२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

बारीको पाटामा जन्ते बाख्रो, मौलिक संस्कृति ब्युताउँने सेफहरुको प्रयास

खानपानको शैली र स्वरुप फेरिएको छ, तर पुराना परम्परा भने जोगाइराख्नु पर्छ

बारीको पाटामा जन्ते बाख्रो, मौलिक संस्कृति ब्युताउँने सेफहरुको प्रयास
अ अ+ अ-

काठमाडौं । मंसीर महिना, प्राय: बिहेको लगनको समय । राजधानीमा पनि बिहेकै सिजन छ, धेरै पार्टी प्यालेसहरुमा बाजागाजा सहित बिहे भोज चलिरहेकै छन् ।

आइतबार दिउँसो काठमाडौँको तारकेश्वर नगरपालिका– ३ स्थित नागार्जुनको बारीको पाटामा पनि माहौल त्यस्तै थियो । तर, बाजागाजा घन्किएका थिएनन्, जन्ती भित्र्याउन र स्वागत गर्न केराको थामले स्वागत द्वार सजिएका थिएनन् । नत बेहुला बेहुली नै सशरीर उपस्थित थिए ।

तर त्यो भन्दा पनि रमाइलो वातावरण थियो बारीको पाटामा । किनभने त्यहाँ नेपालका चर्चित सेफहरुलाई जन्ते बाख्रो (खसी काटेर भोज खाने एक प्रकारको पुरानो प्रचलन) तयार गर्न र खान भ्याई नभ्याई थियो । एक जमानामा बिहेघरमा जसरी जन्ते बाख्रोको तयारी हुन्थ्यो, त्यसैगरी परिकार तयारीमा उनीहरु जुटेका थिए ।

कोही ढुङ्गाको चुलो बनाउँदै थिए त कोही दाउरामा आगो सल्काउँदै । अनि कोही ढुंग्राले आगो फुक्दै खसी भुत्लाउन पानी उमाल्दै थिए । केही जन्तीको हिसाब गरेर तामाको ताउलामा चामल राख्दै भातको तयारीमा थिए । उता जन्ते बाख्रो पकाउने अर्काे तामाको ताउलो पनि तयार हुँदै थियो ।

केही सेफहरु अलि पर कान्लामा जन्ते बाख्रो (खशी) भुत्लाउन व्यस्त थिए भने यता केही सिलौटोमा धम्मरधुस लगाएर जिरा धनियाँ पिस्दै थिए । अनि केही सेफहरुले आफैँ भत्केरु भएर खाना बनाउने तयारीका लागि चोखो धोती पाटा कस्दै र जनै फेर्दै गरेको रमाइलो दृश्य देखिन्थ्यो ।

अरु बेला चिटिक्क परेको टाइ सुट, कहिले सेतो कोट र त्यसमाथि सेतै टोपीमा सजिएर सेवामा जुट्ने सेफहरु आज भत्केरु छन् । त्यसैले सेतो धोतीमा सजिएका छन् । कोही ढुुङ्गाको चम्कोले बनाएको चुल्होमा तामाको ताउलो अड्याएर जन्ते बाख्रो पकाउने तरखरमा छन् ।

त्यहाँ पञ्चे बाजाको टोली त थिएन तर बिहेको रौनक छर्नका लागि छेउमै मधुरो स्वरमा बाजा गुन्जिरहेको थियो ।

तामझामका साथ जन्ते बाख्रो तयार गर्न खटिएका घरगाउँलेले दिउँसो २ बजेतिर खबर गरे– जन्ते बाख्रो तयार भयो, गोलबद्ध भएर खान बस्नुहोला ।

भत्केरुबाट आवाज आयो लु खाना तयार भयो, पहिला केटाकेटी बारीको पाटाको डिलमा टपरी लिएर बस्नु अनि पाकाहरु बारीको कान्लातिर । जन्तीलाई खाना खान बस्नका लागि न कुनै कुर्सी थिए र नत गुन्द्री मान्द्रो नै । पहिले पहिले बिहे भोज खाँदा जसरी बारीको पाटामा भुइँमै टपरी ओछ्याएर बारीका डिल र कान्लामा टुसुक्क जन्ती बस्थे त्यसैगरी बसे जन्ते बाख्रो खान ।

भोकाएका जन्ती आज्ञाकारी बालक झैं बारीका पाटामा गोलबद्ध भएर बसे । त्यसपछि सुुरु भयो पहिले पहिलेका बिहेसँग जोडिएका अनेक वास्तविकता र किस्साहरु । कतिले आफ्नै बिहेको बेलिबिस्तार लगाउँदै हाँसोठट्टा गरिरहेका थिए भने केहीले सानोमा आफू जन्ती जाँदाका कथा ।

तर हिजोका ती किस्सा आज सुन्दा, सुनाउँदा एकादेशका कथाजस्तै लाग्थ्यो । एकातिर जन्ते बाख्रोको भोज त छँदै थियो, अर्कातर्फ हिजोका कथा स्मरण गर्दा माहौल कम्ता रमाइलो थिएन ।

लहरै बसेका ती जन्तीका अघिल्तिर घरगाउँलेले सालको पातका टपरी र दुना राखिदिए । भात बाँड्दै आएका भत्केरुले टपरीमा भात राखिदिए । दुनामा अचार र अर्काे दुनामा राखिएको थियो सगुन (परम्परागत मदिरा) पनि । तर सगुन भने खानेहरुका लागि मात्र थियो ।

अर्का भत्केरु मासु बाँड्दै आए र टपरीमा पस्किएको भातमाथि ठूलो डाडूले मासुको झोल र केही टुक्रा मासु पनि राखिदिए । झोल टपरीमा राख्न नपाउँदै तल चुहिने खालको थियो, जुन पहिले पहिलेको जन्ते बाख्राको स्वरुप र स्वादमा थियो ।

कसैका टपरीबाट झोल चुहिरहेको थियो, कोही टपरी ढल्किएर झोल भुइँमा पोखिएला भनेर सतर्क थिए । जन्तीको खुवाई पनि फरक थियो । कसैले चाँडचाँडो खाएर भात, मासुका टुक्रा र झोल थप्दै थिए । पारिलो घाममा थपिथपि जन्ते बाख्रो खान पाउनु जन्तीका लागि पनि एक प्रकारको रमाइलै हो ।

आजको यस जन्ते टोलीमा पलेंटी कसेर जन्ते बाख्रो भोजको पर्खाइमा हुनुहुन्थ्यो नेपाल होटल संघ (हान) का अध्यक्ष विनायक शाह पनि । हातका औंलाका कापबाट तुरुरु मासुको झोल चुहाउँदै शाहले भन्नुभयो– आज एउटा अद्भुत अनुभव भयो, पहिलेको नेपाली संस्कृति र भोगाइले मलाई बडो भावुक पनि बनायो । जन्ते बाख्रो खाँदा जिब्रोको स्वाद मात्र नभई आत्माको एक अनौठो तृप्ति प्राप्त भएको महसुस भएको छ ।

यो नेपाली मौलिक संस्कृतिलाई हामीले नै जोगाउनुपर्छ । मलाई लाग्छ यसलाई हामीले नेपालको पर्यटन क्षेत्रमा पनि नयाँ प्याकेजका रुपमा राख्न सकिन्छ । यसबाट नेपाली संस्कृतिको जगेर्ना पनि हुन्छ र ठूला होटलहरुमा नयाँ प्याकेज दिन सकिए नेपालको संस्कृति विश्वव्यापी पनि हुन्छ । उहाँले यसलाई हानले अग्रसरता लिने जानकारी पनि दिनुभयो ।

छेउमै बस्नु भएका बरिष्ठ सेफ गोविन्दनरसिं केसीको जोश भने फरक थियो । उहाँ भान्सेहरुलाई यसो गर, उसो गर भनेर अथ्र्याउनमै ब्यस्त हुनुहुन्थ्यो । ‘जन्ते बाख्रो’ एउटा परिकार मात्र नभई संस्कृतिको एउटा अमूल्य उपहार भएको भन्दै उहाँले यसलाई व्यवसायसँग जोड्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, “हाम्रा समयका बिहेमा जन्ते बाख्रो नदेखिँदा जति खल्लो लाग्थ्यो, अहिलेका बालक–युवाले यो परम्परा देखेकै छैनन् । उनीहरुलाई पनि संस्कार र संस्कृति हस्तान्तरण गर्नु हाम्रो पुस्ताको कर्तव्य हो । अब त हामीले जतिधेरै पुराना कुराहरुलाई पुनर्स्थापना  गर्छौं त्यो अहिले आएर नयाँ प्याकेजका रुपमा परिचित हुन पुग्दछ । त्यसैले जन्ते बाख्रो संस्कृतिको अब हामीले पनि जगेर्ना गर्नुपर्दछ ।”

अर्का पर्यटन व्यवसायी अभिषेक बिक्रम शाह भन्दै हुनुहुथ्यो– जन्ते बाख्रोले हाम्रो परम्परा, भावनात्मक सम्बन्ध र सामुदायिक एकतालाई जुरुक्क्क उचालेको हुन्छ । अहिले पनि यो शब्द सुन्दा संस्कृतिको झल्को आउँछ, उहीलेको चालचलनले हामीलाई पनि गम्भीर बनाउँछ ।

शाहले भन्नुभयो– नेपालले पर्यटनका क्षेत्रमा अब नयाँ नयाँ प्याकेज र आकर्षण थप्नुपर्ने देखिन्छ । हामीबीच पनि प्रतिस्पर्धा बढेको छ र हामीले हाम्रो देशका अद्वितीय संस्कृतिहरुलाई विश्वमा परिचित पनि गराउनुपर्नेछ । त्यसैले यस्ता जन्ते बाख्रो भनौँ या बनभात आदि जस्ता परम्परालाई हामीले नयाँ नयाँ प्याकेजका रुपमा थप्यौँ भने यसले हाम्रा गेष्टहरुलाई पनि नयाँ आकर्षण दिनेछ र हाम्रो संस्कृति विश्वमा स्थापित गर्न सहयोग पनि पुग्नेछ ।
उहाँले नेपालको परम्परा जोगाउन नेपालका वरिष्ठ सेफहरुले यो अग्रसरता लिएर जन्ते बाख्रो कार्यक्रमको आयोजना गरेकोमा उहाँले विशेष धन्यवाद पनि दिनुभयो ।

सालको पातको टपरीमा झोल भरिएको जन्ते बाख्रो बारीको डिल, छेउमा बसेर खाँदाको अद्वितीय अनुभव रहेको चर्चित सेफ प्रकाश कटुवालको बताउनुभयो । उहाँले भन्नुभयो– खानपानको स्वरुप संस्कार र संस्कृतिको शैली फेरिएको छ तर यस्ता परम्परालाई जोगाउनु पर्छ । हामी अब यस्तै पुराना संस्कृतिहरुलई जोगाउँदै अघि बढ्ने प्रण गर्नुपर्छ ।

अर्का सेफ बिक्रम गिरी भन्नुहुन्छ– स्वादको नाममा जन्ते बाख्रो जस्ता सांस्कृतिक पहिचानहरू लोप हुने जोखिम बढेको छ ।

जन्ते बाख्रो जस्ता चलनले समुदायबीच एकता, हाँस–रमाइलो र सामूहिक सहभागिता बढाउने भूमिका खेल्थ्यो । अचेल विवाहको संस्कार र संस्कृतिको शैली फेरिएको छ । त्योसँगै खानपानको स्वरुप पनि फेरिएको छ । जसका कारण जन्ते बाख्रोको संस्कार पनि इतिहास बन्दै गएको छ ।

बरिष्ठ सेफ गोविन्द नरसिं केसीको अग्रसरतामा भिक्स मिडिया एन्ड टेक्नोलोजी तथा दी भ्वाइस अफ सेभ्सले ‘जन्ते बाख्रो खाऔं, परम्परा जोगाऔ’ भन्ने सन्देश सहित यो जन्ते बाख्रो कार्यक्रम आयोजना गरिएको थियो ।

के हो जन्ते बाख्रो ?

बिहेको अवसरमा बेहुली लिन जाने जन्तीहरूका लागि बारीका पाटामा ढुंगाको चुलो बनाएर पकाएर खाइने एक प्रकारको भोजलाई जन्ते बाख्रोको परम्परा भनिन्छ । यसरी खाइएको जन्ते बाख्रोको सामूहिक भोजन स्वादिष्ट हुन्छ । प्राय: यो भोज बेहुली भित्र्याएपछि छोराका तर्फबाट दिने गरिन्छ । तर विवाह टाढाको हुँदा जन्ती भोकाउने भएकाले बेहुली घर नभित्र्याई बाटोमै पनि पकाएर खुवाउने गरिन्छ ।

हाल ललितपुर भैंसेपाटी निवासी ८१ वर्षीया मनमाया लामिछाने भन्नुहुन्छ, यो आजभोलि बेहुला पक्षले दिने भोजजस्तै हो । उहिले टाढाटाढा बिहे हुँदा जन्तीहरु भोकाउँछन् भनेर बिच बाटैमा पनि जन्ते बाख्रो खुवाउने गरिन्थ्यो । जन्ते बाख्रो खुवाउनु पर्छ भनेर बिहेअघि धेरै दिनदेखि घरमा सरसल्लाह गरिन्थ्यो । जन्ते बाख्रो खान पाएर रमाएका जन्तीहरुले त्यसको चर्चा धेरै दिनसम्म गरिरहन्थे ।

गाउँभरिका सबै जना एकै स्थानमा भेला भएर हाँसीखुसी र आनन्दले खानुको मजा नै बेग्लै हुन्छ । जन्ते बाख्रोका ठाउँमा अहिले आधुनिक परिकारहरूले प्रवेश गर्न थालेपछि परम्पराको गहिरो आत्मीयता गुमाउँदै गएको छ ।

फोटो:रुजल शाक्य/ न्यूजपोलार