काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाल पराजित भएको छ ।
अजमानस्थित करवान मैदानमा भर्खरै सम्पन्न खेलमा नेपाल आयोजक युएईसँग २७ रनले पराजित भएको हो ।
१४७ रनको लक्ष्य पछ्याएको नेपाल ३२.२ ओभरमा १२० रनमै अलआउट भयो । नेपालका कप्तान अशोक धामीले सर्वाधिक ३४ रन बनाउँदा रोशन विश्वकर्मा र आशिश लुहारले २५–२५ रन बनाउँदा अन्य ब्याटरले रन बनाउन सकेनन् ।
बलिङतर्फ युएईका युग जय शर्मा र अलि अस्गर शम्सले तीन–तीन तथा उदिस सुरी र नुरउल्लाह अयोबीले दुई–दुई विकेट लिए ।
त्यसअघि नेपालविरुद्ध घरेलु टोली ४५ ओभर ५ बलमा १४७ रनमा अलआउट भयो ।
युएईलाई सस्तैमा समेट्न नेपालका दयानन्द मण्डलले सर्वाधिक ६ विकेट लिए । यस्तै, अपराजित पौडेलले २ तथा नितेज पटेल र अशोक धामीले एक–एक विकेट लिए ।
ब्याटिङमा युएईका अहमद खुदाददले सर्वाधिक ७१ रन बनाए । नुरुउल्ला आयोबीले २६ रन बनाउँदा अन्य ब्याटर फल्प सावित भए ।
नेपाल र युएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान छ ।
सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा स्थान बनाउनेछ ।
प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो । यू–१९ एसिया कप यही डिसेम्बरमा यूएईमै हुँदैछ ।










