काठमाडौं । लामो समयदेखि बन्धक जस्तै बनेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा आज महाधिवेशनको कार्यतालिका पेश हुँदै छ । आगामी फागुन २१ गतेको चुनाव अघि नै नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन लागिएको हो ।
पटक पटक सर्दै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्दै छ ।
कांग्रेसमा नियमित वा विशेष महाधिवेशन गर्ने भन्नेबारे बहस र विवाद पेचिलो बन्दै जाँदा बैठक पटक–पटक सर्दै आएको छ ।
पछिल्ला छलफलमा पुस अन्तिम सतामा १५ औं महाधिवेशन गर्ने कार्यतालिकामा प्रारम्भिक सहमति जुटेको नेताहरुले बताएका छन् । आजको बैठकमा कार्यवाहक सभापति खड्काले २६–२९ पुसमा नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका पेस गर्ने बताइएको छ ।
१५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन सभापति शेरबहादुर देउवा आफैं सक्रिय भएपछि डेढ महिनादेखि जारी कांग्रेस बैठकको गतिरोधले निकास पाउने देखिएको छ । तर देउवानिकट पूर्वपदाधिकारीसहितको समूहले आइतबार छुट्टै भेला गरी विशेष महाधिवेशन फिर्ता हुने गरी कार्यतालिका आए मात्र स्विकार्न सकिने प्रस्ताव अघि सारेको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन हुने सुनिश्चित नभए विशेष महाधिवेशन प्रक्रिया स्वत: सुरु गर्ने अडान कायमै राखेका छन् । उनीहरूले नियमित महाधिवेशन सम्पन्न गरेर मात्र विशेष महाधिवेशनको हस्ताक्षर निष्क्रिय हुने बताएका छन् ।
बैठक बस्नुअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सबै पक्षसँग अनौपचारिक छलफल गर्ने तयारी गरेका छन् ।
केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा आइतबार कार्यबाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्मासँग सामूहिक छलफल गरेका थिए । छलफलमा खड्काले पुस अन्तिम साता महाधिवेशन गर्नेगरी प्रस्ताव ल्याउने बताएका थिए ।
गत असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिर्णित बन्दा लम्बिएको छ ।










