काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीय संसद सचिवालयमा राजनीतिक नियुक्ति गर्न नहुने तर्कमाथि खुला बहस गर्न आवश्यक रहेको बताउनुभएको छ ।
संसद बाहिरबाट संघीय संसदमा महासचिव, प्रतिनिधि सभाका सचिव र राष्ट्रिय सभाका सचिव नियुक्ति गर्ने व्यवस्थाले संसदनै नबुझ्ने भन्दै सशक्त तर्क आउने गरेकाले यसलाई खुला बहसको विषय बनाएर तत्काल निष्कर्षमा पुग्नुपर्ने सभामुख घिमिरेको जिकिर थियो ।
आईतवार संसद सेवा दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संसदलाई प्रभावकारी बनाउनका लागि आवश्यक सबै खालको छलफललाई खुला गरेर अघि बढ्न आवश्यक रहेको समेत बताउनु भयो । सभामुख घिमिरेले संसद सचिवालयका कर्मचारीहरुको सेवा र सुविधाको विषयमा पनि आवश्यक निर्णय लिन आवश्यक रहेको बताउनु भयो । उहाँले अहिले पनि नेपालको संविधान कायम रहेको र यसलाई संशोधन गरेर अघि बढ्न सकिने धारणा समेत राख्नुभयो ।
सभामुख घिमिरेले भन्नुभयो,‘हाम्रो संविधानले व्यवस्था गरे अन्तर्गत हाम्रा ३ वटा पदहरु राजनीतिक नियुक्तिबाट गर्न सकिने व्यवस्था छ । त्यो भनेको महासचिव एउटा । महासचिवलाई राजनीतिक नियुक्तीबाट नियुक्ति गर्ने निश्चित मापदण्डहरु तोकेर गर्ने गरिएको छ । त्यसैगरी प्रतिनिधि सभाका सचिव र राष्ट्रिय सभाका सचिव । अब यहाँ यो कुरा बेठिक भयो । बाहिर बसेको मान्छे राजनीतिक विश्वासको आधारमा राजनीतिक नेताहरुलाई मन परेको आधारमा बहुमतमा पुगेको शक्तिले यहाँ नियुक्ति गरेको आधारमा यहाँ आउँछ । उसले यहाँको मर्म र संसद बुझेको नै हुँदैन । यो कसरी हुनसक्दछ ? भन्ने एउटा सशक्त तर्क छ । अव यो कति सही वा बेठिक हो ? अव संविधान संशोधन गर्नका लागि बनेको सरकार त गईसकेको स्थिति छ । तर अब पनि संविधानमा यस्तो कुरा आईसकेपछि अहिले पनि संविधान छ । संविधान छ भने यस्ता कुराहरुको डिबेट, डिस्कस कहाँ गर्छौं हामी ? मलाई लाग्छ, यहाँ आजै फरमल्ली नगरेपनि यस्ता कुरामा ओपन जानुपर्छ । कस्तो गर्दा प्रभावकारी हुन सक्दछ त ? कस्ता खालका निर्णयहरु लिनुपर्दछ ? यी कुराहरुलाई ओपन किन नगर्ने ?’
सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउन कर्महरुलाई उत्प्रेरित हुने खालको व्यवस्था गरेर अघि बढ्नुपर्ने समेत बताउनु भयो ।










