२१ श्रावण २०८३, बिहीबार
,
Latest
पाकिस्तानी कारागारबाट रिहा भएका ३२५ जना अफगान कैदी बन्दी स्वदेश फिर्ता इजरायली कब्जा बलद्वारा वेस्ट बैङ्कका विभिन्न क्षेत्रबाट ११ जना प्यालेस्टिनी पक्राउ इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा महिनावारी स्वास्थ्य शिक्षालाई नीतिगत प्रबन्ध गर्न माग गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुन्छ’ गण्डकीमा पर्यापर्यटनको नाममा साढे ३२ करोड खर्च, उपलब्धि न्यून राज्य व्यवस्था समितिमा ‘सैन्यीकरण’ शब्दलाई लिएर सांसदहरूबीच भनाभन, अमरेशले सभापतिलाई भने–यसरी समिति चल्दैन क्षेत्राधिकारको स्पष्ट सीमाङ्कन नभए सुरक्षा निकायबीच द्वन्द्व हुनसक्छः उपनेता अर्याल सैन्य संख्या बढाउने तर शिक्षा र रोजगारीमा ध्यान नदिने सरकारको नीति गलतः डा. अमरेशकुमार सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो…



अ+ अ-

काठमाडौँ । सुखदुःख जिन्दगी चलिरहेकै थियो । तेमाल गाउँपालिका–७ काभ्रेपलाञ्चोकका दिलनारायण तामाङ (४२ वर्ष) र बुद्धिमाया दम्पत्तिले दुई छोराहरुलाई सिठोपिठो ख्वाएरै भएपनि पढाइरहेका थिए ।

दश वर्षअघि गाउँबाट काम खोज्दै तामाङ दम्पत्ति लालाबाला च्यापेर ललितपुरको च्यासल आइपुगेका थिए । जसको मुख्य उद्देश्य आफ्ना दुई सन्तानलाई शिक्षादीक्षा दिलाउनु थियो ।

“जिन्दगी सधैँ एकनास कहाँ हुँदो रहेछ र”, बुद्धिमायाले भदौ २३ गते सम्झँदै भन्नुभयो, “त्यही दिन हाम्रो जीवनमा अन्धकार बनेर आयो । त्यसयता केही सोच्नै सकिरहेकी छुइन ।”

दिलनारायण डकर्मीको रुपमा मजदुरी गर्नुहुन्थ्यो । छोराहरु निशान र सोहन कोठा नजिकैको श्रीशान्ति विद्याश्रममा पढ्थे । गएको वर्षदेखिमात्रै बुद्धिमायाले थापाथलीस्थित एक कम्पनीको कार्यालयमा सहयोगीको काम पाउनुभएको थियो । सानै भएपनि श्रीमतिलाई रोजगारी मिलेपछि दिलनारायणको सपना पनि विस्तारै फूल्दो थियो ।

गत भदौ २३ गतेका दिन दिलनारायणको कतै मजदुरीमा जानुपर्ने थिएन । काम नभएकाले घरमै हुनुहुन्थ्यो । छोरा सोहनको जुत्ता फाटेकाले बिहानै नयाँ किनेर ल्याइदिनुभयो । त्यसपछि बुद्धिमायालाई खाना पकाएर टिफिन बट्टामा हालिदिनुभयो । श्रीमती टिफिन लिएर अफिस हिँडेसँगै उहाँले छोराहरुलाई खाना खुवाएर विद्यालय पु¥याउनुभयो ।

बानेश्वरमा जेनजीले भ्रष्टाचारको विरोध, सुशासन, राजनीतिमा पुस्तान्तरण र निष्क्रिय तुल्याइएको सामाजिक सञ्जाल सञ्चालनको माग राखी विरोध प्रदर्शनी गरिरहेको थियो । आन्दोलनबारे थाहा पाएपछि बुद्धिमायाले फोन गरेर “छोराहरुलाई त्यहाँ जान नदिनु है, आफू पनि नजानु”, भन्नुभयो ।

छोराहरु स्कुलमै रहेकाले जाने कुरै भएन । बरु उल्टै प्रदर्शनीमा सामेल हुन दिलनारायण नयाँ बानेश्वर पुग्नुभयो । ठीक त्यहीबेला प्रहरी र आन्दोलनकारीबीच झडप भइरहेको थियो । गोली चल्यो । सोही क्रममा दिलनारायणलाई पनि प्रहरीले चलाएको गोली घाँटीमा लाग्यो । जुन गोली उहाँको कुम हुँदै बाहिरियोे । दिलनारायण त्यहीँ ढल्नुभयो ।

एक्कासि मध्यान्ह ३ बजे तिर श्रीमान्कै मोबाइलबाट तुरुन्त अस्पताल आउनु भनेर बुद्धिमायालाई फोन आयो । अनि उहाँ आत्तिँदै अस्पताल पुग्नुभयो । त्यहाँ विनोद महर्जन र योगेन्द्र न्यौपानेसँगै उहाँको पनि शव रहेछ । उहाँले श्रीमान्को शव हेर्न सक्नुभएन । “त्यसपछि म आफैँ बेहोसझैँ भएछु”, उहाँले भन्नुभयो, “मैले जहाँ नजानु भनेको थिएँ, उहाँ त्यहीँ पुग्नुभएछ ।”

मजदुरी गरेपनि दिलनारायण राजनीतिक रुपमा सचेत हुनुहुन्थ्यो । ज्ञानबहादुर र चिनीमायाका जेठा छोरा दिलनारायण सानैदेखि आँटिलो हुनुहुन्थ्यो । तत्कालीन् नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०को सशस्त्र युद्धमा जनसेनाका रुपमा जनयुद्धमा होमिनुभएका उहाँ विस्तृत शान्ति सम्झौतापश्चात् वैदेशिक रोजगारीमा ओमान जानुभएको थियो ।

बुद्धिमाया पनि भैरहवा–सुनौली हुँदै दिल्लीबाट घरेलु कामदारका रुपमा ओमान पुग्नुभएको थियो । त्यहीँ भेटघाटका क्रममा बुद्धिमायासँग दिलनारायणको चिनजान भयो । त्यही चिनजान प्रेममा परिणत भयो ।

होची कदकी बुद्धिमाया अग्लो, बलियो र साहसिक युवा दिलनारायणप्रति आकर्षित हुनुभयो । अनि झागिँदै गएको प्रेमसम्बन्धलाई उनीहरुले बिहेमा परिणत गर्ने निधो गरे । दुवै जना नेपाल फर्किए । काभ्रेका दिलनारायण र सिन्धुपाल्चोककी बुद्धिमायाबीच विवाह भयो । दुई छोरा जन्मिए ।

गाउँको अन्नपातले वर्षदिन खान लाउन र छोराछोरी पढाउन कठिन भएपछि उनीहरु कामठाडौँ सहर पसेका थिए । तर आफूसँगै बालबच्चाको भविष्य खोज्दै सहर छिरेको एक दशकपछि दिलनारायणले देशका लागि ज्यान गुमाउनुभयो ।

आन्दोलन भनेपछि होमिइहाल्ने स्वभावका तामाङ श्रीमतीले आन्दोलनमा नजानुभन्दा ‘किन डराउने र देशका लागि ज्यान दिनुपर्छ’ भन्ने जवाफ दिनुहुन्थ्यो । देशका राजनीतिक गतिविधि समेटिएका समाचार हेर्ने र सुन्ने सहिद तामाङको स्वभावले खरो र देशभक्ति उँचो थियो ।

बुद्धिमाया भक्कानिँदै भन्नुहुन्छ, “हरेक पलपल उहाँको याद आउँछ । घरायसी कामकाजसँगै खाना पकाउने मात्र होइन, लुगा पनि उहाँले नै धोइदिनुहुन्थ्यो । त्यो दिन पनि लुगा धुनुभएको रहेछ ।”

अब भ्रष्टाचारीलाई कारबाही गर्ने र सुशासन कायम गराउने सन्दर्भमा पुनः यस्तो आन्दोलन गर्न नपरोस् भन्दै उहाँले भन्नुभयो, “देशको भाग्य र भविष्य परिवर्तन होस्, राम्रो होस्, हाम्रा जस्तो दुःख अरूले भोग्न नपरोस् ।” ओमानमा जोडिएको दिलनारायण र बुद्धिमायाको प्रेम बानेश्वरमा चलेको गोलीले सधैँका लागि टुटायो ।

सहिद भएकै दिन नयाँ जुत्ता किनेर ल्याउनुभएका दिलनारायणलाई उहाँका छोरा सोहनले बिर्सने कुरै भएन । “राम्रोसँग पढ, डाक्टर हुनुपर्छ”, भनेर बुवाले भन्नुभएको वाक्य अझै सोहनको कानमा गुन्जिरहेको छ ।

दिलनारायणलाई सम्झँदै दाजु विद्यासागर भन्नुहुन्छ, “च्यासलमा पछिल्लो समय डकर्मीको काम गथ्र्यो, साहसिलो र निडर स्वभाव भएकाले सङ्कटकालमा माओवादी लडाकु भएर युद्ध लडेको थियो ।”

जेनजी आन्दोलनको बलमा गठित सुशीला कार्की सरकारले दिलनारायणसहित आन्दोलनमा सहादत गर्नुभएका ४५ जनालाई सुशासन योद्धा २०८२ घोषित गरेको छ । सहिद घोषणा गरेपछि परिवारलाई दिइने १५ लाख र काजक्रिया बापतको रकम उहाँले प्राप्त गर्नुभएको छ ।

उक्त रकम मात्र सहिद परिवारका लागि पर्याप्त होइन । सहिदका सपना पुरा गर्दै दिलनारायणजस्तै सहिद परिवारको भविष्यबारे पनि सरकारले सोच्नुपर्ने छ । रासस