। उनीहरू २६ जिल्लाबाट भएको दूतावासले जनाएको छ। जिल्लागत विवरणअनुसार झापाबाट ५ जना, धादिङ, गोरखा, रुपन्देही, सिन्धुपाल्चोक र उदयपुरबाट ३/३ जना, दाङ, महोत्तरी, मोरङ, नवलपरासी, नुवाकोट, स्याङ्जा र तनहुँबाट २/२ जना तथा चितवन, दैलेख, कास्की, काठमाडौं, काभ्रे, पाल्पा, रामेछाप, रौतहट, सल्यान, सर्लाही, सिन्धुली, ताप्लेजुङ र तेह्रथुमबाट १/१ जना छन्।
उमेर समूह हेर्दा एक जना १७ वर्षका नाबालक छन्। त्यस्तै २०–२५ वर्षका २६ जना, २६–३० वर्षका १० जना, ३१–३५ वर्षका ८ जना, ४० वर्षका एक जना र ४१ वर्षका एक जना रहेका छन्। उनीहरूमध्ये धेरैजसो १०+२ उत्तीर्ण तथा सूचना–प्रविधि सम्बन्धी अध्ययन गरेका छन्। उनीहरू २ महिना देखि १८ महिनासम्म स्क्यामिङ गतिविधिमा लगाइएका थिए।
उद्धारका व्यक्तिहरूका अनुसार उनीहरूलाई अनलाइन डेटिङ, क्यासिनो, गेमिङ, फिसिङ, क्रिप्टो ठगी जस्ता कामका नाममा आकर्षक तलबको प्रलोभन देखाइएकाे थियाे सामाजिक सञ्जालका विज्ञापन, अनलाइन गेमका साथी, परिचितहरू तथा विदेशमा भेटिएका साथीमार्फत संपर्क भई उनीहरू त्यहाँ पुगेका थिए।
काठमाडौंमा नै “घण्टाको यति कमाइ” भनेर अफिस, कल सेन्टर वा रिसेप्सनिष्टको काम छ भन्दै प्रलोभनमा पारेर म्यानमारस्थित अवैध स्क्यामिङ केन्द्रमा पुर्याइने गरेको दूतावासले जनाएको छ।
सुरुमा सहज काम दिनेजस्तो देखाए पनि पछि कठोर लक्ष्य (टार्गेट) तोक्ने, लक्ष्य पूरा गर्न नसके विभिन्न आरोप लगाई शारीरिक तथा आर्थिक शोषण गर्ने, बन्धक बनाएर परिवारसँग फिरौती असुल्ने, जेल पठाउने धम्की दिने, तथा हत्या गर्ने जस्ता अत्यन्तै अमानवीय व्यवहार भोग्नुपरेको उनीहरूले बताएका छन्।
राजदूतावासले कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायत मुलुकमा “भ्रमणको बहाना”मा पठाइने स्क्यामिङ केन्द्रहरूमा नफस्न सबैलाई आग्रह गरेको छ। सामाजिक सञ्जाल तथा साथीभाइबाट आएका रोजगारी प्रस्तावको सत्यता बुझ्न, नेपाल सरकारको मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान दूतावासले चेतावनी दिएको छ।











