कठमाडौं, मंसिर २० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुराना दल सकिए वा सकिन्छन् भन्ने नसोच्न आग्रह गर्नुभएको छ ।
शनिबार नेकपा एमालेको ११ औँ महाधिवेशनको लागि नवयुग ई-बुलेटिन शुभारम्भ गर्दै ओलीले आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न चेतावनी दिनुभयो ।
‘फेरी पनि आगो लगाएर सरकार बनाउने ? फेरी पनि आगोकै भरमा सरकार बन्छ ? पार्टीहरूकै सरकार बन्छ’, उहाँले भन्नुभयो ।
ओली यस पटकको महाधिवेशन एमाले विरुद्धको चौतर्फी घेराबन्दि तोड्ने र एमाले फेरि अघि बढ्ने बताउनुभयो । एमालेलाई द्वापर युगका बालक अभिमन्युलाई जस्तो एकैसाथ घेरेर चक्क्रब्युहमा पारौँला भन्ने नसोच्न उहाँले आग्रह गर्नुभयो । ‘एमाले अभिमन्युजस्तो कलिलो होइन, एमालेले त्यस्ता चक्रब्युहलाई कच्याककुचुक बनाइदिन्छ’, ओलीले भन्नुभयो ।
फागुन २१ मा चुनाव नहुने बताउँदै ओलीले अहिले एमाले सरकारको चक्करमा पनि नरहेको बताउनुभयो । ओलीले एमाले चुनावको प्रतीक्षामा रहेको बताउँदै अब हुने चुनाव पछि एमालेको सरकार बन्ने दाबी गर्नुभयो । ‘अरू पुराना दल के गर्छन् थाहा छैन, एमाले त आयो आयो’, उहाँले भन्नुभयो ।
एमालेको ११ औ माहाधिवेशनस्थल भक्तपुरको सल्लाघारीमा मानिसहरू नअट्ने बताउँदै ओलीले जे जस्तो हुन्छ त्यसै गरी व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
एमालेको महाधिवेशनको सफलता लोकतन्त्रको सफलता भएकोले महाधिवेशनलाई भव्य बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । उहाँले कार्यक्रम स्थलमा आउने बाटो र ठाउँ नपुगेर धादिङ, नुवाकोट, बनेपा वा दक्षिणकाली तिर छुट्टै कार्यक्रम गरेर फर्कनु पर्ने स्थिति पनि आउन सक्ने बताउनुभयो ।










